काठमाडौँ — शुक्रबार युट्युबमा नयाँ गीत ‘मुना…’ को भिडियो सार्वजनिक गरियो । राज खम्बु, सुजाता बर्मा र मिस्टर आरजेले गाएको गीतको भिडियोमा स्वस्तिमा खड्का, नाजिर हुसेन र रियासा दाहालले अभिनय गरेका छन् । शुक्रबार राति नै भिडियोका निर्देशक शान थापाले फेसबुकमा लेखे– ‘६ घण्टा नबित्दै २ लाख २६ हजार भ्युजसहित मुनाले ट्रेन्डिङको यात्रा सुरु गर्यो है त । तपाईंको मायाप्रति सधैं नतमस्तक छौं ।’ त्यो बेला गीत युट्युबको नेपाल ट्रेन्डिङको २७ नम्बरमा थियो । शनिबार साँझसम्म ५ लाख ७० हजार भ्युजसहित छैटौं नम्बरमा उक्लिएको छ ।
भ्युज र ट्रेन्डिङ हेर्दा लाग्छ, युट्युबमा अपलोड हुनासाथ गीत भाइरल भएछ । त्यस्तै हो त ? यसको निर्क्योल गर्नुपहिले भ्युज कसरी आयो, त्यो बुझौं । यो भिडियो शुक्रबारै करिब ९ वटा फेसबुक पेजबाट डलर तिरेर ‘बुस्ट’ गरिएको थियो । त्यसमा स्वस्तिमा, नाजिर, मिस्टर आरजे, पुष्प खड्काको आधिकारिक फेसबुक पेजसहित लोल नेपाल, ठग लाइफ नेपाल, लोलबहादुर नामका पेज छन् । सबै पेजको लाइक्स जोड्दा ५२ लाख ५० हजारभन्दा धेरै हुँदोरहेछ । अब शंका होला त, ‘मुना’ को कुल भ्युजमा प्रायोजित भ्युजको बाहुल्य छ ।
‘मुना’ मात्र होइन, छिट्टै लाखौं–लाख भ्युज बटुल्ने अधिकांश गीतको वास्तविकता हो यो । गत मंगलबार रिलिज गरिएको ‘आटो पिठो’ गीत पनि लाखौं लाइक्स भएका आधा दर्जन पेजमा ‘स्पोन्सर्ड’ गरिएको थियो । म्युजिक भिडियो बनाउनेहरू भन्छन्, आजकल त्यस्तो गीत सायदै हुन्छ, जसमा डलर खर्चेर भ्युज नकिनिएको होस् । युट्युबमै विज्ञापन गर्ने र फेक भ्युज किन्ने पनि उत्तिकै हुन्छन् । ‘मुना’ का निर्देशक भने बुस्टका कारण आफ्नो गीत युट्युब ट्रेन्डिङमा नआएको दाबी गर्छन् । ‘पैसा तिरेर पनि ट्रेन्डिङमा आउँछ भन्ने सुनेको छु तर मैले त्यस्तो गरेको छैन,’ थापाले शनिबार कान्तिपुरसँग भने, ‘हामीले प्रमोसन नगर्दै यो गीतले दुई घण्टामा एक लाख भ्युज पाएको थियो । पछिचाहिँ बुस्ट गर्यौं । तर, त्यही कारण ट्रेन्डिङमा आएको होइन । आठ लाख भ्युज हुँदा पनि ट्रेन्डिङमा नआएको उदाहरण छ ।’
लोभलाग्दो पारिश्रमिक
यो समयका चल्तीका निर्देशक हुन् थापा । गत वर्ष मात्र उनले झन्डै ९० म्युजिक भिडियो बनाएका थिए । लकडाउन खुलेपछि र निषेधाज्ञा हुनुअघि सात गीतको सुटिङ भ्याएको बताए । उनका अनुसार भिडियो बनाउनै घटीमा ४ लाख रुपैयाँ लाग्छ । फिल्ममा चलेका ठूला कलाकारलाई लिने हो भने बजेट अझ बढ्छ । अधिकांश पैसा कलाकारले लैजाने भएकाले मेकिङमा थोरै मात्र खर्च गर्न पाइने गुनासो छ उनको । ‘पैसा टन्न लान्छन् तर गीत आएपछि कतिपयले फेसबुकमा सेयरसमेत गर्दैनन् । सुटिङमा पनि सहज ढंगले प्रस्तुत हुँदैनन्, बरु मन नलागे नखेले भैगो,’ थापाले असन्तुष्टि पोखे ।
अहिले फिल्ममा चलेकामध्ये म्युजिक भिडियो नखेल्ने कलाकार सम्भवतः अनमोल केसी मात्र हुन् । पल शाह, पुष्प खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, आँचल शर्मा, पुजा शर्मा, प्रियंका कार्की, केकी अधिकारीदेखि दयाहाङ राई, विपिन कार्कीसम्मले भिडियो खेल्छन् । निर्देशकहरूसँगको अनौपचारिक कुराकानीका अनुसार पलले एउटा भिडियोको डेढ लाखसम्म लिन्छन्, नाजिर, पुष्प र स्वस्तिमाले एक–एक लाख । त्यस्तै, वर्षा र आँचलले ८० हजारको हाराहारीमा लिने गर्छन् । कलाकारको एक दिनको पारिश्रमिक हो यो । आक्कलझुक्कलबाहेक भिडियोको छायांकन एकै दिनमा सकिन्छ । आजकल भिडियोको पनि फिल्मको जस्तै पोस्टर राखेर प्रचार गरिने भएकाले यी कलाकारको भिडियो आउँदा फिल्म आयो भनेर दर्शक झुक्किन्छन् पनि । कहिलेकाहीँ त एउटै कलाकारको फिल्म र गीत एकै दिन रिलिजसमेत भएको छ । म्युजिक भिडियो मात्र खेलिरहेका निराजन प्रधान, रियासा दाहाल, अलिसा राई, सरोज अधिकारी, आश्मा विश्वकर्मालगायत पनि महँगा कलाकारमै पर्छन् ।
‘कलाकार छान्ने अधिकार निर्देशकको हातमा हुन्न । जसले म्युजिक भिडियोमा पैसा हाल्ने हो, उसैले फलानो–फलानो भनेर छान्छ,’ चार वर्षमा झन्डै ३ सय ५० म्युजिक भिडियो निर्देशन गरिसकेका थापाले भने, ‘हामीलाई काम गर्नुपर्ने बाध्यता हुन्छ । त्यसैले यो कलाकार राख्ने, त्यो नराख्ने भन्नै सकिन्न । टिम बचाउनका लागि भए पनि गर्नैपर्ने बाध्यता हुन्छ ।’ एउटा भिडियो बनाउँदा २० देखि ३० जनाले एक दिनको रोजगारी पाउने उनले बताए । गीतमा कोरस छन् भने यो संख्या ५० पुग्छ । अर्का चल्तीका निर्देशक सुव्रत आचार्यचाहिँ कुनै भिडियोको स्टारका कारण बजेट बढ्ने अनि कुनैचाहिँ स्टार नराख्दा पनि महँगो हुने बताउँछन् । जस्तो कि उनले ‘ए मान्छे’ बनाउँदा १५ लाख खर्च भयो, ‘मन मगन’ मा ९ लाख अनि ‘गलबन्दी’ मा १२ लाख रुपैयाँ । ‘लोकेसन चार्ज लाग्दैनथ्यो, अहिले सबैतिर पैसा लिन्छन् । ३० हजारदेखि १ लाखसम्म लोकेसनमै खर्च हुन्छ । तारे होटलमा खिच्दा अझ ज्यादा शुल्क लाग्छ,’ आचार्यले भने ।
प्रचारमा उत्तिकै खर्च
यो भिडियो तयार पार्न लाग्ने खर्च मात्र भयो । प्रमोसनमा पनि त्यतिकै लगानी हुन्छ । आचार्यकै भनाइमा आजकल झन्डै–झन्डै फिल्मकै बराबर म्युजिक भिडियोको प्रचार हुने गर्छ । कतिले एउटै भिडियो सार्वजनिक गर्न महँगो होटलमा प्रेस मिट गर्छन् । युट्युबबाट सिधै रिलिज गर्दा पनि ‘बुस्ट’ नगर्ने को हुन्छ र ? कोही फेक भ्युज किन्छन् । ‘के माया लाग्छ र,’ ‘बटौली’ जस्ता लोकप्रिय गीतको भिडियो बनाएका निर्देशक नवीन चौहान भन्छन्, ‘भिडियो रिलिज गर्नासाथ ट्रेन्डिङमा पारिदिन्छु भनेर फोन आउँछ । कोही तीन भ्युजको एक रुपैयाँ भन्दारहेछन् । यस्तो गर्ने गिरोह नै रहेछ ।’
जबकि यसरी फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालमा पैसा तिरेर गरिने विज्ञापन अधिकांश गैरकानुनी हुन्छन् । गत वर्ष माघमा नेपाल राष्ट्र बैंकले त्यस्तो विज्ञापनका लागि अनौपचारिक माध्यमबाट विदेशमा पैसा पठाउने गरेको पाइएको भन्दै त्यस्तो क्रियाकलाप गैरकानुनी भएको जनाएको थियो । यस्ता विज्ञापन गर्नेमध्ये थोरैले मात्र राष्ट्र बैंकबाट औपचारिक रूपमा स्वीकृति लिएका हुन्छन् । सोही कारण त्यतिबेला राष्ट्र बैंकले विदेशी विनिमय नियमित गर्ने ऐनलाई हवाला दिँदै त्यसरी रकम विदेश पठाउने व्यक्ति वा संस्थालाई कारबाही गर्ने चेतावनी दिएको थियो तर खुलेआम सामाजिक सञ्जालमा डलर तिरेर भिडियोको ‘बुस्ट’ भइरहँदा पनि कसैलाई कारबाही भएको देखिन्न । यस सम्बन्धमा राष्ट्र बैंकले कार्यविधि बनाउँदै छ ।
‘बुस्ट’ बाहेक भिडियोका निर्माताले भिडियो सेयर गरेबापत फेसबुक पेजलाई पैसा बुझाउँछन् । यसको रकमचाहिँ पेजको लाइक्सअनुसार फरक हुन्छ । त्यस्तै, विभिन्न मिडियामा विज्ञापन गरिन्छ । आजकल त टिकटक स्टारलाई पैसा दिएर टिकटक गराउने लहर पनि
बढ्दो छ । ‘पहिले टेलिभिजनमा जति बज्यो, हिटको मानक त्यही हुन्थ्यो । अहिले हिटको मानक नै युट्युब भ्युज भएको छ,’ दुई फिल्मसमेत निर्देशन गरिसकेका आचार्य भन्छन्, ‘त्यसैले जसरी पनि भ्युज धेरै देखाउने होडबाजी देखिन्छ ।’
अनि कमाइ नि ?
अब प्रश्न आउँछ, यति धेरै लगानी गरेपछि ‘रिटर्न’ कति हुन्छ ? भिडियो बनाउनेहरूकै उत्तर प्रायः एउटै हुने गर्छ– ‘भिडियोको लगानी, बालुवाको पानीजस्तै हो ।’ प्रत्यक्ष रूपमा भ्युजअनुसार युट्युबले दिने रकमबाहेक केही कमाइ हुँदैन, यसरी युट्युबबाटै लगानी उठाउने गीत नगन्य हुन्छन् । निर्देशक चौहान भन्छन्, ‘म्युजिक भिडियो बनाएर आत्मसन्तुष्टिबाहेक अरू छैन । भाइरल नै भयो भने केही पैसा आउला । त्यो पनि लगानी उठ्नु नै ठूलो उपलब्धि हुन्छ । नत्र भिडियो बनाउनु आर्थिक रूपमा घाटै हो ।’ आफूले बनाएको गीत चलेपछि भिडियो बनाउन धेरै अफर आएको तर लगानी डुब्ने भएकैले आफूले बनाउन नचाहेको उनले बताए । अगाडि थपे, ‘म्युजिक भिडियोमा व्यावसायिकताको गुन्जायस छँदै छैन । अरूको लगानी माटोमा हालिदिन मन लाग्दैन ।’ उनले ‘तीन पाते’ को भिडियो ७ दिन लगाएर बनाए, १५ लाख खर्च भयो । गीत चल्यो पनि । तर, कमाइ असाध्यै न्यून छ । यद्यपि फिल्म निर्देशनका लागि भिडियो बनाएर थोरै खर्चमा अभ्यास गरिरहेको उनले बताए ।
निर्देशक आचार्य पनि लगानीको अनुपातमा कमाइ नहुने बताउँछन् । ‘अहिले भिडियो हिट नबनाई गीत हुन्न भन्ने सोच छ, त्यसैले जसरी हुन्छ, हिट बनाउन भिडियोमा ज्यादा लगानी भइरहेको छ,’ उनी भन्छन्, ‘तर, भ्युजबाटै पैसा उठ्न गाह्रो छ ।’ उनका अनुसार गीत हिट भएपछि कलाकारले स्टेज शो पाउने, संगीतकार/गीतकारले पनि काम पाउने सम्भावना हुन्छ । गीत चलेन भने खाली बस्नुपर्छ भन्ने सोच व्याप्त छ । निर्देशक थापाचाहिँ युट्युबबाहेक अन्य प्लेटफर्म नभएकाले कमाइ नहुने बताउँछन् । ‘हामी पारिश्रमिकअनुसार स्तरीय भिडियो बनाउने प्रयास गर्छौं, त्यसबाट कति कमाइ हुन्छ, त्यो हाम्रो जिम्मा हुन्न,’ उनले भने, ‘कहिलेकाहीँ २ करोडमा बनाएको फिल्मले १ लाख नकमाएजस्तै आठ लाख खर्च भएको भिडियोले १० हजार पनि नउठाउन सक्छ ।’ त्यसो त उनले ३ लाखमा बनाएको ‘यो गोप्य कुरा’ को भिडियोबाट ३० लाख कमाइ भएको दाबी पनि गरे । तर, उनकै शब्दमा, यो अपवाद मात्र हो ।
उल्कै भ्युज पायो भने मात्र भिडियोको लगानी उठ्छ, कति भिडियो त आए/गएको समेत पत्तो हुन्न, भाइरल नै भयो भने पनि केही समयपछि दर्शकले बिर्सिहाल्छन् । तैपनि, भिडियोमा पैसा खन्याउने यो लहडको रहस्यमा के छ ? कसले पैसा खर्चन्छन् ? निर्देशकहरूका अनुसार फिल्मको जस्तो भिडियोमा नियमित निर्माता हुँदैनन्, जसको गीत हो, उसैले पैसा हाल्ने गर्छन् । ‘प्रायः जो सर्जक (गीतकार, संगीतकार, गायक) हो, उसैले भिडियोमा पैसा हाल्छन्,’ आचार्य भन्छन्, ‘कतिलाई काम नपाइने डर हुन्छ, कतिलाई लोकप्रिय हुने लोभ र सोख हुन्छ ।’ पछिल्लो समय भिडियोमा पैसा खर्चनेमा विदेशमा बस्ने नेपालीको बाहुल्य छ । कोही सर्जक त कोही मोडल बनेर । नयाँ युट्युब च्यानल खोल्नेले पनि यदाकदा डिजिटल राइट लिएर भिडियोमा लगानी गर्छन् । त्यसैले त भन्न थालिएको छ नि– ‘मुर्गा फस्ने/फसाउने फिल्मको रोग अहिले म्युजिक भिडियोमा सरेको छ ।’
निर्देशकहरू नै भन्छन्, गीतमा मिठास छैन भने भिडियोमा जति खर्च गरे पनि हिट हुँदैन । पहिले अडियो नै शानदार हुनुपर्छ, भिडियो ‘सपोर्टिभ’ मात्र हो । तर, लगानीकर्ता र कतिपय सर्जक नै भ्युज र ट्रेन्डिङको पछाडि दौडिरहेका छन्, यसले संगीतको सुन्दरतामा दाग लगाउने चिन्ता व्यक्त गर्न थालिएको छ । ‘फेक र बुस्ट भ्युजको आत्मरतिमा रमाउने कि साँच्चै उत्कृष्ट गीत र भिडियो बनाउने ? त्यतातिर सोच्नुपर्छ । बिकाउ कन्टेन्टको बाहुल्य हुने, सिर्जनात्मक कन्टेन्ट हराउँदै जाने डर छ,’ आचार्यले भने । निर्देशक चौहान यो प्रवृत्तिको नकारात्मक प्रभाव अधिक देख्छन् । लगानीअनुसार भिडियोको गुणात्मक अभिवृद्धि पनि भएको छैन । ‘भिडियो कथावाचनभन्दा गीतको प्रचार गर्ने माध्यम बनिरहेको छ । कागतालीमा कुनै–कुनै चल्छ अनि सबै चल्छ भनेर भ्रम फिजाइन्छ,’ चौहान भन्छन्, ‘लहडबाट बाहिर निस्केर भिडियोको सान्दर्भिकता खोज्नुपर्ने भएको छ । खोलामा पानी बगाएजसरी त कतिन्जेल चल्छ ?’
प्रकाशित : भाद्र २१, २०७७ ११:५३