डिभिजन सडक कार्यालय काठमाडौंले जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर गौशाला–चाबहिल सडक कालोपत्रे गर्ने भएको छ। गत आर्थिक वर्षभित्रै कालोपत्रे गर्नुपर्नेमा बर्खाले काम रोकिएको थियो।
डिभिजन सडक काठमाडौंका प्रमुख कुबेर नेपालीले जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर यो र पुतलीसडक खण्डमा कालोपत्रे गर्ने तयारी रहेको बताए। ‘अहिले निषेधाज्ञाको कारणले काम गर्न पाएका छैनौं। त्यसैले अनुमतिको लागि प्रशासनमा निवेदन दिइसकेका छौं,’ उनले भने, ‘केही दिनभित्रै काम थाल्ने तयारी छ।’
कार्यालयले गत असारभित्रै सो खण्ड निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि नेपाल विद्युत् प्राधिकरणले समयमै भूमिगत प्रसारण लाइन निर्माण नगर्दा दुई महिना पछि धकेलिएको हो।
प्राधिकरणले एक साताभित्रै भूमिगत प्रसारण लाइन विस्तार गर्ने लक्ष्यसहित गत वैशाख पहिलो साता काम सुरु गरेको थियो। तर उसले असारमा मात्रै काम सकेकाले कालोपत्रेको काम प्रभावित भयो।
प्राधिकरणले समयमै काम नसक्दा अहिले उक्त खण्ड धुलाम्मे भएर सर्वसाधारण आजित छन्। गत आवभित्रै सकिनुपर्ने काम अझै बाँकी छ।
डिभिजन कार्यालयले यो सडकको समस्या दीर्घकालीन समाधानको लागि गत पुस १५ मा ठेक्का सम्झौता गरेको थियो। गौशाला–चाबहिल–चुच्चेपाटी र चाबहिल–गोपीकृष्ण हल खण्डको पाइप फेरेर सडक कालोपत्रे गर्ने ठेक्का कालिका–वेदांशी जेभीले पाएको छ। जेभीले करिब साढे दुई किलोमिटर सडकको ठेक्का २० करोड ८७ लाखमा पाएको हो।
कार्यालयले जेभीसँग ६ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको हो। सम्झौता अनुसार साढे दुई किलोमिटर सडक उप्काएर फेरि पिच र खानेपानीको नयाँ पाइप जडान गर्नुपर्ने हुन्छ।
प्रमुख नेपालीले प्राधिकरणको ढिलासुस्तीले कालोपत्रे गर्न केही समय ढिलो भएको बताए। ‘प्राधिकरणले एक साताभित्रै भूमिगत प्रसारणलाइनको काम सक्छौं भनेर काम थालेको थियो। तर दुई महिनाभन्दा धेरै समय लगायो। त्यसले गर्दा हामीले तोकिएको समयभित्रै काम गर्न सकेनौं,’ उनले भने, ‘अब काम गर्न पाएको खण्डमा दसैंअघि नै कालोपत्रे सम्पन्न गर्नेछौं।’
कार्यालयले पुतलीसडकको सात सय मिटर सडकको कालोपत्रेको लागि आवश्यक तयारी गरेको जनाएको छ। ‘पुतलीसडकमा ढल राख्ने काम सम्पन्न भइसक्यो,’ उनले भने, ‘दसैंसम्म कालोपत्रे गर्ने लक्ष्य राखेका छौं।’
१० करोड लागतमा ढल तथा कालोपत्रे गर्न लागिएको हो। कार्यालयले गत आर्थिक वर्षमा काठमाडौं जिल्लामा ५० किलोमिटरभन्दा धेरै सडक कालोपत्रे गरेको जनायो। ‘लकडाउनको कारण सबै सप्लाई चेन नै अवरोध भएकाले समस्या भएको हो,’ उनले भने, ‘अब केही सहज हुनेबित्तिकै काम अघि अढाउनेछौं।’