मत्स्येन्द्रनाथको रथ तान्न खोज्नेलाई प्रहरीको दमन : आदिवासी जनजाती महासंघ

काठमाडौं – ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्न खोज्नेहरुलाई प्रहरीले दमन गरेको भन्दै नेपाल आदिवासी जनजाती महासंघले विरोध जनाएको छ ।

महासंघ अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति जारी गर्दै पुल्चोकको घटनालाई राज्यबाट भएको ‘संस्कृतिविरोधी काम’ भनेर विरोध जनाएका छन् । महासंघले तत्काल अधिकारवाला सम्पूर्ण पक्षसँग अर्थपूर्ण छलफलसहितको सहमतिमा निकास निकाल्न पनि अनुरोध गरेको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘ भदौ १८ गते ललितपुरको पुल्चोक क्षेत्रमा राज्यबाट भएको अपरिपक्व, गैरजिम्मेवार, संस्कृतिविरोधी तथा सुरक्षाकर्मीबाट भएको अनावश्यक बल प्रयोगको घटनाप्रति नेपालका सम्पूर्ण आदिवासीहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

महासंघले पुल्चोकमा स्वःस्फूर्त भेला भएकाहरुलाई दमन गरिएको भन्दै भ्रत्सना पनि गरेको छ । कोभिड–१९ ले निम्त्याएको महामारीको अवस्थामा जात्रा सञ्चालन गर्न गराउन निकासका लागि अनुरोध गर्दा पनि सरकारले लामो समयदेखि गैरजिम्मेवारीपूर्वक अनिर्णित अवस्थामा राखेको र समयमा उचित निकास नदिएको महासंघको आरोप छ ।

वर्षौंदेखि चलिआएको रातो मत्स्येन्द्रनाथको रथजात्रालाई निरन्तरता दिनका लागि ठोस निकास निकाल्नुको सट्टा स्वःस्फूर्त रूपमा रथजात्रा सञ्चालन गर्न आएकाहरुमाथि बल प्रयोग गर्ने कार्यले परिस्थिति झन् गम्भीर हुनसक्ने भन्दै महासंघले सचेत गराएको छ ।

रथ जात्रालाई निरन्तरता दिन पनि महासंघले माग गरेको छ । झडपका क्रममा घाइते भएकाहरूलाई सरकारले उपचारको व्यवस्था गर्नुपर्ने महासंघको भनाइ छ 

प्रतिकृय

प्रतिकृय