नापीकै अभिलेखमा छैन हात्तीसार क्षेत्रमा टुकुचा

काठमाडौँ महानगरपालिकाले हात्तीसार क्षेत्रमा छोपिएको टुकुचा खोलाको उत्खनन सुरु गरेसँगै हात्तीसारक्षेत्रका बासिन्दाले महानगरको निर्णयप्रति आपत्ति जनाएका छन् । हात्तीसार क्षेत्रमा रहेका २४ वटा घर तथा व्यापारिक फर्मले उच्च अदालत पाटनमा मुद्दा हालेर अल्पकालीन अन्तरिम आदेश समेत लिएका छन् ।

तर उच्च अदालतबाट ती क्षेत्रमा क्षति नपुराउन अल्पकालीन अन्तरिम आदेश आए पनि यो अदालतको फैसला नभएकाले निश्चित समयपछि ती क्षेत्रमा पुनः डोजर चल्न सक्ने सम्भावना छ । यही भयका कारण हात्तीसार क्षेत्रमा व्यापारिक भवन बनाएकादेखि लामो समयदेखि बसोबास गरिरहेका व्यक्तिहरू पनि आतङ्कित छन् ।

​बुधबार हात्तीसार क्षेत्रमा पुग्दा जय नेपाल हलको ठिक पछाडिपट्टि रहेको पुरानो घरमा रातोपाटी पुगेको थियो । २०२५ सालदेखि त्यस क्षेत्रमा बसिरहेका अरुणभक्त श्रेष्ठले महानगरले जानकारी समेत नदिई आफ्नो घरसँगैको पर्खालमा डोजर चलाएको भन्दै विरोध गरे । अरुणले रातोपाटीसँग भने, ‘हामी करिब ५० वर्षदेखि यहीँ बसोबास गरिरहेका छौँ । तर हामीले वर्षौँ पहिले नक्सा पास गरी, निर्माण सम्पन्न समेत लिई सम्पत्ति करसमेत तिरिरहेको स्थानमा किन एकाएक नियम विपरीत भन्दै डोजर चलाइयो ? यो त संविधानको मौलिक हक विपरीतको कार्य भएन र ?’

अरुणका अनुसार उनका बुवाले हात्तीसारको करिब एक रोपनी जग्गा २०२५ सालतिरै किनेका थिए । त्यसको केही वर्षमा त्यहाँ घर बनाएर उनीहरू वर्षौँदेखि त्यहाँ बसिरहेका छन् । आफूहरूले तत्कालीन समयमा जग्गा किन्दा त्यहाँ मुनी टुकुचा छ भन्ने पनि थाहा नभएको र थाहा भएपछि खोलामाथि संरचना पनि नबनाएको अरुणले बताए ।

हात्तीसार क्षेत्रमा भूमिगतरुपमा खोला बगेको भए पनि २०६४ सालभन्दा अगाडि खोला छोप्न पाइने हो कि होइन वा त्यसको सेटब्याक कति छोड्नुपर्ने हो भन्ने यकिन नै नभएको कारण २०६४ सालभन्दा अगाडि बनेका संरचनाका सम्बन्धमा प्रश्न उठाउन समेत नपाइने उनले बताए ।

अरुणले भने, ‘खोलासम्बन्धी मापदण्ड २०६४ मङ्सिर १ गतेबाट लागू भएको हो । खोला छोप्न नपाइने नियम पनि २०५२ सालबाट आएको भन्ने सुनेको छु । तर हात्तीसार क्षेत्रमा टुकुचा हामीले छोपेका होइनौँ । पहिले नै वीर शमशेरको पालामा गुम्बज बनाएर छोपिएको रहेछ । त्यतिबेलाको कानुनमा के थियो, तर अहिले नयाँ कानुन बनाएर हामीलाई पीडित र आतङ्कित बनाइएको छ । हाम्रै संरक्षक (मेयर)बाट हामीमाथि अन्याय भएको छ ।’

नापीकै अभिलेखमा छैन हात्तीसार क्षेत्रमा टुकुचा

काठमाडौँको हात्तीसार क्षेत्रको नापी २०३३ सालमा भएको थियो । २०३३ सालमा गैह्रीधारा क्षेत्र, नारायणहिटी दरबार र हात्तीसारको नापी गर्ने प्रमुख प्रमुख नापी अधिकृत थिए, राजेन्द्रप्रसाद मराठा । मराठाले गैह्रीधारा क्षेत्रमा टुकुचा खोलाको नापी गरेका छन्, नारायणहिटी दरबारभित्र पनि टुकुचा खोला देखाएका छन्, तर हात्तीसार क्षेत्रमा टुकुचा गायब पारिदिए । मराठाले नै गरेको नापीमा टुकुचा कमलादीमा पनि देखिएको छ, तर हात्तीसार क्षेत्रमा चाहिँ किन टुकुचा गायब पारे त तत्कालीन नापी अधिकृत मराठाले ?

यही विषयमा केही समय अगाडिको कुराकानीमा मराठाले भनेका थिए– २०२१ सालको नापीमै हात्तीसारमा टुकुचा देखाइएको थिएन । नापी अधिकृतले कहीँ खोला देख्ने कहीँ नदेख्ने कसरी हुनसक्छ भन्ने हाम्रो प्रश्नमा मराठाले भनेका थिए, ‘टुकुचा खोला भूमिगत मार्ग भएर बगिरहेको छ । हामीले नाप्ने भनेको सतहमा देखिएको मात्रै हो, सतह मुनि खोलाको दिशा कता छ भनेर नाप्न सक्ने कुरा भएन ।’

२०३३ सालपछि ती क्षेत्रमा नापी भएको छैन । तत्कालीन समयमा नापी कार्यालयले हात्तीसार क्षेत्रमा टुकुचा खोला नै नदेखाइदिएपछि ती क्षेत्रका जग्गामा पनि निजी जग्गा भनी लालपुर्जा प्रदान गरिएको छ । र, ती क्षेत्रमा जग्गाको कित्ताकाट, किनबेच हुँदै विभिन्न व्यक्ति तथा व्यापारिक समूहले ठुला भवनसमेत बनाएका छन् । २०६४ सालपछि बनेका अधिकांश व्यापारिक भवनको समेत नक्सा पास र निर्माणसम्पन्नको प्रमाण काठमाडौँ महानगरपालिकाले दिएको छ । तत्कालीन समयमा नापी कार्यालयले गरेको गल्तीलाई मालपोत कार्यालय र काठमाडौँ महानगरपालिकाले पनि साथ दिएको छ र हात्तीसार क्षेत्रमा टुकुचामाथि संरचना बनाउँदै त्यसलाई कानुनी मान्यता दिने काम काठमाडौँ महानगरपालिकाले गरेको छ ।

महानगरको कमजोरी समाउँदै अदालतमा मुद्दा

काठमाडौँ महानगरपालिका आफैँले नक्सा पास र निर्माणसम्पन्नको कागजातसमेत दिएको स्थानमा समेत महानगरपालिकाले टुकुचा खोलाको उत्खनन सुरु गरेको र संरचना भत्काएको भन्दै उच्च अदालत पाटनमा रिटसमेत दर्ता भई यतिबेला छलफलकै क्रममा छ ।

हात्तीसारका पुराना बासिन्दा अरुणभक्त श्रेष्ठ भन्छन्, ‘हामीले नक्सा पास गरायौँ, त्यतिबेला महानगरलाई समस्या भएन, निर्माण सम्पन्न लियौँ, त्यतिबेला समस्या भएन, हामीले बहाल कर र सम्पत्ति कर तिरिरहेका छौँ, त्यतिबेला पनि समस्या भएन । तर अहिले एकाएक कुन समस्या भएर हो, हाम्रो घरमा डोजर चल्यो र हामीलाई आतङ्कित बनाउने काम भयो ।’

महानगरले छलफल नै गरेन

जलवायु परिवर्तनका सम्बन्धमा पिएचडी गरेका स्थानीय अरुणभक्त श्रेष्ठका अनुसार महानगरपालिकाले उनीहरूसँग कुराकानी नै नगरी एकाएक डोजर ल्याएर संरचनामा क्षति पुराएको छ । आफूहरूसँग सल्लाह गरेको भए कुनै निकास निकाल्न सकिन्थ्यो कि भनेर छलफल समेत गर्न नपाएको भन्दै नयाँ कानुनले पुरानो निर्णयलाई विस्थापित गर्न नसक्ने उनले बताए । अरुणले भने, ‘महानगरले हामी सरोकारवालासँग छलफल नै गरेन । यो किन गरिँदै छ, त्यो पनि भनेन । टुकुचा उत्खनन गरेर अन्यत्रजस्तै ढल बगाउने हो कि के गर्ने हो त्यो पनि भनेन । हाम्रो संरचनामा क्षति पुराउँदा हामीलाई क्षतिपूर्ति दिने हो कि होइन ? के कति र कसरी दिने हो त्यो पनि केही जानकारी दिएको छैन । मात्रै आएर डोजर चलाएर टुकुचा खोज्ने काम मात्रै भएको छ ।’

महानगर भन्छ – क्षतिपूर्ति उपलब्ध हुन्छ

यता काठमाडौँ महानगरपालिकाले भने टुकुचा क्षेत्रमा बनेका संरचनामा डोजर चलाउँदा भएको क्षतिको क्षतिपूर्ति दिइने बताएको छ । काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाहका सचिवालयका एक सदस्य इञ्जिनियर सुनिल लम्सालले संरचना भत्काउँदा भएको क्षतिको क्षतिपूर्ति दिइने बताए । लम्सालले रातोपाटीसँग भने, ‘क्षतिपूर्ति नदिने भनेका छैनौँ, हामी उहाँहरूलाई क्षतिपूर्ति दिन्छौँ । क्षतिपूर्ति दिँदा भूमिसुधार मन्त्रालय लगायतसँग छलफल गरी सोही मन्त्रालय वा अन्तर मन्त्रालयबाट क्षतिपूर्ति उपलब्ध हुन्छ । तर खोला मिच्न पाइँदैन र त्यस क्षेत्रमा टुकुचा खोला खुला नै रहन्छ ।’

सुनिलले अगाडि भने, ‘अहिले भत्काएर त्यसै छाडिदिने हो कि भन्ने कतिपयको चिन्ता र चासो छ । तर त्यस्तो हुँदैन । ती क्षेत्रमा खोला खुला गरेपछि दायाँ बायाँ साइकल लेन र फुटपाथ बन्छ, मिल्ने स्थानमा रुखबिरुवा रोपेर सुन्दर बनाइन्छ । अनि सफा पानी बगाउने योजना हाम्रो छ । हाम्रो गुरुयोजना यसअघि नै हामीले सार्वजनिक गरिसकेका छौँ । खोला खुला गरेपछि डुबानको समस्या पनि केही समाधान हुन्छ ।’

टुकुचामा खोला बग्छ कि ढल ?

यता हात्तीसारका बासिन्दा अरुणभक्त श्रेष्ठको चिन्ता भने टुकुचा खोला खुला गरेपछि त्यहाँ बग्ने ढलका कारण गन्ध मात्रै फैलिने र त्यसले विभिन्न रोग निम्त्याउँछ भन्ने छ । उनले भने, ‘टुकुचा खुला गरेपछि पनि यहाँ सफा पानी बग्छ भन्ने के प्रमाण छ ? टुकुचा खोलाको जलाधारक्षेत्र कहाँ हो ? के अहिले पनि जलाधार क्षेत्रबाट पानी बगेको छ ? अहिलेको टुकुचामा बगेको भनेको ढल मात्रै हो । तर त्यही ढल बगाउनका लागि यसरी वर्षौँ पुरानो संरचना खुला गर्नुपर्ने हो त ?’

श्रेष्ठका अनुसार टुँडालदेवी आसपासबाट सुरु हुने टुकुचामा अहिले नियमित पानी बग्न सक्दैन । किनभने टुकुचाको जालाधारक्षेत्रमा धेरै संरचना बनेको कारण अहिले त्यहाँ पानीको मुहान वा पानी बग्ने अवस्था नै छैन । त्यहाँभन्दा तलका घरहरूले टुकुचा मै ढल मिसाएर बगाएको कारण टुकुचा खोलाजस्तो देखिएको हो । तर त्यो खोला नभएर अहिले ढल बगिरहेको श्रेष्ठले दाबी गरे । ढललाई पाइपमार्फत छोपेरै लाने भएकाले टुकुचा खोला वर्षौँ पहिले छोपिँदा केही समस्या नभएको श्रेष्ठले बताए ।

महानगर भन्छ, ‘ढलको छुट्टै व्यवस्था हुन्छ’

यता महानगरपालिकाका सचिवालय सदस्य सुनिल लम्साल भने महानगरपालिकाले टुकुचा खोला खुला गरेपछि त्यहाँ ढल होइन सफा पानी नै बगाउने दाबी गर्छन् । सुनिलले रातोपाटीसँग भने, ‘अब टुकुचामा ढल मिसिँदैन । हामी ढल व्यवस्थापनको लागि छुट्टै व्यवस्था गर्छौ र थापाथलीमा ट्रिटमेण्ट प्लाण्ट बनाएर मात्रै बागमतीमा ढल मिसाउँछौँ । टुकुचामा हामी सफा पानी नै बगाउँछौँ । मेलम्ची आएपछि काठमाडौँमा पानीको स्रोतबाट थप पानी आउन थाल्छन् र टुकुचामा हामी सफा पानी नै बगाउँछौँ ।’

प्रतिकृय

प्रतिकृय