स्वास्थ्य राज्यमन्त्री कार्कीको स्पष्टीकरण- राज्य छ भन्ने अनुभूति दिलाउन प्रेमलाई भेटें

१३ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई राज्य छ भन्ने अनुभूति दिलाउनका लागि आफू आईसीयूमै भेट्न गएको स्पष्टीकरण दिएकी छिन् ।

शुक्रबार बिहान फेसबुक सन्देशमार्फत सार्वजनिक गरिएको स्पष्टीकरणमा अस्पताल पुगेर मृत्युअघि आचार्यलाई भेटेर गल्ती नगरेको तर्क उनले गरेकी छन् ।

मृत्युसँग संघर्ष गरिरहेका बिरामीलाई आईसीयू प्रोटोकलविपरीत भेटेको भन्दै उनको आलोचना भइरहेको छ ।

डा. कार्कीले ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै समयमै गएर भेटेको भन्दै सन्तोष व्यक्त गरेकी छिन् । ‘राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरिकलाई ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै उनका आँखाहरू सधैंका लागि बन्द हुनु अगावै, उनका बोलि सधैंको लागि रोकिनु अगावै, म उहाँलाई भेट्न पुगेको थिएँ । भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ । धन्न मैले ढिला गरिनछु …,’ उनले लेखेकी छन् ।

आईसीयू प्रवेश गर्नुअघि आफूले सबै प्रोटोकल पूरा गरेको उनको दाबी छ । ‘म आफू नै जनरल सर्जन हुँ जो विगतमा बर्न सम्बन्धीकै बिरामीहरू पनि हेर्ने गरेको छु,’ उनले लेखेकी छन्, ‘८० प्रतिशतभन्दा धरै जलन भएर बाँच्न सक्ने अवस्था न्यून भएको बिरामीलाई त्यसबेला मैले दिन सक्ने केही थिएन, मेरो हातमा केही थिएन, मात्र थोरै मेरो तर्फबाट मायाको स्पर्श, आत्मियता र अन्तिम घडीमै भए पनि थोरै आत्मबल ।’

आफूले भेटेकै कारण प्रेच आचार्यको आत्माले नयाँ सरकारलाई सधैं सम्झिरहने राज्यमन्त्री कार्कीको दाबी छ । ‘तर यति कुरा पक्का छ, प्रेम आचार्यको आत्माले यो नयाँ बनेको सरकारलाई सधैं सम्झिरहनेछ,’ उनले लेखेकी छन्, ‘किनकि ऊ अस्ताउनुअघि नयाँ बनेको सरकारको प्रतिनिधि आफैंले भेटेर ‘हामी छौं नि’ भन्दै गर्दा ती व्यक्तिले ‘म बाँच्न चाहन्छु’ भने ।

उनले मृत्यु भइसकेका व्यक्तिमाथि राजनीति नगर्न आग्रह पनि गरेकी छिन् ।

डा. कार्कीको स्पष्टीकरण

राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरिकलाई “ऊ चाँडै नै यो संसार छोड्दैछ” भन्ने थाहा भएरै उनका आँखाहरु सधैँका लागि बन्द हुनु अगावै, उनका बोली सधैँको लागि रोकिनु अगावै… म उहाँलाई भेट्न पुगेको थिँए । भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ । धन्न मैले ढिला गरिनछु … ।
मेरा आदरणिय प्रिय मतदाताहरू,
मैले तपाईंहरूको मत र विश्वासमाथि आँच आउने काम गरेकी छैन र गर्ने पनि छैन । हामी भेट्न गएको प्रक्रिया/विधिहरूलाई लिएर धेरै प्रश्न उठेकाले साथै केही साथीले नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत दिनुभएको रहेछ । त्यसैले जनताको प्रश्नको जवाफ दिन आवश्यक ठानेर यो लेख्दैछु …

मेरा आदरणीय प्रिय मतदाताहरू,
मैले तपाईहरूको मत र विश्वास माथी आँच आउने काम गरेकी छैन र गर्ने पनि छैन । हामी भेट्न गएको प्रक्रिया/ विधिहरूलाई लिएर धेरै प्रश्न उठेकाले साथै केही साथीले नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत दिनुभएको रहेछ । त्यसैले जनताको प्रश्नको जवाफ दिन आवश्यक ठानेर यो लेख्दैछु …
———————————————
त्यो घटना सुन्ने बित्तिकै मैले उहाँको उपचारमा संलग्न डाक्टरलाई फोन गरे । उहाँ अझ होसमै हुनुभएको थाहा पाएपछि मैले म भित्रको मानवलाई रोक्न सकिनँ । “म उहाँलाई भेट्न आउँछु है” भनी जानकारी दिएँ । बाटोमा जाँदा जाँदै समेत ड्युटीमा खटिनुभएको डाक्टरलाई फोन गरी स्वास्थ्यस्थिति बुझिरहेको थिएँ । पुग्नेबित्तिकै ड्युटिमा खटिनुभएको डाक्टर मलाई आईसीयूको ढोकासम्म लिन आउनुभयो । त्यो सम्वेदनशील बेलामा पनि मेरो डाक्टरी अभ्यासको बानीले नै होला म आफैंले गाउन मास्क र क्याप मागेर लगाए अनि स्यानीटाइजरले हात धोएर मात्र बिरामी कक्ष पुग्न भ्याएछु । कसले भिडियो लिनुभएको थियो कृपया पूरा भिडियो छ भने हेर्नुहोला । मैले बिरामी छुनु अघि र पछि दुवै पटक हातमा स्यानीटाइजर लगाएको छु ।

म आफैँ लाईसेन्स्ड जनरल सर्जन, बर्नका बिरामीहरू म आफैंले पनि हेर्ने गरेको कारण, मैले बुझेको थिए ८० प्रतिशतभन्दा बढी बर्न भइसकेको अवस्थामा उहाँलाई बचाउन अब कुनै चमत्कार भए मात्र सम्भव थियो । तर धन्न मैले उहाँको होस नगुम्दै भेट्न भ्याए । आँखा खोल्नुस् त भन्दा आँखा खोल्नुभयो र ‘तोसिमाजी तपाईलाई म चिन्छु, देखिराछु’ भन्नुभयो । जिब्रो देखाउनुस् त भन्दा जिब्रो देखाउनुभयो ।

यो प्रक्रिया बिरामीको होस कत्तिको छ/छैन चेक गर्ने विधि हो । उहाँले भनेजसो गर्नुभयो र दोहोरो कुरा पनि गर्नुभयो- अर्थात त्यसबेलासम्म उहाँ पूरा होसमा हुनुहुन्थ्यो । ‘राज्य छ नि, हामी थियौँ नि, किन यस्तो गर्नुभयो दाजु’ भन्दै गर्दा उहाँले थप केही भन्नुभयो ।
१) रवि सरलाई भनिदिनुस् है — मैले भनिदिएँ ।
२) धेरै पोलिराछ पेन किलर थप्न भनिदिनुस् न, मैले ड्युटी डाक्टरलाई पेन किलर थपिदिनु है भने ।
र तेस्रो कुरा उनले मलाई यसो भने —
३) “बरु मलाई अर्को अस्पताल लानुस् न, म बाँच्न चाहन्छु ”
म स्तब्ध भए । ढिलो भइसकेको थियो ।

यसको उत्तर मसँग थिएनँ किनकि म आफैँ डाक्टर भएकोले थाहा थियो उहाँसँग अब केही क्षण मात्र बाँकी छ । म स्तब्ध भए । आङ जिरिङ्ग भयो । ‘लामो लामो सास फेर्नुस् है । नआत्तिनुस् है डाक्टरसाबहरूले एकदम राम्रो उपचार गर्नुहुन्छ भनेर म निस्किएँ ।’

फेरि मैले अस्पतालका प्रमुख डाक्टर शङ्कर मान राईलाई फोन गरेँ, ‘डाक्साब उहाँको उपचारमा कुनै कसर बाँकी नछोड्नु है । बरु केही परे सहयोग माग्नुहोला । म भोलि बिहान ८ बजे उहाँलाई भेट्न पुन: आउनेछु ।’ यति भनी अस्पतालबाट निस्किएँ । उनले मसँग अन्तिम बोलेको बोली “म बाँच्न चाहन्छु” मेरो मानसपटलमा घुमिरह्यो । म उनको लागि जीवनको दुवा माग्दै अबेर घर पुगेँ ।

भोलिपल्ट बिहान ६:३0 बजे नै मैले अस्पताल प्रमुख डाक्टरलाई फोन गरी बिरामी कस्तो हुनुहुन्छ सोधे । भर्खरै बित्नुभयो भन्नुभो … । मैले केही बोल्न सकिनँ । फोन राखिदिएँ । पुन: कल ब्याक गरेँ । “डाक्साब ती बिरामीको सम्पूर्ण उपचार खर्च हाम्रो तर्फबाट निःशुल्क गरिदिनुस् है” भने … ।

आत्मदाह गरेका प्रेम आचार्य जिवनको अन्तिम चरणमा छन् भन्ने बुझ्ने बित्तिकै म भित्रको मानव उहाँलाई भेट्न नगई बस्न सकिनँ। मभित्रको शल्यचिकित्सक उहाँको स्वास्थ्य स्थिति, उहाँको चेत र उहाँको बाँच्ने सम्भावनालाई नबुझी बस्न सकिनँ । र म भित्रको “राज्य प्रतिनिधि” जीवनबाट आजित भएर जीवन त्याग्दै गरेको यही देशको नागरिकलाई अन्तिम घडीमै पुगे पनि नआत्तिनुस् है, नडराउनुस् है, राज्य छ नि नभनी बस्न सकिनँ ।

रह्यो कुरा आईसीयू प्रोटोकल फलो गरेन भन्ने आरोपहरू । म आफू नै जनरल सर्जन हुँ जो विगतमा बर्न सम्बन्धिकै बिरामीहरू पनि हेर्ने गरेको छु ।
८० प्रतिशतभन्दा धरै जलन भएर बाँच्न सक्ने अवस्था न्यून भएको बिरामीलाई त्यसबेला मैले दिन सक्ने केही थिएन । मेरो हातमा केही थिएन । मात्र थोरै मेरो तर्फबाट मायाको स्पर्श, आत्मियता र अन्तिम घडीमै भए पनि थोरै आत्मबल– सायद त्यसैले होला एकछिन पछि, उहाँले मलाई भन्नुभयो, ‘तोसिमा जि, यहाँ हुन्न भने अर्को अस्पताल लानुस् । म बाँच्न चाहन्छु ।’

मैले उहाँलाई ‘नडराउनुस् है । नआत्तिनुस् है । लामो लामो सास फेर्नु है । अक्सिजन शरीरमा जानुपर्छ’ भन्दा उहाँले “हस्” भन्नुभयो । त्यसबेला उहाँ भेन्टिलेटरमा हुनुहुन्थेन तर फुल १० लिटर अक्सिजन मास्क मार्फत दिइरहेको थियो । अझ अचम्म लाग्दो कुरो त – दुखाईले दायाँ फर्केर निहुरिएर सुतिरहनुभएको थियो । मैले दायाँ बाटै भेटे । सुन्निइसकेको आँखाले पनि मलाई हेर्न खोज्दै दोहोरो कुराकानी गर्नुभयो ।

त्यसपछि म एकछिन उपचार गर्नुहुने डाक्साबसँग कुरा गरेर फेरी उहाँलाई हेर्न आउँदा उहाँको बायाँपट्टि उभिएर कुरा गरे । उहाँले मलाई नदेखेर आफैँ शरीरको पोजिसन फेरेर सिदा हुनुभयो र म सँग थप दोहोरो कुराकानी गर्नुभयो । मैले उहाँको शरीरको घाउहरू हेरेँ । उहाँको ब्लाङ्केट मिलाईदिएँ । अनि उहाँलाई थोरै ढाडस दिँदै उहाँको लागि थप केही गर्न नसक्ने “अशक्त म” आईसीयूबाट निस्किएँ ।

म डाक्टर भएको नाताले उहाँको अभिभावकलाई पनि उहाँको गम्भीर स्थितिबारे बुझाएर भोलि बिहानसम्म जे पनि हुन सक्ने भएकोले तुरन्तै उहाँको श्रीमतीलाई बोलाईहाल्नुस् है भनेँ । र यहाँको उपचार खर्च चिन्ता नलिनुस् है भनेर थप केही बोल्न नसकी म त्यहाँबाट पनि निस्किएँ ।

हो, एउटा नागरिकले उठाएको प्रश्नहरूको जवाफसहित राज्यले उसलाई भेट्न जाने प्रक्रिया निकै लामो हुन्थ्यो होला, अबेर भइसक्थ्यो होला । तर जलेर मृत्युको मुखमा पुगेको बिरामीलाई तर म आफू पनि शल्यचिकित्सकको नाताले आईसीयूमा भेट्न जान मलाई कुनै ठूलो प्रक्रिया आवश्यक थिएन । त्यसैले उपचारमा संलग्न डाक्टरहरूको टिमको अनुमति लिई सामान्य आईसीयू प्रोटोकल समेत पालन गरेर गाउन, मास्क, क्याप र स्यानीटाईजर प्रयोग गरी भेटेको थिएँ । फेरि पनि भन्दैछु, सुन्ने बित्तिकै गईहालेँ। धन्न भेट्न भ्याएछु … ।

रह्यो कुरा आईसीयूभित्र फोटो खिचेर प्रचार गर्यो भन्ने आरोप:
खबर सुन्ने बित्तिकै हतार हतार म र मेरो स्वकिय मात्र गएका थियौँ । हामी अस्पतालको गेटमा पुग्दा नै त्यहाँ उपस्थितहरूले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथि आईसीयूसम्म पुर्‍याउन आउनुभयो । ड्युटीको डाक्टर भने आईसीयूको ढोकासम्म मलाई लिन आउनुभएको थियो ।

अहिले सबैको हात-हातमा मोबाईल भएको अवस्थामा तत्पश्चात त्यहाँभित्र को कसलाई छिर्न दिइयो, को को छिर्‍यो, को छिरेन, को बिरामीको अभिभावक, को मिडिया थियो हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन काहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौँ ।

यदि मिडिया बाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरूले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला । दिन रात उपचारमा खटिनुभई प्रेम आचार्यलाई बचाउन भरमग्दुर प्रयास गर्नुभई निःशुल्क उपचार गर्दिनुहुने कीर्तिपुर अस्पताल टिमलाई धन्यवाद दिन चाहन्छु ।

रह्यो कुरा किन भेट्न गयो भन्ने… ?
१. किनकि मभित्रको सचेत मानवले भेट्न जाऊँ भन्यो ।
२. किनकि म भित्रको संवेदनशील डाक्टरले हेर्न जाउ भम्यो ।
३. किनकि म भित्रको जवाफदेही सरकारले “जा अहिले भए पनि गएर राज्य छ” भन्ने अनुभूति दिला भन्यो । माफ गर्नुहोस् मलाई धेरै कुरा अझै सिक्दैछु, बुझ्दैछु,अध्ययन गर्देछु, गल्ति गरेको भएको भए सच्याउनेछु ।

तर यति कुरा पक्का छ, प्रेम आचार्यको आत्माले यो नयाँ बनेको सरकारलाई सधैँ सम्झिरहनेछ… किनकि ऊ अस्ताउनु अघि नयाँ बनेको सरकारको प्रतिनिधि आफैँले भेटेर “हामी छौँ नि” भन्दै गर्दा ती व्यक्तिले “म बाँच्न चाहन्छु” भने । यी उनका अन्तिम वाक्यले यो सरकारलाई र मलाई पनि सधैँ सधैँ जनताप्रति उत्तरदायी हुन घच्घच्याइरहनेछ ।

अन्त्यमा अनुरोध हजुरहरू सबैलाई — ज्यान गुमाईसकेका व्यक्तिको मृत्यूमाथि यसरी राजनीति नगरौँ । आत्मदाह गरेका उनलाई मृत्युको मुखमा कसले पन्जा लगाएर छोयो/छोएन र कसले भिडियो खिच्यो/खिचेन भन्ने बहसलाई धेरै ठूलो बनाएर प्रेम आचार्य स्वयंले उठाउन खोज्नुभएको, सोध्न खोज्नु भएको तमाम प्रश्नहरूको जवाफ खोज्ने बहसलाई ओझेलमा नपारौँ । उहाँ जस्ता नेपाली युवाहरू किन त्यो कदम चाल्न बाध्य भए ? अर्थतन्त्रको चक्रभ्यूले युवाहरूलाई किन यसरी गिजोलिरहेको छ ? राज्यले किन आफ्ना नागरिकहरूलाई अभिभावकत्व महसुस गराउन सकिरहेको छैन ? यसका समाधान के हुन सक्लान् ? हामीले बचाउन नसकेको प्रेम आचार्यको मृत्युमाथि राजनीति गर्नु साटो अरु हजारौँ प्रेम आचार्यहरूलाई आत्महत्या र आत्मदाह गर्नबाट कसरी बचाउन सकिन्छ ? मानसिक स्वास्थ्यको के छ वस्तुस्थिति ? आउनुस् न त्यो बहस गरौँ । यसप्रति हामी स्वास्थ्य मन्त्रालय र म स्वयम् पनि गम्भीर आभ्यासमा लाग्नेछु र हजुरहरू सबैबाट सक्दो हातेमालो सहयोग सुझाव र सहभागिताको लागि पनि अनुरोध सहित हार्दिक श्रद्धाञ्जली प्रेम आचार्यमा ।

प्रतिकृय

प्रतिकृय