ओझेलमा परेको एउटा स्वर

५३ वर्षको उमेरमा गीत रेकर्ड गर्ने मौका मिल्यो, अमित राईलाई । जसको मिठास र मौलिक स्वर आजभोलि सामाजिक सञ्जालतिर ‘भाइरल’ छ । वर्षौं प्रस्फुटन हुन नपाएको यही प्रतिभाको कथा :

काठमाडौँ — डेढ महिनाअघि गीतकार गोपालचन्द्र राईको फेसबुक वालमा एउटा गीत आयो, ‘मायाले मूल बाटो भुलेछ…।’ त्यो गीत मोबाइलले खिचेर जीवन राईले फेसबुकमा राखेका रहेछन्, गाउनेचाहिँ अमित राई (जन्तरे मामा) । पाको उमेरका अमितको आवाजसँग गोपाल मोहित भएछन् । उतिखेरै जीवनसँग सम्पर्क गरेर अमितसँग कुरा गरे ।

जीवनले सोधेछन्, ‘तपाईंको स्वर मीठो रहेछ । आफ्नै आवाजमा गीत रेकर्ड गराउन मन छ ?’ त्यो प्रश्न अमितका लागि अप्रत्याशित थियो सायद । त्यसैले एकछिन मौन भएछन् र भावुक हुँदै भनेछन्, ‘एउटा गीत रेकर्ड गराउन पाए त मर्दा पनि स्वर्ग जान्थें होला ।’

‘गायन प्रतिभा त्यति लोभलाग्दो छ तर पनि उहाँको गीत रेकर्ड भएको थिएन, त्यसैले चाहेरै रेकर्ड नगरेको होला, गुनगुनाउन मात्र सौखिन हुनुहोला भन्ने लागेको थियो,’ अमितसँगको कुराकानी सम्झँदै गोपालले भने, ‘तर, उहाँको जवाफ सुनेपछि कस्तो खल्लो लाग्यो । त्यसैले हामी जसरी पनि रेकर्ड गराउन लागिपर्‍यौं ।’

गोपाल खोटाङमा बस्छन्, अमित मोरङको पथरी । रेकर्ड गराउन काठमाडौं आउनुपर्ने तर निषेधाज्ञा बाधक बनिदियो । लकडाउन खुल्ला कि भनेर कुरिरहे तर लम्बिएको लम्बियै भयो । त्यसपछि कुर्ने धैर्य रहेन, पास मिलाएर काठमाडौं आए । ५३ वर्षको उमेरमा गत शुक्रबार अमितको आवाजमा पहिलो गीत रेकर्ड भयो :

फूलैफूलको सौगात तिमीलाई

स्विकारेर सिउरिदेऊ त्यो चुल्ठोमा

वर्षाइ दिउँला मायाको बहार

सम्हालेर राखिदेऊ त्यो पोल्टोमा

पहिले जसरी गोपाल मोहित भएका थिए, अहिले उसैगरी यो गीत सुन्नेहरू उनको स्वरसँग लठ्ठ भइरहेका छन् । शनिबार युट्युबमा सार्वजनिक यस गीतले मंगलबार साँझसम्म ४ लाख ४६ हजार भ्युज पाइसकेको छ । फेसबुकका दर्जनौं पेजमा लाखौंले हेरिसकेका छन् । हिजोआजको भाषामा भन्दा गीत ‘भाइरल’ भइरहेको छ । यसका रचनाकार गोपाल भन्छन्, ‘हामीले कहींकतै यो गीतलाई बुस्ट र स्पोन्सर्ड गरेका छैनौं । च्यानलको सब्सक्राइबर पनि १६ हजार जति मात्र थियो तर दिनमा एक लाखको दरले भ्युज आइरहेको छ ।’ यो गीतलाई तोरेम्पाले संगीतबद्ध गरेका हुन् ।

त्यसो त भ्युज मात्र गायकीको उत्कृष्टताको मानक होइन, सबै भाइरल कन्टेन्ट स्तरीय हुँदैनन् पनि । बजारमा जस्तो बिकिरहेको छ, त्यस्तै गाउने, डलर खर्चेर प्रायोजन गर्ने र त्यस्तै गीत ‘हिट’ हुने नेपाली संगीतको तीतो र ताजा वास्तविकता हो । तर, अमितको आवाज यो भीडभन्दा अलग र विशेष छ । मिठास र मौलिक लाग्छ । युट्युबका शतप्रतिशत कमेन्टमा उनको प्रशंसा गरिएको छ । धेरैले लेखेका छन्– ‘कति मीठो स्वर । नारायण गोपालको झझल्को आयो ।’

अमितलाई पनि त्यस्तै लाग्छ ? मंगलबार फोनमा उनले भने, ‘त्यो त सुन्नेले भन्ने कुरा हो । तर, मैले जीवनमा नारायण गोपालको बाहेक अरू कसैको गीत सुनिनँ भन्दा हुन्छ ।’ अहिले पनि उनी नारायण गोपालकै सुन्छन्, अरू कलाकारको गीत आक्कलझुक्कल नसुनेका होइनन्, तर मन रम्दैन रे । अरू कलाकारको पनि नाम उनलाई याद रहेनछ । नारायण गोपालसँग अमित यतिबिघ्न ‘फिदा’ हुनुको कारण छ । त्यसका लागि अढाई दशक अगाडि पुग्नुपर्ने हुन्छ । अमितले बच्चैदेखि गाउन थालेको होइन, उनी २८ वर्षको थिए, जब गाउन लागे । पुराना दिनहरू सम्झँदै भन्छन्, ‘त्यसभन्दा अगाडि त हलो–कोदालो, घाँसदाउराभन्दा अरू थाहा थिएन ।’

अमित ०२४ सालमा पाँचथरको मेमेङमा जन्मिए । परिवार आर्थिक रूपमा असाध्यै विपन्न थियो । उनी जन्मिएकै साल पेल्टीमारी बसाइँ सरे । ०३६ सालमा मोरङको पथरी आए । ‘पथरीमा जंगल फाँडेर बस्न थाल्यौं, आफूले चाहेजति फाँड्न पाइन्थ्यो । तोकेको ठाउँभन्दा बाहिर जान मिल्दैनथ्यो,’ अमितले विगत सम्झिए, ‘नजिकैको बजार भनेको दमक थियो । त्यो पनि निकै सानो ।’

उनले चार कक्षाभन्दा माथि पढ्न पाएनन् । पथरी आएर पनि खानलाउनको दुःख हटेन, रोजै ज्यालादारी गर्नुपर्थ्यो । तर, सास्तीले लपेटिएको दिनचर्याबीच एक दिन एउटा खुसी उनको घरमा आइपुग्यो । त्यो थियो, रेडियो । त्यसपछि जतिबेला पनि रेडियो उनको साथमा हुन थाल्यो, गीत सुन्न भनेपछि हुरुक्क । ‘दिनभर नारायण गोपालको गीत पर्खेर बस्थे, बारीतिर काम गर्दैगर्दा गीत आयो भने डोको, नाम्लो फालेर रेडियो छेउ पुगिहाल्थें,’ उनले उत्साही हुँदै सुनाए, ‘उहाँको गीत सुनेपछि ज्यान दुख्या पनि बिर्सन्थें । अरूको गीत सुनेको खासै याद छैन ।’ नारायण गोपालका गीत सुन्दैनथे मात्र, दुरुस्तै गाउँथे पनि । उनको गीत सुन्ने साथीभाइ भन्थे– ‘ठ्याक्कै नारायण गोपालजस्तो गाइस् ।’ कस्तो गाए, उनलाई अक्कल हुँदैन्थ्यो, सिर्फ मनदेखि गाउँथें । ‘खासमा मेरो गुरु नै नारायण गोपाल र त्यही सन्तोष रेडियो हो,’ उनी मुस्कुराए । गाउँतिर पूजाआजा र बिहे हुँदा साथीभाइ गाउन हौस्याउँथें, तानेर लैजान्थे तर उनलाई धक लाग्थ्यो । साथीहरूले मरिगए उम्कन नदिने, त्यसपछि अरूको अगाडि नगाई सुक्खै भएन । ‘मादल बजाएर रातभर गाइन्थ्यो, सुरताल थाहा थिएन तर गाएपछि मन आनन्द हुन्थ्यो,’ उनले रोमाञ्चित हुँदै भने ।

तर, तिनताका उनलाई गीत रेकर्ड गराउनुपर्छ भन्ने ज्ञानै थिएन । गाँस र बाँसको सकस कहिल्यै अन्त्य भएन । अलिपछि पैसा भए आफैं गीत निकाल्न सकिन्छ भन्ने थाहा त पाए, तर उही दामको खडेरी । मेलापात जाँदा होस् वा एक्लै हुँदा गुन्गुनाउन भने कहिल्यै छाडेनन् । ‘कुनै दिन गीत गाउने अवसर पाउँछु, धेरै मान्छेले मेरो स्वर सुन्छन् भन्ने आसचाहिँ थियो । त्यसैले घरमै भए पनि कहिल्यै गाउ छोडिनँ,’ उनले संगीतप्रतिको आफ्नो प्रेम पोखे ।

अमितको आशा त पूरा भयो तर वर्षौं कुर्नुपर्‍यो । गज्जबको संयोग त के भने गीत रेकर्ड गर्ने सिलसिलामै देशको राजधानी काठमाडौं पहिलो पटक आउने अवसर जुर्‍यो । उनकै शब्दमा, यसअगाडि उनले कहिल्यै घर छाडेका थिएनन् । त्यसैले काठमाडौं आएपछि सुरुमा निसास्सिए जस्तो लागेछ, परिवारको याद आएछ । ‘उहाँलाई परदेश पुगेको जस्तो भएछ । त्यसैले काठमाडौंबाट परिवारसँग फोनमा कुरा गर्दा रुनु भयो,’ अमितसँगै काठमाडौं आएर फर्किएका गोपालले खोटाङबाट फोनमा सुनाए ।

रेकर्ड गराउन स्टुडियोमा पाँच घण्टा समय लिइएको थियो तर उनलाई एक घण्टा पनि लागेनछ, जबकि उनी पहिलो पटक स्टुडियो छिरेका थिए । ‘मैले हृदयबाट गाएँ, दुई राउन्डै पास भयो,’ उनले उत्साही हुँदै भने, ‘साथीहरूले म स्टुडियोभित्र डराउला/अप्ठ्यारो मान्ला भन्ठान्नुभएको रहेछ तर त्यस्तो केही भएन, मेरो त सपना पूरा हुँदै थियो ।’ गोपाल पनि व्यावसायिक कलाकारले झैं अमितले रेकर्ड गराएको बताउँछन् । ‘डिजिटल जमाना नआएको जस्तै सरर गाइदिनुभयो । संगीतकारले भनेको कुरा टपक्कै टिप्नुभयो,’ गोपालले सुनाए । मोरङ हुँदै उनलाई गिटारमा कम्पोज गरिएको गीत मोबाइलमा रेकर्ड गरेर पठाइएको थियो । त्यही सुनेर उनले स्टुडियोमा आफूलाई खुलाएका हुन् । गीत रेकर्डपछि अर्को एक घण्टामा भिडियो खिचिएको थियो ।

गीत सार्वजनिक भएपछि पैत्तृ घरमै फर्किए, अमित । थोरै बारी छ, त्यसकै खनजोतमा लागेका छन्, कहिलेकाहीं अर्मपर्म गर्छन् । तीन छोराहरू इँटा र बालुवा बोक्ने ज्यामी काम गर्छन्, पत्नी घरमै । खेत छैन, सबै कुरा किनेरै खानुपर्छ । परिवार चलाउन मुस्किल छ उनलाई । दुई दिन काम गरेन भने हातमुख जोड्न धौधौ हुन्छ । यो नियति त उनले आजीवन झेल्दै आएका छन्, भोलि पनि झेलिरहलान् । तर, अब गीत गाइरहने चाह रहेछ । एलिना चौहानसँग अर्को गीत रेकड हुँदै छ । ‘संगीतकारले सिकायो भने मज्जाले गाउन सक्छुजस्तो लाग्छ तर संगीत सिक्न पनि मन छ,’ उनले फोनमा सुनाए, ‘काठमाडौंमा मीठोमसिनो खान पाइयो । साथीहरूले खुब माया गर्नुभयो । अब काठमाडौं जान पाइरहियोस् । अब जाँदा अत्यास पनि नलाग्ला !’

प्रतिकृय

प्रतिकृय

SHARE