आलोचना चिर्दै सफल र उदाहरणीय बन्यो प्रचण्ड कार्यकाल
काठमाडौं, जेठ १० । दश महिना सत्ता सञ्चालन । अवधिका दृष्टिले एउटा कमजोर समय । त्यसमा पनि आफ्नो योजना अनुरुपको बजेट नभएको अवस्था । जनजीविका भन्दा राजनीतिक मुद्दाहरु हल गर्नुपर्ने बाध्यता । एउटा आशंका र चौतर्फी आलोचनाको घेरा ।
पक्कै पनि सामान्य अवस्था थिएन प्रचण्डका लागि । एकातिर एमालेसँग गठबन्धन तोडेर अघि बढ्नुपर्ने अवस्था थियो । स्वभाविकरुपमा हिजोको सत्ता सहयात्री प्रतिपक्षमा जाँदा त्यसले चर्को र कटु आलोचना गर्ने निश्चित थियो । अर्कोतर्फ सत्ताले किनारामा पुर्याइएका मधेसी दलहरु थिए । वार्ताको टेबलमैं बस्न नखोज्ने । उनीहरुलाई विश्वासमा ल्याउनु जरुरी थियो । तेश्रो कुरा, यी सबैका बीचमा संविधान कार्यान्वयनको जटिल जिम्मेवारी थियो । संविधान कार्यान्वयनका लागि उत्तर र दक्षिण बनेका एमाले र मधेसी मोर्चालगायतलाई मध्य बिन्दुमा ल्याउनै पथ्र्यो । चुनाव गर्नै पथ्र्यो । र, यो सँगै जनताका चुलिएका आशाहरु, मूल्यवृद्धिदेखि जनताले भोग्ने कतिपय समस्या, सुशासन, विकासलगायतका कुरा त छँदै थिए ।
राष्ट्रिय र क्षेत्रीय शक्तिहरु बीचको राजनीतिक ध्रुवीकरण बढ्दै गएको, राजनीतिक दलहरुबीच आशङ्का, अविश्वासको अवस्था रहेको तथा राष्ट्रिय एकता नै जोखिममा रहेको परिस्थितिमा श्रावण २० गते प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
र, यही बीचमा प्रचण्ड बालुवाटार छिरेका थिए । उनले भने झैं खतरनाक मोडमा प्रधानमन्त्री बनेका थिए उनी । तरवारको धार पनि भने कतिपयले । असफल भए आफू, आफ्नो इतिहास र पार्टी नै धराशायी हुने प्रबल खतरा ।
तर, उनले सबैकुरा सम्हाले । सबै कुरा एउटा ठाउँमा लिएर आए । अस्तव्यस्त राजनीतिलाई एउटा दिशामा ल्याइ पुर्याए । तमाम आशंकाबीच, प्रतिपक्षको चर्को बिरोध र असहयोगबीच स्थानीय तहको संरचना निर्माण हुँदै चुनावसम्म देश पुग्यो । इतिहासमा नै गर्व गर्न सकिने हिंसारहित र उत्साहपूर्ण पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भयो । विकास निर्माण र जनजीविकाका क्षेत्रमा उल्लेख्य काम भयो । वैदेशिक सम्बन्ध झनै सन्तुलित बन्यो । दुबै छिमेकीका तर्फबाट उल्लेख सहयोगको अवस्था सिर्जना भयो । वैदेशिक रोजगारका क्षेत्रमा उल्लेख्य कामहरु भए ।
प्रचण्ड तरवारको धारमा उभिएका थिए । कतिपय अवस्थामा उनीमाथि भएका प्रहार हेर्दा आज हो कि भोली सत्ता छोड्छन् कि भन्ने समेत भान नपरेको होइन । चुनाव नै नहुने हो कि भन्ने आशंका हप्तादिन अघिसम्म कायमै थियो । मधेसी मोर्चाले, विपक्षी एमालेले चर्को बिरोध र आलोचना गरेकै थियो । सदन अवरुद्ध थियो । यता अदालतले समेत सरकारलाई असहयोग गरेको भन्दै सत्ता नेतृत्वले अभिव्यक्ति दिइरहेको थियो । तर यी सबै आशंकालाई प्रचण्डले चिरे । प्रधानमन्त्री बनेको दिनदेखि नै उनी निरन्तर सक्रियरुपमा अगाडि बढे ।
सरकार राजनीतिक सहमति कायम गर्ने, संविधान संशोधनको प्रक्रियालाई गन्तव्यमा पु¥याउने, संविधान कार्यान्वयनका लागि निर्धारित समय सीमाभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो मार्गचित्रमा दृढतापूर्वक अगाडि बढ्यो । यसले जोखिमपूर्ण राजनीतिक परिस्थितिका बाबजूद पनि ईच्छाशक्ति र इमान्दारिता भयो भने नमूनायोग्य काम गर्न सकिन्छ भन्ने आत्म विश्वास पैदा गराएको छ, नेपाली राजनीति र आर्थिक समृद्धिको यात्रामा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
सक्रियता, सक्षमता र नेतृत्वदायी भूमिका । प्रचण्डको सफलताका मन्त्रहरु थिए । यो दश महिनामा उनी एकपल्ट पनि सुस्ताएनन् । बिहानदेखि साँझसम्म राजनीतिक गाँठाहरु फुकाउन उनी लागे । यदि प्रतिपक्षले सहयोग गरिदिएको भए सम्भवतः यो काल अझै सुनौलो बन्न सक्थ्यो ।
आज प्रचण्डले राजीनामा दिएका छन् । तर यो राजीनामा दिँदा प्रतिपक्षले नै राजीनामा दिनु हुँदैन भन्ने अवस्था सिर्जना भएको छ । जबकि सरकार अलोकप्रिय भएमा मात्रै प्रतिपक्षले आलोचना गरेर राजीनामा देऊ भन्ने गर्दछ । विचारमा असहमति भएपनि, उनले गरेका कामहरुमा विवाद सिर्जना भएपनि देशका सबै क्षेत्रमा प्रचण्डलाई साँच्चिकै मनै खोलेर यो दश महिनाको आलोचना गर्ने खासै तथ्यहरु भेटिँदैनन् । उनको विगतलाई लिएर पूर्वाग्रह हुनसक्ला धेरैको मनमा । तर यो दश महिना मात्रै मूल्यांकन गर्ने हो भने उनी सफल भएका छन् । उदाहरणीय बनेका छन । एउटा नमूना प्रधानमन्त्री बनेका छन् । उनको बाटो पछ्याउने दिशामा अबका प्रधानमन्त्री शेर बहादुर देउबा कति सफल होलान् त्यो हेर्न बाँकी नै छ । आशा राखौं यो स्पिरिट कायम रहने छ ।