१४५० जना अट्ने कारागारमा ३२६६ कैदी, सामाजिक दूरी कायम गर्न असम्भवहालसम्म २१६ जनाको पीसीआर गर्दा ६३ जनाको रिपोर्ट पोजिटिभ, कन्ट्याक्ट ट्रेसिङमा पर्ने कसैको भएन परीक्षणकारागार अस्पतालमा सबै खालका बिरामी भर्ना, उपचारमा पनि एकै स्वास्थ्यकर्मीको भर

एक हजार चार सय ५० जना क्षमताको यो कारागारमा तीन हजार दुई सय ६६ जना कैदीबन्दी राखिएको छ । क्षमताभन्दा बढी व्यक्ति राख्नुपर्दा कारागारमा सामाजिक दूरी कायम गर्न सम्भव नै नभएको उनले बताए । यहाँ १५ बालबालिका, ८५ जना गम्भीर रोगी, ५ सय जना अन्य रोगका बिरामी र ६० वर्ष उमेर कटेका वृद्धवृद्धा पनि छन्, जसलाई व्यवस्थित गरेर राख्न नसक्दा संक्रमणको उच्च जोखिममा छन् । कारागारमा यस्ता जोखिम वर्गका व्यक्तिलाई छुट्टै राख्ने ठाउँसमेत छैन । संक्रमित ४ जनाको मृत्यु भइसकेको उनले बताए ।
हालसम्म दुई सय १६ जनाको पीसीआर परीक्षण गरिएकोमा ६३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । तर ट्रेसिङमा परेका अन्य कसैको परीक्षण हुन सकेको छैन । ‘अन्य मानिसहरू जस्तो कैदीबन्दीलाई जहाँसुकै राख्न मिल्दैन, निश्चित दायरामा राख्नुपर्छ नत्र भाग्छन्,’ उनले भने, ‘कि हाम्रो अस्पताललाई कोभिड बनाइदेऊ, कि कैदीबन्दीका लागि छुट्टै सानो अस्पताल देऊ भनेर कति माग गर्यौं, तर सुनुवाइ भएको छैन ।’
३८ जना संक्रमित कैदीबन्दी कीर्तिपुरको आयुर्वेद तालिम केन्द्रमा उपचाररत छन् । उनीहरूलाई त्यहाँ भर्ना गर्नका लागि पनि स्वास्थ्य मन्त्रालयले कुनै पहल नगरेको उनले गुनासो गरे । ‘चिनजानका आधारमा अनुरोध गरिएकाले मात्रै भर्ना लिइयो । त्यसमाथि हामी कर्मचारीले पैसा उठाएर तालिम केन्द्रभित्र छुट्टै ठाउँ बनाएर यहाँका संक्रमित राखेका हौं,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले यस्तो महामारीका बेलामा कैदीबन्दीलाई मानवजस्तो व्यवहार पनि गरेन । न उपचार दिन्छ, न ठाउँ, के उनीहरू नागरिक होइनन् ?’
सबैखालका बिरामीको एकैसाथ उपचार
कैदीबन्दीको उपचारका लागि कारागारभित्रै ३० शय्याको अस्पताल छ । देशभरिका कैदीबन्दीलाई उपचारका लागि यहीँ ल्याइन्छ । शय्या अभावका कारण संक्रमित, शंकास्पद र अन्य बिरामीलाई समेत एकैसाथ राख्नुपर्ने बाध्यता रहेको उनले सुनाए । उनका अनुसार शंकास्पद बिरामीका लागि दुई सय ६० शय्याको आइसोलेन केन्द्र बनाउने भनेर कारागारभित्रको कारखाना भवन खाली गरिएको थियो । तर, त्यसका लागि न शय्या नै छन्, न आवश्यक स्वास्थ्य सामग्री ।
‘परीक्षण हुन्छ, संक्रमित भेटिन्छन् तर उनीहरूको सम्पर्कमा आएका शंकास्पदलाई छुट्टै राख्ने ठाउँ छैन,’ उनले भने, ‘यसरी परीक्षणको अर्थ पनि छैन, सधैं यस्तै रह्यो भने यहाँभित्र बस्ने जोखिम वर्गका कैदीबन्दी बचाउन हाम्रो तह र क्षमताले भ्याउँदैन ।’ गम्भीर बिरामीका लागि यो अस्पतालमा आईसीयूको सुविधा पनि छैन । एकै स्वास्थ्यकर्मीले दुवैखाले बिरामी हेर्नुपर्दा अन्य बिरामी र स्वास्थ्यकर्मीसमेत संक्रमणको जोखिममा छन् । स्वास्थ्यकर्मीका लागि बस्ने छुट्टै क्वारेन्टाइन पनि छैन, उनीहरू अस्पतालमै बस्छन् ।
अस्पतालमा कोरोना शंकास्पद कुनै बिरामीको मृत्यु भइहाले स्वाब परीक्षण नहुने गरेको र यसले अस्पतालमा संक्रमणको अवस्था के छ भनेर थाहा नहुने एक स्वास्थ्यकर्मीले बताए । ‘गत साता ६ जना शंकास्पद कैदीबन्दीको मृत्यु भयो तर स्वाब परीक्षण भएन,’ यसले संक्रमणको जोखिम बढाएको भन्दै उनले भने, ट्रेसिङमा परेका सबैको परीक्षण गर्ने हो भने यहाँका सयौं कैदीबन्दीहरूको रिपोर्ट पोजिटिभ आउने सम्भावना छ ।’
गम्भीर भएर अस्पताल भर्ना भएका बाहेक अन्य कसैको पनि परीक्षण नभएको उनले दाबी गरे । ‘ट्रेसिङ गरौं, परीक्षण गरौं’ भन्ने आवाजहरू उठ्दा ‘परीक्षण धेरै गरे संक्रमित धेरै भेटिन्छन् र व्यवस्थापन नगरेको जस्तो देखिन्छ’ भन्ने गरिएको अर्का स्वास्थ्यकर्मी सुनाउँछन् । दैनिक २० देखि २५ जना ज्वरोका बिरामी आए पनि उनीहरूको कोरोना परीक्षण नगरी पठाइने र उनीहरूलाई अन्य कैदीबन्दीहरूसँगै मिसाएर राख्ने गरिएको उनले बताए । ‘यस्तोमा के गर्ने–गर्ने ? हामी आफैं मानसिक तनावमा छौं,’ उनले दुःखेसो पोखे ।
उनका अनुसार अस्पतालमा हालसम्म ७ सय जना कोरोनाका लक्षण पनि भएका शंकास्पद बिरामी पीसीआर परीक्षणबिनै फर्काइएको छ । ‘गम्भीर संक्रमित भए यो उपचार गर्न अस्पतालमा एक जना मात्रै विशेषज्ञ चिकित्सक छन्, आईसीयू छैन, बिरामी अन्तै रेफर गर्नुपर्छ । तर बेड छैन भनेर कसैले लिन मान्दैनन्,’ उनले भने, ‘ननकोभिड अस्पतालले त झन् यहाँको बिरामी बेड भए पनि लिँदैनन् । भदौ १५ मा एक जनाको अस्पताल चहार्दाचहार्दै मृत्यु पनि भयो, झगडा गरेर एउटा अस्पतालमा भर्ना गरेका थियौं तर धेरै ढिला भइसकेकाले बचाउन सकिएन ।’
कारागार अस्पताल गृह मन्त्रालयअन्तर्गत सञ्चालन हुने भएकाले समन्वय नै नभएको बताउँछन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम । कारागारभित्रको संक्रमण व्यवस्थापनका समस्याबारे आफूलाई थाहा नभएको पनि उनले बताए । ‘उहाँहरू समन्वय गर्न आउनु भएको छैन, हामीले कसरी समस्या थाहा पाउने ?,’ उनले भने, ‘भोलि नै त्यहाँको स्थितिबारे बुझेर समस्या समाधानमा पहल गर्छु ।’