जनस्वास्थ्यमा कडा चुनौती बन्दैछ मानसिक समस्या

१३ माघ, काठमाडौं । एकातिर व्यक्तिको तीव्र महत्वाकांक्षा,अर्कातिर त्यसलाई पूरा गर्ने सरकार र समाजको सीमित सामर्थ्य- यो अवस्थाको परिणाम विकराल समस्याका रूपमा प्रकट हुँदैछ । इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहसँगै हाम्रो समाजको यो भयावह पाटो उजागर भएको छ ।

मृत्यु ढिलोचाँडो निश्चित भए पनि जटिल रोगसँग भिडेर समेत आफ्नो आयु लम्ब्याउन मरिमेट्ने प्राणी हो मानिस । र पनि, कोही मानिस आफ्नो जीवन सिध्याउन उद्यत हुन्छन् । त्यस्ता अकाल मृत्युहरूमा समाजभित्र गुम्सिरहेका समस्या प्रकट भइरहेका हुन्छन् । मंगलबार नयाँबानेश्वरको संसद भवन अगाडि इलामका ३७ वषर्ीय प्रेमप्रसाद आचार्यले आफैंमाथि आगो लगाएर गरेको मृत्युवरणले पनि त्यही देखाएको छ ।

उनी एउटा दृष्टान्त मात्र हुन् । नेपालमा हरेक दिन १५ देखि १८ जनाले आत्महत्या गरिरहेको विभिन्न अध्ययनले देखाएका छन् । अध्ययनअनुसार, एक जना मानिसले आत्महत्या गर्दा अन्य २० जना आत्महत्याको कोसिस गरिरहेका हुन्छन् ।

जीवनप्रति नै वितृष्णा उत्पन्न हुँदा मानिस आत्महत्यातर्फ उन्मुख हुन्छ । आत्महत्याको धेरै जस्तो कारण मानसिक रोगसँग जोडिएको हुन्छ । सामाजिक, आर्थिक, पारिवारिक लगायत बहुआयामिक पक्ष आत्महत्यासँग जोडिन्छ ।

‘अहिले आत्महत्या जनस्वास्थ्यमा ठूलो चुनौतीको रूपमा देखिएको छ’ वरिष्ठ मनोचिकित्सक डा. सरोज वझा भन्छन्, ‘आत्महत्याको तथ्यांक हेर्दा २० देखि ४० वर्षसम्मको हिस्सा ठूलो देखिन्छ । यो त धेरै उत्पादनशील उमेर समूह हो ।’

वंशाणुगत, मनोवैज्ञानिक र सामाजिक कारणले मानिसमा मानसिक समस्या सिर्जना हुने गर्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार ९५ प्रतिशत आत्महत्या मानसिक समस्यासँग जोडिएका हुन्छन् । आर्थिक, सामाजिक, पारिवारिक, व्यक्तिगतलगायत तनावले कडा डिप्रेसन भएपछि मान्छेले आत्महत्याको बाटो रोज्ने डा. वझा बताउँछन् ।

आजभोलि मानिसको तनावपूर्ण जीवन नै मानसिक रोगको मुख्य कारण बनेको छ । ‘आफूमा आएको तनाव वहन गर्न नसकेको अवस्थामा कतिपय मानिस मानसिक रोगको सिकार बन्न पुग्छन्’ डा. वझा भन्छन्, ‘प्रेम आचार्यमा पनि त्यही भएको देखियो । आफूलाई कमजोर भएको ठान्ने, बाँचेर पनि केही हुँदैन, भविष्यमा पनि केही हुनेवाला छैन भन्ने सोच बलियो भएपछि आत्महत्या हुन्छ ।’

मनोचिकित्सक गृष्मा पनेरुका अनुसार, मानिसमा महत्वाकांक्षा हुन्छ । काममा सफलता नपाउँदा आफ्नो जीवनलाई मूल्यहीन ठान्न पुग्छ । बाँच्नुपर्ने कारण र मर्ने कारण तौलिन थालेपछि आत्महत्या हुनसक्ने उनी बताउँछिन् ।

आत्महत्याको समाचार लेख्दा पनि ख्याल गर्नुपर्ने मनोचिकित्सकहरूको भनाइ छ । यसमा व्यक्तिको गोपनीयता कायम राख्नुका साथै कुन परिस्थितिमा कसरी आत्महत्या गरेको भन्ने कुरा खुलाउनुहुँदैन । आत्महत्या गर्ने व्यक्तिको तस्वीर पनि सार्वजनिक गर्नुहुँदैन

अहिले युवापुस्तामा मानसिक समस्या व्यापक रूपमा बढ्दै जानुका विभिन्न कारणमध्ये वैदेशिक रोजगारी एउटा प्रमुख कारण हो । साथै, बेरोजगारीका कारण सिर्जना भएको आर्थिक अभाव पनि मानसिक रोगको अर्को महत्वपूर्ण कारण हो । राजनीतिक अस्थिरता जस्ता विभिन्न सामाजिक कारणले हाल नेपालमा युवा मानसिक रोगीको संख्या बढ्दै गएको छ । अल्कोहल, लागूऔषधको अत्यधिक सेवनका कारण पनि युवापुस्तामा मानसिक रोगीको संख्या बढ्दै गएको हो ।

आत्महत्याको बहुआयामिक पक्ष हुन्छ । सबै आत्महत्या आवेगमा मात्र हुँदैन । केही योजनाबद्ध हुन्छन् । त्रिवि शिक्षण अस्पतालका डा. सगुनबल्लभ पन्तका अनुसार आवेगमा हुने आत्महत्या मिनेट, घण्टादेखि एक दिनभित्रमा हुन सक्छ । योजनाबद्ध आत्महत्या भने दिन, हप्ता र महिनौंसम्म योजना बनाएर हुन्छ ।

‘उहाँ (प्रेम आचार्य)ले चार-पाँच पेजको सुसाइड नोट लेख्नुभएको रहेछ । केही समयदेखि डिप्रेसनको अवस्था भएर नियोजित हिसाबमा आत्महत्या गर्नुभएको देखिन्छ’ डा. पन्तले भने, ‘योजनाबद्ध आत्महत्या उपचार नभएको डिप्रेसनसँग सम्बन्धित हुन्छन् ।’

उनका अनुसार, आफूलाई सिध्याउने सोचको अवधि यति नै हुन्छ भन्ने हुँदैन । त्यो कुरा व्यक्तिको व्यक्तित्व, मनोसामाजिक अवस्था र जीवनशैलीले निर्धारण गर्छ । ‘आफू बितेपछि परिवारको बिचल्ली नहोस् भनेर सम्पत्ति नामसारी गरिदिने, छोराछोरी कसैको जिम्मा लगाइदिने, कारोबारका कुराहरू सुसाइड नोटमा लेखेर छोड्नेले योजनाबद्ध आत्महत्या गरेको मानिन्छ’, डा. पन्तले थप्छन् ।

आत्महत्या गर्नु अगाडिका संकेत

मनोचिकित्सकहरूका अनुसार आत्महत्या गरेका हरेक १० मध्ये ८ जनाले त्यसअघि कुनै न कुनै माध्यमबाट संकेत दिएका हुन्छन् । कसैले आत्महत्याबारे कुरा गरे, तरिकाहरूबारे सोधखोज गरे गम्भीर भइहाल्नुपर्ने डा. वझा बताउँछन् । उनी भन्छन्, ‘त्यस्तो बेला नजिकका मानिसले महत्व नदिए परिणाम दुःखद हुनसक्छ ।’

वझाका अनुसार आत्महत्या गर्नेले मन मिल्ने साथी, आफ्नो श्रीमान्, श्रीमती, परिवारसँग कुनै न कुनै रूपमा त्यसको संकेत गरेका हुन्छन् । त्यस्तो बेला गम्भीरतापूर्वक सुनेर, सहयोगी वातावरण बनाएर उसलाई त्यसबाट रोक्न सकिन्छ ।

‘नैराश्यको कुरालाई हाँसोमा नउडाई वा नरिसाई राम्ररी सुनिदिएर पनि राहत महसुस गराउन सकिन्छ’ डा. वझा भन्छन्, ‘परिवार, साथीभाइको ढाडसले मात्र पनि मानिसलाई आत्महत्याबाट जोगाउँछ ।’

सबै समस्याको बाबजुद जीवन बाँच्नुपर्ने कारणहरू देखाउन र महसुस गराउन काउन्सिलिङ वा उपचार नै पनि आवश्यक पर्ने उनले बताए । उनका अनुसार, आत्महत्याको ९० प्रतिशत सोच उपचार नगरेको मानसिक रोगका कारणले हुन्छ ।

कुनै परिवारको सदस्यमा मनोरोगका लक्षण देखिए कोठामा एक्लै बस्न नदिने, उसको व्यवहारलाई नजिकबाट नियाल्ने, डोरी, विषादी वा धारिलो हतियार आदिबाट टाढा राख्ने कुराले पनि केही हदसम्म आत्महत्याका अप्रिय घटना रोकथाम गर्न सकिन्छ ।

आत्महत्याको समाचार लेख्दा पनि ख्याल गर्नुपर्ने मनोचिकित्सकहरूको भनाइ छ । यसमा व्यक्तिको गोपनीयता कायम राख्नुका साथै कुन परिस्थितिमा कसरी आत्महत्या गरेको भन्ने कुरा खुलाउनुहुँदैन । आत्महत्या गर्ने व्यक्तिको तस्वीर पनि सार्वजनिक गर्नुहुँदैन ।

मनोचिकित्सकहरू आत्महत्याका समाचारको रिपोर्टिङ तथा सम्प्रेषणमा मिडिया संवेदनशील र उत्तरदायी जरूरी हुने बताउँछन् । ‘अरूमा पनि गहिरो मनोवैज्ञानिक असर पार्न सक्ने हुनाले सुसाइड नोट सार्वजनिक गर्नुहुँदैन’ डा. पन्त भन्छन्, ‘मर्नेको घरपरिवारको गोपनीयता कायम राख्नुपर्छ र आत्महत्या गरेको परिस्थितिबारे विस्तृतमा खुलाउन हुँदैन ।’

कसैले पटक-पटक निराशावादी कुरा गरिरहे, आत्महत्याको सोच पलाए वा त्यस्तो सोच विकास भएको संकेत पाए तत्काल ११६६ नम्बरमा फोन गरेर परामर्श लिन सकिने जानकारी उनले दिए । ‘एक कल फोनले सम्भावित ठूलो दुर्घटना रोक्न सक्छ । समस्या परे भनौं, जीवनलाई निराशामा नफालौं’ डा. वझाले भने ।

प्रतिकृय

प्रतिकृय