तत्कालीन मन्त्री जगतलाई पन्छाएर अरूलाई वन फँडानीको मुद्दा

जिल्ला अदालत कास्कीमा पोखरा– १९ घार्मीका डिल्लीराम पौडेल, मोहन विश्वकर्मा, नरबहादुर भुजेल, चन्द्रबहादुर सुनार र रामबहादुर सुनारलाई वन फडानी मुद्दा चलिरहेको छ।

अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासमा गत शुक्रबार भएको थुनछेक बहसमा डिल्लीराम र मोहनलाई जनही ६-६ लाख धरौटी राख्न आदेश भएको थियो।

उनीहरूले धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन्। वन फडानी मुद्दा लगेका अन्य ३ जना भने फरार रहेको कास्की वन प्रमुख केदार बरालले बताए। उनीहरू भेटिएपछि अदालतमा पेश गर्ने उनको भनाई छ। अदालतमा उपस्थित भएपछि उनीहरूका हकमा पनि थुनछेक बहस भएर आदेश आउने जिल्ला अदालतका सुचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए।

घार्मीका स्थानीयका अनुसार वन फडानी मुद्दामा जिम्मेवार अरू व्यक्तिलाई भने अनुसन्धानबाटै अलग राखिएको बताएका छन्।

२०७६ फागुन अन्तिम साता तत्कालीन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उनका नातेदारलाई अनुसन्धानबाट अलग राखेको स्थानीयबासीले बताएका छन्।

वन फँडानीमा संलग्न मन्त्री जगत, उनका भतिज मोहन सुनार, भिनाजु मुक्तिबहादुर सुनार, दाजुभाई बलबहादुर विक, मनकाजी विकलगायत सहभागी भएका एक स्थानीयले बताए। उनीहरूलाई वन कार्यालय र वडा कार्यालयले अनुसन्धानकै क्रममा उन्मुक्ती दिएको स्थानीयको भनाई छ।

वन ऐनले राष्ट्रिय वनका रूपमा परिभाषित गरेको पर्ती जग्गाको वन फडानी भएपछि जिल्ला वन कार्यालयमा स्थानीयले त्यतिबेलै मुद्दा दिएका थिए। मुद्दा दिँदा ९ जनाको नाम उल्लेख भएपनि वन कार्यालयले अनुसन्धानको घेराबाट बाँकी ४ जनालाई उन्मुक्ति दिएको स्थानीय बताउँछन्।

यता, वन प्रमुख बरालले भने स्थलगत रुपमा बुझ्दा वन फँडानीमा ५ जनाको मात्र नाम आएको बताए।

‘मन्त्री ज्यु वन फँडानीमा सहभागी हुनुहुन्थ्यो भनेर कसैले भनेनन्,’ उनले भने। जबकी, तत्कालीन मन्त्री जगतले त्यतिबेलै विज्ञप्ति निकालेर आफूले वन फँडानी नगरेको तर दाउरा काटेको बताएका थिए। राष्ट्रिय वनमा उनले भनेअनुसार दाउरा काट्न पनि जिल्ला वन कार्यालयबाट अनुमति लिनुपर्छ।

स्थानीयका अनुसार तत्कालीन मन्त्री जगतले नै रुख ढालेर वन फँडानी आरम्भ गरेका थिए। एमाले केन्द्रीय सदस्यसमेत रहेका जगतलाई जोगाउन एमाले नेतृत्वको तत्कालीन वडादेखि वन कार्यालयका कर्मचारीलाई दवाब दिएका थिए। वन कार्यालय कास्कीका एक कर्मचारी भन्छन्, ‘मन्त्रीलाई जोगाउने गरी अनुसन्धान गरियो।’

कोभिड–१९ महामारी आउनुअघि थालिएको वन फडानी महामारी रोक्न गरिएको लकडाउनमा झनै व्यापक पारिएको थियो।

त्यतिबेला मन्त्री जगत घार्मी आउजाउ गरिरहन्थे। उनको स्थायी घर घार्मी हो। वन कार्यालयका अनुसार त्यतिबेला पर्ती जग्गामा रहेको वनको ५०३ वटा रुख काटिएको छ। जिल्ला वन लगायत कुनै कार्यालयबाट अनुमति नलिइकन त्यतिका रुख काटिएका थिए। स्थानीयका अनुसार पर्ती जग्गाका वन फँडानी गरेर उक्त जग्गा आफ्नो नाममा दर्ता गर्न त्यसरी रुख काटिएका थिए।

त्यतिबेला उक्त क्षेत्रमा नापी कार्य भइरहेको थियो। नापीमा भोगचलन भइरहेको छुट जग्गा दर्ता गर्न उनले चाहेका थिए।

‘नापीमा आमोद कमोद भइरहेको छुट दर्ता गर्न पाइने लोभमा मन्त्री नै सरकारी गाडीमा आएर रुख काटे,’ एक स्थानीयले भने, ‘मन्त्री नै रूख काट्न आएपछि अरुले पनि हौसला पाए।’ घार्मीको गुँरासपानी टोलमा यसरी वन फँडानी भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यथार्थ छानविन गरी विवरण पेश गर्न जिल्ला वन कार्यालयलाई निर्देशन दिएको थियो।

वन फँडानीविरूद्धको उजुरी र अख्तियारले २ वर्ष अघि नै उजुरी दिँदासमेत तत्कालीन मन्त्री जगत जोडिएकै कारण वन कार्यालयले अनुसन्धानमा ढिलाई गरेको थियो।

अहिले अनुसन्धान सकेर मुद्दा जिल्ला अदालतमा पुगेको छ। त्यतिबेला मन्त्रीको पछि लाग्दा अहिले दु:ख पाउनुपरेको स्थानीयले बताएका छन्। यस विषयमा तत्कालीन खेलकुदमन्त्री जगत विश्वकर्माले आफूलाई थाहा नभएको प्रतिक्रिया दिए। उनले संक्षेपमा भने, ‘मलाई जानकारी भएन, उतै सोध्नुस्।’

प्रतिकृय

प्रतिकृय