रातो मत्स्येन्द्रनाथ रथ तान्ने विषयलाई लिएर भएको झडपबाट पक्राउ परेका १८ जनामध्ये थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पक्राउ परेकामध्ये २ जनामा संक्रमण देखिएको ललितपुरका सीडीओ नारायण भट्टले बताएका थिए । जावलाखेल प्रहरी परिसरले थप ४ गरी जम्मा ६ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।
महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले पक्राउ परेकाको भोलिपल्ट पीसीआर परीक्षण गरिएको बताए । ‘पाटन अस्पतालबाट आइतबार आएको रिपोर्टमा ६ जनामा कोरोना पोजिभिज देखिएको हो,’ उनले भने, ‘उनीहरुलाई उपचारपश्चात पुनः प्रहरीको सम्पर्कमा आउने गरी घरपरिवारको जिम्मामा लगाएका छौं ।’
प्रहरीले झडपको सिलसिलामा पक्राउ परेका १४ जनालाई सार्वजनिक शान्तिसुरक्षा विरुद्धको कसुरमा मुद्दा चलाएको थियो । ४ जनालाई रिहा गरिसकिएको छ ।
पक्राउ परेकाहरुलाई निर्सत रिहा गर्न मत्स्येन्द्रनाथका पुजारीहरुको संगठन ३२ पानेजु संघ, ज्योतिषि, बाराही, यॅवाल, धकुलगायत १९ जातिय खलःले सामूहिक रुपमा माग गरेका छन् । उनीहरुले विज्ञप्ति जारी गरी भाद्र १८ गते पक्राउ गरिएकाहरुलाई बिना शर्त अबिलम्ब रिहा गर्न माग गरेका हुन् ।