नेपालमा कोरोना भाइरसको संक्रमण चार अंकमा पुगेको छ । अर्थात मंगलबार मात्र एक हजार ६९ नयाँ संक्रमित फेला परेका छन् ।अब नेपालमा समुदायस्तरमै कोरोना संक्रमित फेला परेका हुन् त ? जनस्वास्थ्य वैज्ञानिक डाक्टर सुरेश तिवारी १२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिएको बताउँछन् ।
काठमाडौं उपत्यका सहित मुलुकका मुख्य–मुख्य शहरहरु यही अवस्थामा रहेका छन् । अहिले काठमाडौं उपत्यका सहित मुख्य–मुख्य शहरहरुमा समुदायस्तर मै कोरोना संक्रमण फेला परेको छ ।
स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने दैनिक पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार तिवारीका अनुसार हालसम्म फेला परेका संक्रमितमध्ये ७३ प्रतिशत १२ जिल्लाका रहेका छन् ।
५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका १२ जिल्लामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको छ ।
समुदायस्तरमै कोरोना फैलिएका जिल्लाहरुः
- १. मोरङ
- २. सुनसरी
- ३. धनुषा
- ४. महोत्तरी
- ५. पर्सा
- ६. बारा
- ७. रौतहट
- ८. सर्लाही
- ९. काठमाडौं
- १०. ललितपुर
- ११. चितवन
- १२. रुपन्देही
‘हट स्पट’ बनेका यी क्षेत्रमा समुदायमा संक्रमण देखिएको छ । यी जिल्लामा नियन्त्रण र परीक्षण दायरालाई बढाउनु पर्ने जनस्वास्थ्य विज्ञहरुको सुझाव छ । परीक्षणलाई तीव्र पारे मात्र भाइरस नियन्त्रणमा सफलता पाउन सकिन्छ ।
समुदायमै फैलिएको कसरी भन्न सकिन्छ ?
- –एक महिनाअघि संक्रमित महिलाको संख्या ८ प्रतिशतको हाराहारीमा
- –अहिले संक्रमित बढ्दै गएको र २२ प्रतिशत पुगेको अवस्था
- –संक्रमण बढी भएको जिल्लाहरुमा ९६ प्रतिशत केस स्थानीय
समुदायस्तरमा फैलिएको भन्नाले ?
कोरोना फैलिरहेको क्षेत्रबाट आएका जसको ट्राभल हिस्ट्री भएको अवस्थामा समुदायस्तरमा फैलिएको भन्न मिल्दैन । तर, ट्राभल हिस्ट्री नभएका र विदेशबाट आएका कोरोना संक्रमितको सम्पर्कमा समेत नआएका व्यक्तिमा संक्रमण पाइयो भने उसलाई समुदायस्तरमै कोरोना संक्रमण भएको भन्न सकिन्छ ।
यस्तो अवस्था १२ वटा जिल्लामा सहजै देखिएको छ । त्यसैले अहिलेको अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाको पूर्णपालना गर्न आवश्यक छ ।