सिनेमा निर्माणको घोषणा गर्न हानाथाप

१ सय २० दिनको लकडाउन खुलेपछि निर्देशक दीपेन्द्र के. खनालले दुई चलचित्र विकास बोर्डमा दर्ता गरे, ‘लकडाउन’ र ‘चिसो मान्छे’ । सामाजिक सञ्जाल फेसबुकमार्फत भदौ ६ मा ‘चिसो मान्छे’ बनाउने घोषणा गरे । आगामी वर्षको भदौ ११ का लागि फिल्मको प्रदर्शन मिति नै तोकिएको छ ।

कोरोना महामारीले गर्दा पाँच महिनायता फिल्म हलमा ताला झुन्डिएको छ । प्रदर्शनको तयारीमा रहेका फिल्मको अझै टुंगो छैन । फाटफुट्ट केही म्युजिक भिडियो छायांकन भइरहेको थियो तर निषेधाज्ञापछि फेरि ठप्प भएको छ । फिल्म क्षेत्र अचल छ, फिल्मकर्मी पूर्ण कामविहीन छन् । कोरोनाका कारण छायांकन स्थगन भएको फिल्मको काम कहिले सुरु हुने हो भन्ने पनि अन्योल छ ।

कोरोनाले सिर्जेको विषम परिस्थितिमा पनि यो क्षेत्रको एउटै काम भने रोकिएन । त्यो हो, फिल्म निर्माण घोषणा । फिल्मको औपचारिक घोषणा गर्ने अवस्था छैन । त्यसैले सामाजिक सञ्जालमार्फत धमाधम नयाँ फिल्मको उद्घोष गरियो । कोरोनाका विभिन्न खबरले आफूलाई नकारात्मक प्रभाव नपारोस् भन्ने सोचले फिल्म घोषणा गरेको बताउँछन् निर्देशक खनाल । ‘कोरोनाको समाचारहरूले नकारात्मक बनाइरहेको थियो । सामाजिक सञ्जाल हेर्‍यो उस्तै । अनि मिति तोकेर केही काम थालियो भने सकारात्मक हुन्छु भन्ने सोचें । त्यसैले फिल्म घोषणा गरें,’ उनले भने ।

फिल्म बारपाकी माया

यसबीच निर्माता सन्तोष सेनले नयाँ फिल्मको घोषणा गरे, ‘हुतुतु’ । यसअघि निर्माण गरेको ‘प्रेमगीत ३’ को प्रदर्शन कोरोनाकै कारण स्थगन भयो । फिल्म पोस्ट प्रोडक्सनमै रोकिएको छ । ठूलो बजेटको यस फिल्म रोकिँदा उनलाई पक्कै संकट परेको छ, तैपनि उनमा नयाँ फिल्मको घोषणा गर्ने हतारो देखियो । ‘हाम्रो सिर्जनशील समूह एउटा अर्को सिर्जना हाँस्य ड्रामा ‘हुतुतु’ का लागि तन, मन, धन, सबै व्यवस्थित तरिकाले खर्चेर लागिपरेका छौं,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो विषम परिस्थिति सामान्य भएसँगै प्रदर्शन र छायांकनको योजना बनाउने छौं ।’ फिल्मलाई छेतेन गुरुङ र निर्माता सेन आफैंले निर्देशन गर्ने बताइएको छ ।

‘हुतुतु’ र ‘चिसो मान्छे’ मात्र होइन, महामारीबीच धेरै फिल्मको निर्माण घोषणा भयो । ‘गोबर गणेश’, ‘बा’, ‘रुम नम्बर १०८’, ‘दानराज’, ‘प्रसाद २’, ‘बारपाकी माया २’ लगायत आधा दर्जन फिल्मको घोषणा यसैबीच गरियो । चलचित्र विकास बोर्डका निर्माण शाखा अधिकृत हरिसिंह रैखोलाका अनुसार साउन र भदौमा मात्रै ११ वटा फिल्म दर्ता भए । हुन त अहिले नै फिल्मको निर्माण, छायांकन र प्रदर्शनको सम्भावना कम छ । तर, निर्माण टिमहरू भने फिल्म निर्माणकै घोषणा गर्न तँछाडमछाड गर्न व्यस्त देखिए ।

निर्देशक मनोज पण्डित क्रियाशीलताको मनोविज्ञानका कारण अहिले धमाधम फिल्म घोषणा भइरहेको बताउँछन् । ‘म कति क्रियाशील छु भनेर देखाउने मनोविज्ञानले निर्देशित हुने कुरा हो यो । कोरोना कुन हदसम्म फैलिन्छ भन्ने निश्चित नहुँदै फिल्म घोषणा गर्नु भनेको अलिकति हतारो नै हो,’ उनले भने, तर, ‘मानिसको मनोविज्ञानलाई अध्ययन गर्ने हो भने कहींकतै यस्तै कुराको आनन्द र रमझमले मानिसलाई जोडेर राख्छ ।’ उनी अहिले बनाउने भनिएका फिल्महरू सान्दर्भिक नभएको मत राख्छन् । ‘जुन फिल्महरू घोषणा भइरहेका छन्, त्यो कोरोनाको समयमा बनाउने फिल्म नै होइन । जति फिल्मको नाम सुनियो ती फिल्महरू पहिलाको अवधारणाकै निरन्तरता देखिन्छ,’ उनले भने । यस्तो बेलामा कस्तो फिल्म बनाउने भन्ने कुरामा नयाँ सोच नदेखिएकाले यो फगत भावनात्मक उद्वेलितता मात्र भएको पण्डितको ठहर छ ।

स्वस्तिमा खड्का

निर्देशक एवं समीक्षक दीपेन्द्र लामा भने यसमा फरक मत राख्छन् । ‘अब अहिले सुटिङबाहेक अन्य कामहरू त भइरहेकै छ । जस्तै स्क्रिप्टिङ, प्रि–प्रोडक्सन । हुन त कतिले फिल्मको प्रचार खोजेर फिल्मको घोषणा गरेको हुन सक्छ । यसलाई गलत नै हो भन्न त मिल्दैन । तर यसले अब फिल्म निर्माणको संख्या घट्दैन भन्ने देखाउँछ,’ लामाले सुनाए । उनको फिल्म ‘दुई नम्बरी’ पनि छायांकनमै रोकिएको छ ।

निर्देशक पण्डित कोरोना पछाडिका समयका लागि अहिले घोषणा भएका फिल्महरू उपयुक्त नहुने बताउँछन् । ‘योबीचमा हाम्रा दर्शक परिवर्तित भएका छन् । मानिसको मनोविज्ञान, प्रविधि, फिल्मको फर्म्याटमा आउने परिवर्तनको मूल्यांकन नगरीकन हिजोको धङधङीलाई निरन्तरता दिनुचाहिँ मूर्खता हुन्छ,’ पण्डित भन्छन्, ‘खालि घोषणाका लागि मात्रै घोषणा हुन्छ । अब फिल्मको मनोवैज्ञानिक र सिर्जनात्मक फर्म्याट नै परिवर्तन हुनुपर्छ ।’ उनी अगाडि थप्छन्, ‘कोरोना पछाडिको समयका लागि यी फिल्महरू उपयुक्त छैनन् । बलिउड र हलिउडले बनाएको फिल्म त उपयुक्त छैन ।’

निर्देशक दीपेन्द्र लामा कोभिडपछाडि बन्ने फिल्मको स्तर बढ्नुपर्ने धारणा राख्छन् । ‘अब फिल्म बनाउँदा हामीले कोभिडअगाडि जुन स्तरको फिल्म बनाउँथ्यौं । त्यो स्तरभन्दा माथि गएर फिल्म बनाउनुपर्छ । किनभने यी बीचमा दर्शकले राम्राराम्रा फिल्म हेरिसकेको छ । नेपाली फिल्मलाई लिएर उनीहरूको अपेक्षा बढेको देखिन्छ,’ उनले भने, ‘अब त दर्शकले छानेर फिल्म हेर्नुहुन्छ । त्यस्तो दर्शकलाई पनि हलसम्म ल्याउन फिल्म शक्तिशाली हुनुपर्‍यो । त्यसका लागि फिल्म निर्देशक र निर्माताले फिल्म बनाउनुपर्छ । सतही फिल्म बनाएर हुँदैन ।’

लकडाउनबीच घोषणा भएका अधिकांश फिल्म छायांकनका लागि सामान्य दिनको पर्खाइमा छन् । सौरभ चौधरीले निर्देशन गर्ने ‘प्रसाद २’ दसैंबाट छायांकनमा जाने तयारीमा छ । उनका अनुसार यो फिल्म भदौदेखि छायांकनमा जाने तयारीमा थियो । तर कोभिडले गर्दा तयारीको समय लम्बियो । त्यस्तै, निर्देशक यम थापाले पनि आफ्नो नयाँ फिल्म अवस्था सामान्य भएपछि नै छायांकनमा लाने बताउँछन् । निर्देशक थापा सरकारले छायांकनको अनुमति दिनासाथ छायांकनमा जाने तयारीमा छन् । निर्देशक दीपेन्द्र खनालको तयारी पनि उस्तै छ ।

घोषणा भएका सबै फिल्म अभ्यास बिना नै बाहिर आएको भन्न नमिल्ने बताउँछन् निर्देशक लामा । तर घोषणा भएका फिल्मका टिम निर्माणमा गम्भीर बन्नुपर्ने बताउँछन् ।

नम्रता श्रेष्ठ र विपिन कार्की

पुरानै कलाकारहरू विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतलाई लिएर निर्माणको तयारीमा रहेको ‘प्रसाद २’ पहिलो फिल्मकै सिक्वेल हो । यसअघि निःसन्तान दम्पतीको कथा भनेको फिल्मको सिक्वेलमा श्रीमान् र श्रीमतीको प्रेमयात्रा देखाउने सौरभ बताउँछन् ।

दीपेन्द्र के खनालले निर्देशन गर्ने ‘चिसो मान्छे’ मा सामाजिक कथा समेटिनेछ । उनका अनुसार लकडाउनपछिको सेटिङमा फिल्मको कथा समेटिएको छ । ‘चिसो मान्छेचाहिँ बिम्बात्मक रूपले प्रयोग गरेको हो । चिसो मान्छे भनेको मरेको व्यक्तिलाई पनि बुझाउँछ । अर्को त समाज पनि अहिले त्यस्तै चिसो छ । म नै चिसो भएको होला । सबैजना मानिस बाँच्नका लागि चिसो छ । समाजलगायत सबै कुरालाई समेट्छु,’ उनले सुनाए ।

श्वेता खड्का

उनी निर्देशित पछिल्लो फिल्म ‘आमा’ले सुखद प्रतिक्रिया बटुलेको थियो भने ‘हिँडेर अमेरिका’ नामक फिल्म घोषणा गरेर पनि बनाएनन् ।

उनी अवस्था सामान्य भएपछि बाजुराको संस्कृति र लवज सिकाउन कलाकारलाई त्यतै राखेर वर्कशप गर्ने योजनामा रहेछन् । यस फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का र देशभक्त खनाल पक्कापक्की भइसकेका छन् । यम थापाले बनाउने फिल्ममा दुई सन्तान र आमाको कथा समेटिने बताइएको छ ।

प्रतिकृय

प्रतिकृय

SHARE