र्‍याफ्टिङमा तन्नेरी भोटेकोसीदेखि जापानसम्म

भोटेकोसी र सुनकोसीमा र्‍याफ्टिङ सिकेका सिन्धुपाल्चोकका युवाले जापान, यूएई, नेदरल्यान्ड्स, स्विट्जरल्यान्डलगायत देशमा रिभर गाइडका रूपमा काम गरिरहेका छन्

फाल्गुन १६, २०७९

सिन्धुपाल्चोक — विश्वका करिब ६ हजार नदीनालामध्ये एडभेन्चरका लागि उत्कृष्ट १० मध्येमा पर्छन् भोटेकोसी र सुनकोसी । हेर्दै अत्यासलाग्दो र उर्लंदो भोटेकोसीमा पहिलो पटक बडो सकसले ‘र्‍याफ्टिङ’ सिकेका थिए, बाह्रबिसे नगरपालिका–९ का ३२ वर्षे इन्द्रबहादुर बोगटीले ।

तस्बिर सौजन्य : तीर्थ श्रेष्ठ

दुबईको अल एन सहरमा र्‍याफ्टिङ र रिभर गाइड रहेका उनले त्यतिबेलाको ‘द लास्ट रिसोर्ट’ का संस्थापक दिवंगत डेभिड अलार्डिस र अल्टिमेट रिभर्स कम्पनीलाई कहिल्यै भुल्न सक्दैनन् । त्यतिबेला ‘द लास्ट रिसोर्ट बन्जी जम्प’ सुरु भइसकेको थिएन । रिसोर्टको बेसक्याम्प मात्रै थियो ।

२३ वर्षको फूर्तिलो उमेरमा उनले पोख्त ‘र्‍याफ्टिङ गाइड’ बनेर लाइसेन्स लिएपछि सुनकोसी र भोटेकोसी नदीमा सञ्चालकसहित आन्तरिक र बाह्य पर्यटकको मन जिते । त्यतिले नअघाएका उनी मलेसिया पुगेर गाइडकै रूपमा त्यहाँका नदीमा ३ महिना काम गरे । त्यसपछि आफ्नै भूमिमा फर्किएका उनले सुनकोसी नदीमा र्‍याफ्टिङ गाइड फ्रिल्यान्सर बनेर ७ वर्ष गुजारे । फेरि दुबई हानिएका उनी अहिले अल ऐन एडभेन्चर कम्पनीमा र्‍याफ्टिङ गाइड बनेर मासिक १ लाख २० हजारदेखि १ लाख ४० हजारसम्म कमाउँछन् । ‘सुनकोसी र भोटेकोसीमा महिनाको बढीमा ३० देखि ५० हजार कमाउँथें, त्यो बेलाको आनन्द र उत्साह बेग्लै थियो । तर, त्यहाँभन्दा यहाँ धेरै फरक र सुरक्षित वातावरण छ,’ उनले भने । उनका अनुसार दुबईको अल ऐनमा कृत्रिम नदी बनाइएको छ । त्यहाँ उनीजस्तै १२ जना नेपाली गाइड कार्यरत छन् । सम्पूर्ण गाइडलाई नेपालभन्दा फरक र आधुनिक ‘र्‍याफ्टिङ सेफ्टी’ को तालिम दिइन्छ ।

जापानको यासिनओगावा सहरस्थित कोचीकेन नदीमा विदेशीलाई र्‍याफ्टिङ गराउँदै आएका बाह्रबिसे–५ गाती जम्बुका ३६ वर्षे तीर्थ श्रेष्ठले आफ्नो आधारभूमि भोटेकोसी र सुनकोसी नदीलाई भने बिर्सिएका छैनन् । अहिले आफ्नो कम्पनीमा उनले चार नेपाली र तीन जापानी गरी ७ जना र्‍याफ्टिङ गाइडलाई रोजगारी दिएका छन् । ‘यसअघि लामो समय र्‍याफ्टिङ गाइड भएर संघर्ष गरें । ती मेरा अनमोल पल थिए । खुब ऊर्जाशील भएर भोटेकोसीमा र्‍याफ्टिङ गाइडको काम सिकेको थिएँ,’ श्रेष्ठले भने । भोटेकोसी नदीमा करिब १७ वर्षकै उमेरमा र्‍याफ्टिङ सिकेका उनले अनेक प्रतिस्पर्धामा भाग लिए ।

प्रतिकृय

प्रतिकृय