२५ प्रतिशत ट्राफिक जाम कम हुनेभक्तपुरबाट आउने र बालकुमारीतर्फ जानेलाई छुट्टै लेन दिने गरी सडक स्तरोन्नति गरिनेकोटेश्वरबाट पेप्सीकोला जानेलाई सिधै जान दिइने
‘तीन–चार दिनमै सडक कालोपत्रका लागि टेन्डर गर्ने भन्ने थियो, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीलाई कोरोना संक्रमण भएपछि काम प्रभावित भयो,’ उनले भने, ‘डीपीआर तयार छ । ठेक्का गर्ने अन्तिम चरणमा छौं ।’ सडक निर्माण गर्ने खण्डमा सार्वजनिक शौचालय पर्छ । यसमा महानगरसँग सम्झौता भएकाले ठेक्का लाग्नुअघि अन्यत्र सार्ने सहमति भएको छ । डिभिजन सडक काठमाडौंमार्फत स्तरोन्नतिको काम गर्न लागिएको हो । ‘ठेक्का सम्झौता भएको ६ महिनाभित्र निर्माण सकिनेछ,’ नेपालीले भने, ‘सबै गरेर बढीमा ९ महिनाभित्र सडक सञ्चालनमा आउने अनुमान गरेका छौं ।’ लकडाउनअघि नै सडक स्तरोन्नति गर्ने अवधारणा ल्याइएको थियो । ‘कोरोना संक्रमण नबढेको भए काममा धेरै अघि बढिसकेका हुने थियौं,’ उनले भने, ‘छलफल गर्नुपर्ने, जग्गा प्राप्ति गर्नुपर्ने भएर ५/६ महिनादेखि लागिरहेका थियौं ।’ अब समस्या नभएको उनको भनाइ छ ।
भक्तपुरबाट आउने र बालकुमारीतर्फ जानेलाई छुट्टै लेन दिने गरी सडक स्तरोन्नति गर्न लागिएको हो । अर्को कोटेश्वरबाट पेप्सीकोला जानेलाई बीचमा नरोकी सिधै जान दिने गरी थप लेन निर्माण गरिनेछ । मनोहरा खोलामा पुल निर्माणाधीन छ । ‘मनोहरा किनारको करिडोर र यसलाई जुन दिन जोड्न सकिन्छ,’ नेपालीले भने, ‘त्यो दिनबाट ट्राफिक जाम कम हुनेछ ।’
सडकका बीचमा दुई–दुई लेनका डेडिकेटेड सडक रहने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिए । त्यहाँबाट सवारी सिधै वारपार गर्न सक्नेछन् । ‘यो सडक निर्माण भएपछि २० देखि २५ प्रतिशत ट्राफिक जाम कम हुनेछ,’ उनले भने, ‘त्यसैले सक्दो चाँडो सडक बनाउने गरी प्रक्रिया अघि बढाएका छौं ।’ विमानस्थलको जग्गा प्राप्त भएपछि त्यहाँ सुरक्षार्थ नेपाली सेनालाई सारिएको छ । ‘अल्पकालीन उपायका रूपमा तुरुन्तै गर्न सकिने काम हो, त्यसैले प्रक्रिया अघि बढाइएको हो,’ नेम्वाङले भने, ‘जापानी सहयोग नियोग (जाइका) ले पनि यो खण्डमा सुरुङ निर्माण गर्नेबारे अध्ययन गरिरहेको छ ।’ धेरै जाम भएपछि विकल्पका रूपमा सुरुङ निर्माण गर्ने योजना अघि सारिएको हो । सुरुङ निर्माण गर्न भने समय लाग्ने मन्त्रालयले जनाएको छ ।