महानगरले पार्किङको विकल्प दिँदा पनि किन विरोध गर्दै छन् दरबारमार्गका व्यवसायी?

काठमाडौं महानगरपालिकाले दुई महिनाअघि दरबारमार्गको एक लेन पार्किङ हटाएलगत्तै व्यवसायीहरूले विरोध गरेका थिए। त्यसपछि महानगरले सडक किनारको उक्त पार्किङको सट्टा दरबारमार्गका चार ठाउँमा वैकल्पिक व्यवस्था गरिएको जानकारी दियो।

दरबार मल, विश्वज्योति मल, अन्नपूर्ण होटल र राइजिङ मलमा पार्किङ व्यवस्था गरिएको महानगरले जनाएको छ।

यति हुँदाहुँदै दरबारमार्गका व्यवसायीको विरोध रोकिएको छैन। उनीहरूले सोमबार र मंगलबार पनि आफ्नो प्रदर्शन जारी राखेका छन्।

जब महानगरले वैकल्पिक पार्किङको व्यवस्था गरिसकेको छ भने व्यवसायीहरू किन सडकमा ओर्लिएका छन् त?

दरबारमार्ग विकास बोर्डका पूर्वअध्यक्ष गोपालसुन्दर लाल कक्षपति महानगरले पार्किङको वैकल्पिक ठाउँ छुट्टयाएको दाबी गरे पनि त्यो असुविधाजनक र अपायक रहेको बताउँछन्।

‘महानगरले दरबार मल- १ र २, विश्वज्योति मल- १ र २, अन्नपूर्ण होटल र राइजिङ मलमा पार्किङ गर्ने ठाउँ देखाएको छ। तर महानगरले भनेजस्तो त्यहाँ पार्किङ गर्न सजिलो छैन,’ कक्षपतिले भने।

उनका अनुसार महानगरले तोकेका ठाउँमा पार्किङ गर्न दुइटा समस्या छन्।

पहिलो, ती सबै पार्किङ सम्बन्धित मलका निजी हुन्। उनीहरूको निम्ति दरबारमार्ग आउने सर्वसाधारणभन्दा आफ्नो मलमा किनमेल गर्न आउने ग्राहक नै पहिलो प्राथमिकतामा पर्छन्। त्यसैले महानगरले भनेका मल वा होटलमा पार्किङ गर्न जाँदा त्यो ठाउँ आफ्ना सेवाग्राहीलाई नै चाहिन्छ भनेर फर्काइदिने गरेको कक्षपतिको भनाइ छ।

दोस्रो कारण, ती सबै ठाउँको पार्किङ निश्चित समयसम्म मात्र खुला रहन्छ। राति सम्बन्धित मल वा होटलले पार्किङ बन्द गर्छ। यसले ती ठाउँमा आफ्ना सवारी पार्किङ गर्न अप्ठ्यारो परेको कक्षपति बताउँछन्।

‘दरबारमार्गका सबै घरमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था छैन। महानगरले भनेका वा अन्य ठुल्ठूला मलमा पार्किङ व्यवस्था छ। तर त्यहाँ उपलब्ध ठाउँ उनीहरू आफ्नै सेवाग्राहीलाई चाहिने जिकिर गर्छन्,’ उनले भने, ‘अरूको निजी ठाउँ खाली छ भन्दैमा त्यहाँ पार्किङ गर्न सकिन्छ भनेर महानगरले भन्न पाउँदैन।’

यो समस्याबारे आफूहरूले काठमाडौं महानगरका मेयर बालेन शाहसँग कुराकानी गर्न खोज्दा उनले वास्ता नगरेपछि विरोध प्रदर्शन गर्नुको विकल्प नभएको उनी बताउँछन्।

‘हामीले एक लेन पार्किङको विषयमा दोहोरो कुराकानी गरौं भनेर पटक-पटक आग्रह गर्दा पनि मेयर बालेन शाहले मान्नुभएन। हाम्रो अरू माग छैन, बस् एकपटक मेयरसँग कुराकानी गर्न पाऊँ भन्ने हो,’ उनले भने, ‘एक दशकभन्दा बढी समयदेखि हुँदै आएको पार्किङ कुनै छलफलबिना एकतर्फी रूपले हटाइयो। दुवै पक्ष बसेर कुराकानी नगरेसम्म निर्क्यौलमा पुग्न सकिँदैन।’

दरबारमार्ग विकास बोर्डले मेयरको सचिवालयसँग दुई महिनादेखि कुराकानी गर्न प्रयास गरेको कक्षपतिले जानकारी दिए।

‘उहाँ हामीसँग कुरा गर्नै खोज्नुहुन्न। यत्रो समय बितिसक्दा पनि आफ्नै जनप्रतिनिधिसँग कुरा गर्न किन यति गाह्रो?’ उनले प्रश्न गरे, ‘दरबारमार्गमा पार्किङ गर्ने भनेको किनमेल गर्न आउने मानिसहरूले मात्र होइन, यत्तिकै घुम्न आउनेहरूले पनि पार्किङ गर्नुहुन्छ। एक लेन पार्किङ हटाएपछि उहाँहरूले आफ्नो गाडी राख्ने ठाउँ खोई?’

दरबारमार्गका व्यवसायी रमेश बोहरा पार्किङ हटेपछि यहाँको व्यवसायमा असर परेको बताउँछन्।

‘पार्किङ हटेकै कारण ५०-६० प्रतिशत व्यापार घटेको छ,’ उनले भने, ‘राज्यले कर उठाएपछि पार्किङको उचित व्यवस्थापन गर्न सक्नुपर्छ।’

दरबारमार्गमा एक लेन पार्किङको व्यवस्था २०६४/६५ बाट सुरू भएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी, वडाध्यक्ष र ट्राफिक प्रहरीको समन्वयमा दरबारमार्गको एक लेन पार्किङका लागि छुट्याइएको थियो।

दरबारमार्गको ७० फिट चौडा सडकलाई पाँच लेनमा विभाजन गरेर एक लेनमा निःशुल्क पार्किङको व्यवस्था गरिएको कक्षपति बताउँछन्। पछि महानगरले नै उक्त ठाउँ स्मार्ट पार्किङलाई दिएर प्रतिघन्टा ८० रूपैयाँ लिन थालेको थियो। पार्किङ शुल्क अन्य ठाउँभन्दा महँगो भएको गुनासो आएपछि घटाइएको थियो।

यसबारे मेयर शाहका प्रेस सल्लाहकार सुरेन्द्र बजागाईंसँग कुरा गर्दा उनले मेयरको कार्य व्यस्तताका कारण व्यवसायीहरूसँग भेट्न नसकेको जवाफ दिए।

दरबारमार्ग क्षेत्रमा पार्किङ व्यवस्थापन गर्न महानगरका विभागीय प्रमुख, एड गुरू एड्भरटाइजिङ कम्पनी र ह्विल्स खुर्लि योर्ससँग २०७५ माघ ८ गते सम्झौता गरिएको थियो। उक्त सम्झौता पाँच वर्षका लागि गरिएको थियो।

प्रतिकृय

प्रतिकृय