म्यादी प्रहरीले थर्काए काठमाडौंको मेयरमा उठेका रेस्लरलाई

११ जेठ, काठमाडौं । चुनावी मैदान ‘रेस्लिङ रिङ’ जस्तै हुँदो हो त यिनले सबै प्रतिस्पर्धीलाई पछारेर फेरि नउठ्ने गरी अठ्याउँथे होलान् । तर, राजनीतिक दाउपेचको यो खेलमा एउटा रेस्लरको के जोर चल्थ्यो ? आफैं नराम्ररी पछारिए ।

काठमाडौं महानगरको निर्वाचनमा ‘खिरिलो’ जिउडालकी रञ्जु दर्शनासागै मेयरको प्रतिस्पर्धामा उत्रिएका थिए- बढेमानका ‘हिमालय टाइगर ।’

चुनाव अघिपछि रञ्जुको जे-जति चर्चा भयो, रेस्लर उम्मेदवारको कुनै चर्चा भएन । काठमाडौंको मेयरमा भिडेका यी ‘ठूला कदका कमजोर उम्मेदवार’ को चुनावी अनुभव कस्तो रह्यो ? हामीले बुझ्न खोज्यौं:

सुरुमै जिज्ञासा राखिएको थियो, ‘साँच्चै तपाईले काठमाडौंको मेयरमा कति भोट पाउनुभयो ?’ रेस्लिङ रिङमा ‘हिमालयन टाइगर’को उपमाले चिनिने भरतबहादुर बिसुरालले अल्छी मान्दै भने, ‘खै, मेरो त भोट नै गनिएको छैन ।’

किन नि ?

काठमाडौं महानगरपालिकाको मेयर बन्ने मनोकांक्षाका साथ चुनावी मैदानमा उत्रिएका विसुरालको भाव-भगिंमामा क्रोध र आवेग एक साथ देखापरे । उनले रिसाउँदै भने, ‘अस्ति भोट गन्ने ठाउँमा पुगेको, मलाई म्यादी प्रहरी भाइले भित्र पस्नै दिएन । ‘तपाई को हो ?’ भन्दै थर्कायो । मैले पनि थर्काएरै आफु महानगरपालिकाको मेयरको प्रतिस्पर्धी भएको बताइदिएँ । ‘

थप व्याख्या गर्दै बिसुरालले भने- ‘त्यसपछि अर्को प्रहरी आइपुग्यो, उसले मलाई चिन्यो । भित्र पसें । भोट गन्ने ठाउँ अस्तव्यस्त थियो । उनीहरुले मेरो भोट गनेकै रहेनछन् । मैले त उम्मेदवारी फिर्ता लिएको पो भन्दै थियो ।’

काठमाडौंको मेयर बन्ने रेस्लरको सोच

के बिसुरालले देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयर बन्छु भन्ने सोचेका थिए ? ‘सोचेरै त लागियो’ उनी फिस्स हाँसे, ‘मेयर बन्छु भन्ने नलागेको भए किन यत्तिका दौडधूप गरिन्थ्यो र ?’

राजनीति र रेस्लिङ नितान्त भिन्न पाटो हुन् । न यसको खेल मिल्छ, न नियम । न मैदान मिल्छ न रणनीति । कसरी बिसुरालमा राजनीतिका खुंखार खेलाडीलाई उछिनेर काठमाडौंको मेयर बन्छु भन्ने आत्माविश्वास पलायो ?

बिसुरालको भाषामा राजधानीवासीको नाडी छामेरै उनी मेयर बन्न तम्सिएका थिए । किनभने, जनतामा राजनीति र नेताहरुप्रति चरम वितृष्णा छ । बाह्रैमास सत्ता र शक्तिको खिचातानीमा लाग्ने नेताहरुले सबैजना वाक्क/दिक्क भइसकेका छन् ।

चुनावका बेला चिप्लो कुरा गर्ने र सत्तामा पुगेपछि भ्रष्टाचारको दलदलमा फस्ने नेताहरुको पुरातन प्रवृत्तिबाट सर्वसाधारण नराम्ररी पिरोलिएका छन् । अब फेरि पनि उनीहरु यो गल्ती दोहोर्‍याउन चाहँदैनन् । त्यसैले राजनीतिक दलको ट्याग भिरेर आउने उम्मेदवारलाई मतदाताले लोप्पा ख्वाउनेछन् भन्ने बिसुरालमा विश्वास रहेछ ।

मतदातामा रहेको असन्तुष्टिले वैकल्पिक उम्मेदवारलाई लाभ मिल्नेछ, जसमा कुनै राजनीतिक गन्ध छैन । चुनावअघिसम्म यस्तै सोचे, बिसुरालले । तर, उनको चिट्ठा परेन । नसोचेको भइदियो ।

‘वास्तवमा जनताहरु बुझ्दैनन्’ उनले आफ्नो भोगाइ सुनाए, ‘दुःख पाइस् मंगले, आफ्नै ढंगले । कतिले ‘हुन्छ, हुन्छ’ भन्छन्, भोट हाल्दैनन् । कतिले परिवारको दबावमा अर्कैलाई भोट हाल्छन् । त्यही कारण उनीहरुले आफ्नो नेतालाई जिताउँछन्, पार्टीलाई जिताउँछन्, आफुहरु चाहिँ सधैं हारिरहिन्छन् ।’

के भन्दै भोट मागे ?

बिसुरालको भाषामा उनी ‘देश खाएर शेष भएका’ मान्छे । विश्वका थुप्रै शहरमा बसेका छन् । युरोप, अमेरिका, अफ्रिकाका  शहरहरुका गल्ली छिचोलेका छन् । त्यहाँको व्यवस्था देखेका छन् । पर्यावरणको क्षेत्रमा अनुभव गरेका छन् । उनले मतदातालाई भने, ‘म काठमाडौं महानगरलाई सुन्दर शहर बनाउँछु । मलाई भोट दिनुहोस् ।’

हुन त बिसुरालसँग घरदैलो चाहर्ने पुग्दो समय थिएन । बाँकी रहेको थोरै समयमा असन, इन्द्रचोक, लगनटोल, कालिमाटी पुगे । त्यहाँ उनले भने, ‘हेर्नुहोस् बंगलादेशको गाउँको भन्दा पनि खत्तम छ, तपाईहरुको टोलको सडक । राजधानीको सडकको यस्तो बेहाल छ, के यो तपाईहरुको सम्मान हो त ?’

सर्वसाधारणले उनको कुरामा कान ठाडो गरे ।

बिसुरालले थपे, ‘म यो शहर बनाउँछु । सडकलाई व्यवस्थित गर्छु । ढल, नाला बनाउँछु । झेलेमेले तारहरु व्यवस्थित गर्छु । खोला मिचेर बसेको जग्गामा पार्किङ बनाउँछु, पार्क बनाउँछु । विभिन्न शहरसँग भागिनी सम्बन्ध गाँसेर काठमाडौंको गल्ली बनाउँछु । महानगरपालिकाको भवन बनाउँछु, त्यो पनि विदेशबाट पैसा जुटाएर । राज्यको एक पैसा खर्च गर्दिनँ ।’

चुनावी लहडः हार्छन्, फेरि उठ्छन्

बिसुराल ०४८ सालमै नेपाल कन्र्जभेटिभ पार्टी गठन गरेर चुनावी लडाइको स्वाद चाखेका मान्छे हुन् । त्यसताकाको निर्वाचनमा उनले ललितपुर, काठमाडौं, लमजुङबाट उम्मेदवारी दिएका थिए । अघिल्लो पटक संविधानसभाको निर्वाचनमा पनि संसदमा उम्मेदवारी दिएका थिए । पटक-पटक उठे र लडे । यसपटक चाहि जित्ने उनको अपेक्षा थियो । उनले मतदाताको मन पगाल्ने थुप्रै कुरा गरे । आफ्नो चुनाव चिन्ह ‘पानीको बोत्तल’मा भोट हाल्न आग्रह गरे ।

उनलाई मतदाताले भनेका थिए, ‘तपाईलाई हामी चिन्छौं, देखेका छौं । तपाई देशको झन्डा बोकेको मान्छे हो । तर, कुनै पार्टीबाट उठ्नुभएको भए सजिलो हुन्थ्यो ।’
बिसुराललाई पार्टीमा लाग्ने समय थिएन । पार्टीप्रति सर्वसाधारणमा वितृष्णा पनि थियो । ‘त्यही वितृष्णाको मौका छोपेको’ बिसुराल फिस्स हाँसे, ‘तर, भएन ।’

कोही बषौर्ंको राजनीतिक पृष्ठभूमिबाट आएका थिए, कसैलाई शक्तिशाली राजनीतिक दलको दर्बिलो साथ थियो, कसैले अनपेक्षित पब्लिसिटी पाएका थिए । काठमाडौं महानगरपालिकाका मेयरका प्रत्याषी एक से एक थिए । तिनै खेलाडीहरुको भिडन्तमा किन उत्रिए बिसुराल ?

‘चुनाव भनेको एक किसिमको लहड पनि हो । यसमा रंग-रौस गरिन्छ । इन्जोए गरिन्छ । यो डेमोक्रेसीको सिम्बोल पनि हो । हामीले चुनावमा भाग लिएर सरकारको वेइज्यती गरेको होइन । बरु निर्वाचन आयोग र सरकारलाई सहयोग गर्न खोजेको हो । हामीले रेस्लिङमा जति धेरै देशको खेलाडी ल्याउन सक्यौं, उत्तिनै रोमाञ्चक हुन्छ ।

त्यस्तै चुनावमा जति धेरै उम्मेदवार हुन्छ, उत्तिनै रौनक हुन्छ ।’

रेस्लिङजस्तै झेली खेल

बिसुरालले अनुभव गरेका छन्, निर्वाचन भनेको रेस्लिङजस्तै झेली खेल हो ।

‘भोटदाता फकाउने, फुल्याउने, पैसामा किनबेच गर्ने सबै कुरा चल्छ’ बिसुराल भन्छन्, ‘यसमा विशुद्ध ढंगले अघि बढ्छु भन्नु मूर्खता जस्तै रहेछ ।’

उनले खुब धाँधली देखे निर्वाचनमा । भोट किन्ने, नक्कली छाप प्रयोग गर्नेदेखि भोट गन्ने ठाउँमा समेत धाँधली हुने गरेको उनको ठम्याइ छ ।

‘राष्ट्रिय सभागृहमा मैले धाँधली गर्ने आधार प्रशस्त देखेर आएको’ बिसुराल भन्छन् ।

भोट गन्ने ठाउँमा उनको प्रतिनिधि छैन । भोट गन्न हप्तौं लाग्छ । यत्तिका दिनसम्म प्रतिनिधिलाई भत्ता दिने, मासुभात ख्वाउने पैसा छैन उनीसँग । त्यही कारण आफ्नो मत कति आयो भन्ने कुराको स्पष्ट लेखाजोखा गर्न पाएका छैनन्, बिसुरालले ।

गत संविधानसभा चुनावमा ‘गिटार’ चुनाव चिन्ह लिएर काठमाडौं १० बाट सभासदको उम्मदेवार बनेका बेला बिसुरालले जम्माजम्मी २८ भोट ल्याएका थिए । यसपालि कति भोट पाउँछन्, अन्तिम नतिजा आउन अब धेरै छैन । अहिलेसम्म उनी लगभग शुन्यको नजिकै छन् ।

प्रतिकृय

प्रतिकृय

SHARE