अल्का अस्पतालकी कर्मचारीको हत्या, लेलेको जंगलमा भेटियो शव

२० भदौ, काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो ।

हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ । केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।

शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले अनलाइनखबरलाई बताए ।

हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । हाल केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन । यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउनेछ ।

ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार हत्याको कारणबारे अनुसन्धान भइरहेको छ । ‘ज्यान सम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गछौं’, उनले जिग्मे मिडिया सँग भने ।

प्रतिकृय

प्रतिकृय

SHARE