काठमाडौंका प्रजिअ जनकराज दाहालले यस पटकको निषेधाज्ञाका केही प्रावधानमा खुकुलो पारिएको बताए । तर, मानिसको आउजाउमा भने कडाई गरिने उनले जानकारी दिए । उनका अनुसार अबको समयमा होटल/रेस्टुराँमा टेक–अवे तथा होम डेलिभरीको सेवा सञ्चालन गर्न अनुमति दिइने छ ।
त्यस्तै अब बिहान ११ बजेसम्म दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्न पनि दिइने छ । यसअघि त्यस्ता सेवाहरु बिहान ९ बजेर १५ मिनेटसम्म मात्रै संचालन गर्न पाइन्थ्यो ।
यस्तै भारत र नेपालका विभिन्न स्थानबाट निर्माण सामग्री लिएर आउने सवारी साधनलाई उपत्यकामा प्रवेश गर्न दिइने छ । निर्माण सामाग्रीसँग सम्बन्धित हार्डवेयर पसल दिउँसो २ बजेदेखि राति ९ बजेसम्म खोल्न दिइने छ । शिक्षा मन्तालायको प्रोटोकलअनुसार अनलाईन कक्षा सञ्चालन गर्न पनि दिइने छ । विदेशबाट पीसीआर परीक्षण नगरी आएकालाई यही परीक्षण गर्न दिने गरी नेपाल आउन अनुमति दिइने छ । त्यस्तै राष्ट्रिय गौरवका आयोजना र अत्यावश्यक निर्माणका काम पनि स्वास्थ्य मापदण्ड पालना गरेर अघि बढाउन सकिने छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमक रोग ऐन २०२० को दफा २ अनुसार निषेधित आदेश जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ । यसअघिका दुईपटकका आदेश यीनै दफा टेकेर गाइएपनि यसपटक भने प्रजिअहरुले गृहको औपचारिक अनुमति लिएर मात्रै निर्णय गरेका हुन् ।
भदौ ३ देखि उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा ठप्प छन् । पछिल्लो दुई साता यता उद्योग/कलकारखानासहित बस्तु र सेवा प्रवाह गर्ने सबै क्षेत्र बन्द छन्|
pdf file