‘राष्ट्रिय स्वतन्त्र पार्टी त्यसै सरकारमा जाँदैन’

मंसिर ४ को संसदीय निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो प्रयासमै प्रतिनिधिसभामा चौथो शक्तिका रुपमा स्थापित हुन सफल भयो । नयाँ पार्टी, त्यसमा पनि बलियो संगठनसमेत नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी कार्यदिशा र एजेण्डा कस्तो होला ? सत्तामा जाला या प्रतिपक्षमा बस्ला भन्नेलगायतका अनेकौँ प्रश्न र चासो छन् । यही सेरोफेरोमा केन्द्रित रहेर काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सो पार्टीका नेता निर्वाचित विराजभक्त श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाई भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नतिजा अपेक्षित थियो कि अनपेक्षित  ?

मैले कसिस गरेँ । कसैले न कसैले कोसिस गर्नै पर्ने थियो । सफल हुने वा असफल हुने निश्चित थिएन । अब हामीले कोसिस नगरेर हुँदैन भन्ने भयो । त्यसमा महत्त्व दिएर मतदाताले अनुमोदन गर्नु भयो । अब जिम्मेवारी पाएको छु, त्यसलाई कुशलतापूर्वक पूरा गर्न लाग्छु ।

तपाईका प्रतिस्पर्धीका रुपमा संघीय सरकारका पर्यटनमन्त्री नै हुनुहुन्थ्यो । उता एमाले जस्तो बलियो पार्टीका उम्मेदवार पनि थिए । जित्न गाह्रो हुन्छ भन्ने लागेन ?

यो जित हार भन्दा पनि मान्छेहरूमा आक्रोस थियो । जनताले सम्भावनाको खोजी गरिरहनु भएको थियो । त्यसलाई मेरो उम्मेदवारीमा अभिव्यक्त गरेर अनुमोदन गर्नु भयो । लागेपछि सफल भइन्छ ।

चुनाव लड्छु, जिते जितिहालियो, नजिते पनि ठिकै छ भन्ने थियो कि ? 

तपाईले भनेको जस्तो पनि होइन । म यही ठाउँमै जन्मे हुर्केको हुँ । यसको भाषा, संस्कृति, सभ्यता र त्यहाँका आवश्यकतालाई राम्रैसँग बुझ्न सक्छु । यो क्षेत्रमा बसोबास गर्ने सबै दाजुभाइ इष्टमित्र छन् । मैले उहाँहरूको दायित्व राजनीतिमा नलाग्दा पनि बोक्दै हिँडेको हो । बुबा निर्वाचित वडा अध्यक्ष हुनुहुन्थ्यो । पहिलेदेखि नै परिवार समाजसेवामा लागेको थियो । स्वास्थ्य चौकीदेखि विद्यालय, मठमन्दिर लगायत संरचना बनाउने काम गर्नुभएकै थियो । त्यसैको निरन्तरता स्वरुप मैले गर्नुपर्छ भनेर लागिरहेको छु ।

राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित संसदको चौथो पार्टी भइसक्यो । चुनाव सकियो, समीक्षा बैठक होला, समानुपातिक लिष्ट तयार गर्नु पर्ला । त्यसमा छलफल हुनुपर्ने हो । किन पार्टी चुपचाप भयो ?

कस्तो राम्रो लाग्यो मलाई । पुराना दल कुनै चौथो दल भएको भए कति भीडभाड हुने थियो होला ? कति समाचारका लागि मसला हुन्थ्यो होला ?  पार्टी सरल र शान्त तरिकाले गइरहेको छ । पुराना दलहरू सत्ता निर्माणमा व्यस्त छन् । सत्ताका लागि भागदौड छ । यही हो हाम्रोमा परिवर्तन । अब पुराना दल जस्तै हुनुपर्छ भन्ने छैन ।

नयाँ दल नै भनौँ भने एक सिट जितेको जनमत पार्टीको व्यापक चर्चा छ । फेरि नयाँ दल भएरमात्रै पुग्ने रहेनछ नि ?

मलाई ‘लर्निङ बाइ डुइङ’ जस्तो लाग्छ । हाम्रो पार्टी नयाँ पनि छ । अहिले हामी खुला किताबजस्तै छौं । तपाईँको जानकारीका लागि अस्ति भर्खरै पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचितहरुको अनौपचारिक भेला राख्नु भएको थियो । त्यहाँ हामीले परिचय समेत गरेका थियौं ।

सायद त्यो भेटघाट नै निर्वाचित सांसदहरुको पहिलो भेटघाट होला, हैन ?

हो त्यो भेटघाट हामी निर्वाचितहरुको पहिलो नै हो । सांसदहरुबीच राम्रो चिनजान थिएन । हामीलाई जानकारी भने थियो । को कहाँबाट उठ्नु भएको छ भन्ने विषयमा थाहा थियो । यसअघि एकाध ठाउँमा भेटे पनि राम्रोसँग साक्षात्कार निर्वाचित भएपछि नै भएको हो ।

पार्टी बैठकमा के के कुरा उठ्यो ? पार्टी यति धेरै ठूलो भयो, नसोचेको  भयो भन्ने कुरा उठेन ? 

अहिलेको समयमा हामीलाई मतदाताले ठिक्क सिट दिनु भएको छ । हामीलाई धेरै मात्ने गरी सिट दिनु भएको छैन । धेरै आत्तिने खालको   दिनु भएको छैन । जनताले विवेक प्रयोग गरेर मत दिनु भएको छ । हामीलाई मेहनत गर्ने ठाउँसम्म पु-याउनु भएको छ । हामीलाई मेहनत गरेर अघि बढ्नुहोला भनेर आशीर्वाद दिनु भएको छ ।

कांग्रेस, एमाले, माओवादीका नेताहरुले तपाईहरुको सिटलाई हामीप्रति असन्तुष्ट भएर जनताले मत दिएका छन् । यो राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको सिट खहरे भेल हो । अबको ५ वर्षमा सुकेर जान्छ भन्ने गरी टिप्पणी गरेका छन्, वास्तविकता यही हो त ?

उहाँहरूले आफ्नो अकर्मण्यतालाई छोप्न यस्तो खालको अभिव्यक्ति दिइरहनु भएको छ । यदि पुराना दलहरुले राम्रो गरेको भए । हामी आउने थिएनौँ । सायद आउने अवस्था पनि हुने थिएन । यो हामीप्रतिको प्रतिक्रिया भन्दा पनि आफूले आफूलाई आफ्नो अकर्मण्यता स्वीकार गरेको जस्तो लाग्छ ।

के पुराना दलभन्दा राम्रो गर्छौं भन्ने छलफल बहसहरु भएका छन् ?

अस्ति बैठक भयो । एक अर्कासँग साक्षात्कार हुने मौका मिल्यो । एक अर्कालाई चिन्ने अवसर भयो । अब समानुपातिक लिष्ट केन्द्रीय समितिबाट अनुमोदन गरेर पठाउने भन्ने छ । बैठकमा एउटा प्रोसेसको कुरामात्रै भयो । निर्वाचित भइसकेपछि के के हुन्छ ? भन्ने विषयमा जानकारी भयो ।

संसदमा छिरेपछि के के गर्नुपर्छ भन्ने विषयमा ब्रिफिङ भएको हो ?

हो । त्यही विषयमै छलफल भयो ।

तपाईँका पार्टीबाट चुनाव जितेका सभापति रवि लामिछाने नै सांसद भइसके पनि यसो युट्युवहरु लिएर किसानलाई मल नभएको, बाटो किन बनेन भनेर सडकमा जाने, यो बाटो किन बनेन, यो काम किन ढिला भयो भन्न थाल्नु भएको छ । खास सांसदले त नीति निर्माणमा भूमिका निर्वाह गर्ने होला । सस्तो लोकप्रियताका लागि युट्यवहरुलाई बोलाएर यस्ता गतिविधि गर्नु सांसदको जिम्मेवारी हो र ?

अब चुनावबाट फ्रेसनेस आयो । निर्वाचित भइसकेपछि मेरो क्षेत्रका लागि केही गर्नुपर्छ भन्ने आत्मबोध भएर गरेको हुन सक्छ । त्यसका लागि राज्यको तल्लो निकायको नसा छाम्छु भनेर गरेको हुन सक्छ । यो राम्रै प्रयास हो । भोलि संसदमा जानुभयो भने अझ सशक्त भएर आवाज उठाउन सजिलो हुन्छ । अहिले साथीहरु अभ्यासरत हुनुहुन्छ । पछि साथीहरु परिस्कृत हुँदै जानुहुन्छ ।

त्यसरी तत्लो तहका कर्मचारीलाई थर्काएर मात्र काम बन्ने हो र ?

सबै देशको सिस्टम विधिसम्मत र नियमसम्मत चलेको भए यस्तो हुने थिएन । एउटा बाटो सातौं वर्षसम्म नबन्दा नागरिकहरुले जुन धुलोधुँवा खाएर बिरामी हुनु परेको छ, त्यसलाई तत्काल बनाउनुपर्छ भनेर एक्सनमा जानु नराम्रो होइन । यदि हामी यसरी समस्या उठाएर स्थलगत रुपमा नगएको भए हामी पनि पुरानै दलका प्रतिनिधिजस्तै भइहाल्थ्यौं । हाम्रो साथीहरुले हिँड्दा देखिरहनु भएको बेथिति तत्काल उठाउनु दायित्व हो । नियमसम्मत रुपमा हुनुपर्ने काम किन भएन भन्ने खोज्नु स्वाभाविक हो ।

फेरि कतिपयले यस्ता कामहरु नीतिगत रुपमा व्यवस्था गरेमा समाधान भइहाल्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सस्तो लोकप्रियता कमाउन यस्तो गरेका भन्ने टिप्पणी छ नि ?

हाम्रो देश तिसौं वर्षसम्म राजनीतिक नेतृत्वको अकर्मण्यताले गर्दा प्राथमिकीककरण हुन सकेन । कुन काम तत्काल गर्ने हो ? कुन काम दीर्घकालीन समय लगाएर गर्ने हो भन्ने विषयमा प्राथमिकता भएन, त्यसैले हामीले दुःख पाइरहेका छौं । यो काठमाडौंको धुलोधुँवा सबै नागरिकले भोगेको साझा समस्या हो । अझ यसमा सशक्त भएर काम गर्न बरु शुभकामना दिन चाहन्छु ।

राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी भइसकेको छ । यस पार्टीको कार्यदिशा र कार्यक्रम के हुन्छ ? यो पार्टी सरकारमा जान्छ कि जाँदैन ?

संसार अहिले ‘ओपन सोर्स’मा छ । यहाँ जाने, त्यहाँ जाने कार्यदिशा भन्दा पनि आमजनताले के सोचेका छन् ? कस्तो खालको आवश्यकता छ भन्ने कुरालाई ध्यान दिनुपर्छ । हामी यी सबै विकसित घटनाक्रमकै बीचमा छौं । हाम्रो पार्टीका महामन्त्री र प्रवक्ताले अस्ति राम्रो कुरा राख्नुभयो । सबै मुद्दाहरुलाई एक ठाउँमा ल्याएर काम गरेमा सबै गर्न सकिन्छ भन्ने छ ।

सरकार बन्न नसक्ने अवस्थामा देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन भन्ने छ । सरकारमा जाने सम्भावना पनि छ । त्यस विषयमा पार्टीभित्रकै छलफलले टुङ्गो लगाउँछ ।

सत्तारुढ गठबन्धनकै सरकार बन्ने देखिन्छ । यस्तो अवस्थामा तपाईहरु सरकारमा जानुहुन्छ ?

हामीलाई नागरिकले दिएको म्यान्डेट प्रतिपक्ष नै हो । यसमा स्पष्ट छ । यदि हामी सरकारमा सहभागी नभए सरकार गठन नै हुन सक्दैन भने त्यो अवस्थामा हामीले रोकेर राख्नु भएन । त्यस्तो अवस्थामा सरकारमा जानुपर्छ । हामी त्यसै सरकारमा जाँदैनौं । हामीसँग केही सर्त छन् ।

कस्ता खालका सर्त हुन् ?

हामीले घोषणापत्रमा उठाएका कुराहरु सम्बोधन हुन्छ कि हुँदैन ? यति धेरै भ्रष्टाचारका कुरा छन् । ती विषयमा के हुन्छन् ? मुलुकमा सुशासन हुन नसकेको अवस्थामा के कसरी गर्न सकिन्छ ? मेरो तर्फबाट भन्दा वातावरणका मुद्दाहरु छन् । यस्ता खालका विविध सर्त राखेरमात्रै सरकारमा जान्छौं । तर पद पाउनका लागि मात्रै सरकारमा जाने भन्ने हुँदैन ।

यो पार्टी अब कस्तो बन्छ ? कम्युनिस्ट हुन्छ कि लोकतान्त्रिक पार्टी बन्छ ?

खास यो पार्टी लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पार्टी नै बन्छ । हाम्रो संविधानले समाजवाद उन्मुख भनेको हुनाले सोसल डेमोक्रेसी खालको बनाउनुपर्छ भन्ने पनि कुरा छन् । यो पार्टी गतिशील माध्यमार्गी हुने छ । हाम्रा साथीहरु सबै इमानदार छन् । कुन कुरामा लेफ्ट हुने, कुन कुरामा राईटिस्ट हुनुपर्छ भन्ने कुरामा स्पष्ट हुनुहुन्छ । दुवैलाई सन्तुलनमा ल्याउनु भनेको मध्यमार्गी पार्टी हो ।

कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायत दलहरुबाट आएका नेता–कार्यकर्ता रहेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी खिचडी जस्तै बन्न पुगेको छ । यो पार्टी अब यस्तै यस्तै रुपमा रुमलिन्छ भन्ने टिप्पणी आइरहेका छन् नि ?

सबै विचार एक ठाउँमा केन्द्रित हुनु झन् राम्रो भयो । कांग्रेसमा कांग्रेसी विचार मात्रै हुने भयो । लेफ्टमा लेफ्ट मात्रै हुने भयो । हाम्रो पार्टीमा सबै खालका विचार हुने भएपछि झन् राम्रो भएन ?

यसरी विविध विचार एक ठाउँमा केन्द्रित हुँदा सम्हाल्न नसकेपछि चारैतिर छरिने पनि हुन सक्छ नि, हैन ?

सबै विचारलाई सम्बोधन गर्ने पार्टी बन्यो भने झन् राम्रो हुन्छ । त्यसपछि नेपाललाई चाहिने विचार पनि जन्मिन सक्छ । यसलाई दुवै पाटोबाट हेर्न सकिन्छ ।

मैले इमानदार भएर भन्नु पर्छ । पार्टी निर्माणका विषयमा मलाई धेरै जानकारी छैन । मैले साथीहरुलाई भेट्दा, कुरा गर्दा जे जति बुझेँ त्यहीमात्रै हो । यो पार्टी लेफ्ट वा डेमोक्रेटिक भन्ने खालको डिबेटमा छैन । अब देशमा डेलिभरी कसरी छिटो छरितो दिने भन्ने प्रमुख मुद्दा हो ।

अब हामीले अर्को चुनावमा बहुमतको सरकार बनाउने अवस्थामा पार्टीलाई कसरी पु-याउनुपर्छ, त्यसमा सम्पूर्ण पार्टीको ध्यान केन्द्रित गराउनुपर्छ भन्ने छ । यसमा सबै स्पष्ट हुनुपर्छ ।

यो मौकामा मन्त्री हुन पाए हुन्थ्यो भन्ने लागेको छैन ?

लाग्या छैन । हामीले कल्पना गरेको हरेक नागरिक मन्त्रीसरह सशक्त हुनुपर्छ भन्ने छ । म यसअघि प्रदेशसभा सांसद थिएँ । त्यतिबेला मन्त्रीका लागि अफर समेत आएको थियो ।

गणतन्त्र, संघीयता, समानुपातिक समावेशी र धर्मनिरपेक्षता लगायतमा तपाईहरुको एजेण्डा के हुन्छ ?

यसमा तपाईले महत्वपूर्ण प्रश्न राख्नुभयो । यस विषयमा मलाई पनि चिन्ता थियो । अस्तिको बैठकमा सभापतिज्यूले संघीयता खारेजी हाम्रो मुद्दा होइन भन्नु भएको छ ।

तर प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले किन उम्मेदवारी नदिएको त ?  

हामीले पार्टी बनाएको ५ महिना मात्रै भयो । चुनावी तयारीमा स्रोत साधनसमेत पुगेन । अब यी सबै विषय केन्द्रीय समितिमा छलफलको विषय हुन्छ जस्तो लाग्छ । पार्टीको सर्वेसर्वा भनेको केन्द्रीय समिति हो । त्यहाँ छलफल हुन बाँकी छ । पार्टीमा भएका विभिन्न विचारलाई छलफलमा ल्याउनु पर्ने छ । त्यसपछि लोकतान्त्रिक पद्धतिबाट विस्तारै निर्णय हुँदै जाने हुन सक्छ । आम नागरिकका मुद्दा के हुन् ? त्यसलाई पार्टीले कसरी अघि बढाउँछ भन्ने महत्वपूर्ण प्रश्न हो । यस्ता विषयमा जति संवादहरु भए, त्यति नै परिस्कृत हुँदै जान्छ जस्तो लाग्छ ।

त्यसो भए परिवर्तनका जति पनि मुद्दा छन्, ती मुद्दाहरूलाई यथावत राखेर अगाडि बढ्ने हो ?

अग्रगामी, पश्चगामीको कुरा आउँछ । मैले चाहिँ के भन्छु भने हामीले चाहेर वा नचाहेर राम्रो नराम्रो भन्या होइन कि यो व्यवस्था एकदम आर्थिक भार धेरै भएर रगत पसिना भएर आइसकेको छ । यसलाई देशको आर्थिक अवस्थाले धान्न सक्छ कि सक्दैन भन्ने हो । मैले जहिले पनि भन्छु । नेपालमा मान्छे नै छैनन् । टोलटोल खाली भइसक्यो, गाउँगाउँ खाली भइसक्यो । अब उहाँहरूलाई यहाँ कसरी राख्ने भनेर त्यसको मेकानिज्मि बनाउनु हाम्रो प्राथमिकता हो ।

त्यो के हुन सक्छ त त्यसो भए ?

त्यो के हुन सक्छ भने भ्रष्टाचार हुनु भएन । अर्बौं खर्बौंको भ्रष्टाचारका मुद्दा बाहिर आइरहेको छ । यहीँ उद्यम गर्ने माहोल हुनुपर्‍यो, युवा उद्यमीहरूलाई त्यो खालको माहोल बनाउन सक्नुपर्‍यो । मान्छे प्लस टु सक्दा नसक्दै विदेश जान खोज्छन् ।

कतिपयले त्यत्रो सेना, जनमतसहित आएको माओवादीले रूपान्तरण गर्न नसकेर फेरि त्यही कांग्रेस एमालेजस्तो भयो भनिरहेका छन्, यस्तो अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी सक्ला र भन्ने प्रश्न पनि छ नि ?

धन्न एउटा कुरा के राम्रो भन्दा, हामीले नेपाल बन्द गरेर ढुंगा हानेर, भनौं न एउटा हिंसात्मक गतिविधि गरेर आएका छैनौं । मेरो विचारमा त्यो नै नेपालीहरूले अहिले चाहिरहेको कुरा जस्तो लाग्छ । अशान्ति भएर कति नेपाली पलायन भए ? देशलाई सम्झेर एक पटक सम्झिउँ त ?

त्यो विगतलाई धेरै कोट्याएर कसैलाई केही भन्नुभन्दा अगाडि कसरी हेर्ने भन्ने कुरा प्रमुख हो । माओवादी त्यो हुनुको कारण हामीलाई एउटा सुविधा छ । अब हामीले के गर्दा हुन्छ र के गर्नु हुन्न भनेर अरू दलबाट सिक्न पाएका छौं । ती दलहरू कसरी कहाँबाट कहाँ पुगे ? दुई तिहाईकै सरकार गल्र्यामगुर्लुम कहाँ पुग्यो ? देख्यौैं । के गर्नुहुन्न भनेर पनि देख्यौ । हामीले त छलफललाई प्राथमिकतामा राखेका छौं । के गर्ने भनेर अब छलफलले टुङ्ग्याउँछ ।

परिवर्तन ल्याउन ठूला दलहरूको भूमिका रह्यो । त्यही परिवर्तनको फाइदा उठाएर राष्ट्रिय स्वतन्त्र पार्टी उदायो, कस्तो अनुभूति भयो ?

बिग्रेको भन्दा पनि पुराना दलमा पनि राम्रा मान्छे धेरै छन् । मैले त झन् प्रदेशसभामा राम्रोसँग संगत नै गर्न पाएँ । साथीहरूसँग आत्मीयता नै भयो । पुराना दलहरू बिग्रिएको होइन, त्यहाँको सिद्धान्त त नराम्रो होइन नि । तर, ५ प्रतिशत खराब मान्छेहरूले ९५ प्रतिशत शासन गरेर यो अवस्था आएको हो ।

यो पाली खुसीको कुरा के छ भने काठमाडौंमा ती ठूला दलहरूको ग्रासरूट संगठन भताभुंग नै भएको छ । अब चाहिँ जनभावना कस्तो भयो भन्दा पार्टी बनाउने कि देश बनाउने भन्ने भयो । अब देश बचाउने भन्ने चिन्ता बढी आयो । धेरै दलका पुराना साथीहरूले पनि अहिले बुझ्नुभएको छ । ए हाम्रो सिद्धान्त यहाँनेर काम लाग्दोरहेछ भनेर बुझ्नुभएको छ । त्यसैले चेन्ज आइरहेको छ ।

चुनाव जितिसकेपछि अहिले के के काममा व्यस्त हुनुहुन्छ ?

यो चाहिँ एकदमै रमाइलो लागिरहेको छ । उम्मेदवारी दिएपछि मैले हाम्रो समाजलाई एकदम नजिकबाट चिन्ने मौका पाएँ । पहिला उम्मेदवारी दिएर समाजभित्रको सामान्य समस्याबारे जानकार थिएँ । निर्वाचित भएपछि म जहाँजहाँ धन्यवाद दिन गइरहेको छु, त्यहाँबाट केही सुझाव पनि लिइरहेको छु । यसले मलाई एकदमै बढी जिम्मेवार र विनम्र बनाएको छ । हाम्रो त संगठन केही पनि छैन । अहिले उहाँहरूले हामी नै तपाईको संगठन भन्दै हुनुहुन्छ । जनसंगठन जस्तो संगठनबाहेक त केही पनि होइन । जनताबाट त्यस्तो खालको प्रतिक्रिया आइरहेको छ । निर्वाचित भएपछि घरघर पस्न पाइरहेको छु, भान्साभान्सा पस्न पाइरहेको छु ।

उहाँहरूले के कुरालाई फोकस गर्नु भन्नुभएको छ ?

उहाँहरूले सुशासनलाई नै फोकस गर्नुहोस् भन्ने सुझाव दिइरहनु भएको छ । सानोतिनो कामको लागि पनि कति दुःख पाएको, मेलम्ची आउँछ भन्या २२ वर्ष भयो । पानी अहिलेसम्म खान पाएका छैनन् । आधारभूत कुरामै अड्किएर बस्या छौं । यो सबै कुराको जड चाहिँ कुशासन हो भन्ने कुरा छ । यहाँको ढल, पानीको कुरामा दुःख दिन्नौं । यो कुरा हामी वडा तथा सम्बन्धित निकायमा भन्छौं । तर, तिमीले चाहिँ रोष्टममा गएर सुशासनको पक्षमा बोल्नुपर्छ । तिमीले वडा र प्रदेशले गर्ने काम होइन । संसद्मा गएर संसदीय भूमिकामा हामीलाई समेत गर्व गर्न लायक काम गर्नुपर्छ भन्नुभएको छ ।

त्यसो भए संसदमा गएर अरू सांसदभन्दा तपाईको भूमिका के फरक हुन्छ ?

सुशासन, वातावरण, पर्यावरणको कुराहरु हुन्छन् । किनभने कतिले यो कुरालाई पहिलेदेखि नै नजरअन्दाज गर्नुभएको छ । जलवायु परिवर्तनको असरको रेड जोनमा नेपाल पर्छ । त्यसपछि माल्दिभ्स पर्छ । माल्दिभ्स भन्ने देश समुन्द्रमा डुब्दैछ । हाम्रो देशमा पनि थुप्रै खालको असर देखिरहेको छ । काठमाडौंको जमिनमुनीको पानी २५ वर्षमा सुक्दैछ । मधेसका कति ठाउँहरू मरुभूमिकरण हुँदैछन् । त्यसैले मैले जलवायु परिवर्तन र पर्यावरणको कुरालाई जोड दिन्छु ।

भ्रष्टाचारका पुराना मुद्दाहरू पनि धेरै छन्, । अर्को कुरा कर्मचारीतन्त्रको मनोविज्ञानका कुराहरु छन् ।

कर्मचारीको मनोविज्ञान परिवर्तन गर्न निक्कै गाह्रो होला नि ?

त्यही त निकै गाह्रो छ भनेर बस्यो भने चेन्ज हुँदैन । चेन्ज गर्नुपर्छ भन्नुपर्‍यो । नीतिगत रूपमा व्यवस्था छैन भन्ने भयो भने केही हुँदैन ।

 

प्रतिकृय

प्रतिकृय