महामारीकै बीच सयौँ नेपाली फेरि भारततर्फ लागे

 दैलेख भैरवी गाउँपालिका- १ का भीमबहादुर विष्टको हातमा आधारकार्ड छ । विष्ट प्रचण्ड गर्मीमा नेपालगन्ज भन्सार कार्यालय जमुनाहा नाकामा लाइनमा बस्नुभएकाे थियाे । गर्मीको प्रवाह नगरी उहाँको पालो आउँछ र भन्नुहुन्छ- भारतको गुजरात जानका लागि लाइनमा बसेको हजुर ।

राज्यले विना आधारकार्ड भारत जान नदिएपछि आधारकार्ड भएको कारण घरको समस्या टार्न भारततिर लागेको उहाँले बताउनुभयाे । ‘घरपरिवारलाई भोकमरीबाट जोगाउन भारत नै एक विकल्प हो, उहाँ भन्नुहुन्छ, ‘रहरले होइन बाध्यताले जान लागेको छु ।’

कामै नगरी ४ महिना घरमै बसेकाे तर कतै काम नपाइएकाे र काम खोज्न भौतारिरहेकाे उहाँले सुनाउनुभयाे । ‘बाहिर हिँडडुल गर्न पनि रोक लगाइएको छ । कतै जाउँ कोरोनाको डर छ । अहिले त कोरोनाको डर भन्दा पनि भोकमरीको डरले बढी सताउन थालेको छ । घरपरिवारको चिन्ता छदैछ अब त कोरोनाको डर पनि मरिसक्यो,’ उहाँले भन्नुभयाे । अाफू कोरोनाले मरे पनि भोकले घरपरिवार नमरुन् भन्ने चिन्ता बढि रहेको उहाँकाे भनाइ छ ।

महामारीकै बीच बाध्यताले भारत कमाउन जाँदै गरेका अर्का नेपाली नागरिक पदम कुमारी विष्टकाे पनि पीडा उस्तै छ । पदम कुमारीसँग पनि आधारकार्ड छ । भारतको एक होटलमा काम गर्ने उहाँ भन्नुहुन्छ, ‘हुने-खानेले त देशमै गुजारा चलाएका छन् नि । हामीजस्ता गरिब जनताले कसरी घर चलाउने ? काम नगरी गुजारा चल्दैन ।’ बाध्यताले जानै पर्ने स्थिति सृजना भएको उहाँकाे भनाइ छ । 

बन्दाबन्दीका करण भारतमा काम गरेर दक्ष भएका नेपाली युवा जनशक्ति फेरि भारततर्फै फर्किन थालेका हुन् । कोरोना भाइरसको कारणले नेपाल मात्र नभएर विश्व नै महामारीको जोखिममा रहेको छ । भारतमा झनै संक्रमण दर विश्वमै बढी रहेकाे छ । तर पनि काेराेना हाउगुजी हटिसक्याे, भाेकमरी लाग्ने डरले उनीहरू भारततिरै लाग्न थालेका हुन् ।

केही महिनाकाे लकडाउनका कारण राेजगारी नै ठप्प भएपछि भारतमा काम गरेर दैनिकी चलाइरहेका नेपालीहरु स्वादेश फर्केका थिए । तर स्वदेशमा लामो समय बस्दा आफ्नो गुजारा कसरी चलाउने, कसले राहत दिने भन्ने समस्या छ । यहाँ राेजगारी पनि पाइँदैन, उताकाे राेजगारी पनि गुम्ने । अरुको भर पर्नुभन्दा आफ्नै कर्म गर्ने ठाउँ प्यारो भन्दै उनीहरु सयौँको संख्यामा भारत फर्किन लागेका हुन् ।

भारत जानका लागि भारत सरकारले दिएको आधारकार्ड देखाएर भारत प्रवेश गर्न राज्यले सहज वातावरण मिलाएको कारण उक्त कार्ड हुनेहर सजिलै  भारत पाइरहेका छन् । यसमा नेपाल सरकारले पनि सहजीकरण गरेको छ ।

नेपालसँग जोडिएको छिमेकी देशमा लाखौँ नेपाली नागरिक व्यापार, व्यवसाय, मजदुरी, शिक्षा, हाेटल, गार्ड लगायत क्षेत्रमा काम गरेर गुजारा चलाउछन् ।  लामो समय लकडाउनको कारणले स्वादेश फर्केपछि दैनिक काम गरेर गुजारा गर्न गाह्रो भएकाहरू पुरानै ठाँउमा काम गर्न भारततर्फ नै फर्केनुपरेकाे लाइनमा भेटिएका नरेन्द्र थापाले बताउनुभयो ।

नेपालगन्ज भन्सार नाकाबाट दैनिक १ सय देखि २ सयको हाराहारीमा दक्ष नेपाली युवा जनशक्ति भारततिर पलायन भैइरहेका छन् । बाँकेको नेपाल-भारत सीमा-नाका पूर्ण रुपमा बन्द छ । कोरोनाका कारण ५ महिनादेखि बन्द रहेको नाका कहिले खुल्ले हो, अझै भन्न सक्ने अवस्था छैन । तर यतिबेला रोजगारीका लागि भारत जान जमुनाह नाका पुग्ने नेपाली युवाहरुको संख्या भने दिनदिनै बढ्दै गएको छ ।

प्रतिकृय

प्रतिकृय

SHARE