काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल रहेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीले विभिन्न व्यक्तिहरूसँग छलफल गरिरहेकी छन् ।
संघीय संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरकिता (पहिलो संशोधन) ऐन, २०७९ लाई संवैधानिक व्यवस्थाअनुसार प्रमाणीकरण गर्नैपर्ने सीमा पुगेको दिन राष्ट्रपति भने छलफल गरिरहेकी हुन् । प्रवक्ता आचार्यले नागरिकता विधेयकको अवस्था के छ ? भन्ने प्रश्नको जवाफमा भने, ‘त्यो विषयमा छलफल भइरहेको छ । छलफलमै छ, केही भएको छैन ।’
राष्ट्रपति भण्डारी मंगलबार साँझ पनि भण्डारीले विभिन्न व्यक्तिहरूसँग छलफल गरिरहेको आचार्यले बताए । ‘कन्सल्टेसन भइरहेको छ । विभिन्न व्यक्तित्वहरूसँग छलफल भइरहेको छ,’ उनले भने । कोसँग छलफल भइरहेको छ भनेर व्यक्ति नै भने भन्न नसकिने उनको भनाइ थियो ।
नागरिकता विधेयक भदौ २० गते राष्ट्रपति कार्यालय प्रमाणीकरणका लागि पुगेको थियो । आचार्यले मंगलबार उक्त विधेयक राष्ट्रपति कार्यालयमा दर्ता भएको १५ दिन पुग्ने भएकाले राष्ट्रपति भण्डारी छलफलमा रहेको बताए ।
राष्ट्रपतिले यसअघि उक्त विधेयक संसद्मा फिर्ता पठाएकी थिइन् । राष्ट्रपतिबाट फिर्ता आएको विधेयक सोही अवस्थामा वा संशोधनसहित संसद्ले प्रमाणीकरणका लागि पठाएको १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।