बाहिर जाने कागजात छैन, कारागारमै अक्षर सिक्दैछन् ३ वर्षीय जिसन

साढे तीन वर्षअघिको कुरा हो। आफ्नै छोराको हत्या गरेको अभियोगमा दोषी ठहर भएकी यमुना केसीको कोखबाट दोस्रो सन्तानका रूपमा उनी जन्मिएका थिए।

उनको नाम जिसन केसी राखियो। सल्यान कारागारमै आमाले उनलाई हुर्काइन्। आमासँगै उनी अहिलेसम्म कारागारमै छन्। उनकी आमा कारागारका चार दिवार नाघेर बाहिर जान पाउन्नन्। आमा बाहिर जान नपाएपछि झण्डै चार वर्ष पुगेका जिसन पनि जान पाउने कुरा भएन।

उनी छुनुमुनु गर्दै जेलकै प्राङगणमा खेल्छन्। कैदीबन्दी नै उनका परिवार भएका छन् उनीहरू नै साथी। उनी अहिले शिशु कक्षा जाने उमेरका भइसकेका छन्। तर आमा बाहिर जान नपाउने भएकाले उनी स्कुल जान सक्दैनन्।

अरू बच्चाहरूले झैँ खुला संसारमा परिवारसँग हुर्किन नपाएपनि पनि उनको शिक्षाको हक हनन् नहोस् भनेर कारागारले भने उपाय सोचेको रहेछ। उनले अक्षर पढ्न थाल्ने बेला भएको मानेर सल्यानको कारागार प्रशासनले उनका लागि एक महिला शिक्षक राखिदिएको छ।

शिक्षकले पढाउन थालेपछि दिउँसो जिसन कापी र पेन्सिल लिएर बस्न थालेका छन्।

‘क ख…’ लेख्न सिक्दैछन्। शिक्षकले लेखाउने र जिसनले लेख्ने क्रम केही महिनादेखि दैनिक रूपमा चल्दै छ।

जिसनकी आमा यमुना केसी जन्मकैदको सजाय काट्न कारागारमा आएकी हुन्। छोराको पढाइ कहिलेसम्म चल्छ थाहा छैन। उनलाई त के कुरा, कारागार प्रशासनलाई पनि थाहा छैन।

उनलाई जेलबाट बाहिर पठाएर पढाउन चाहिने कागज–प्रमाण आमासँग छैन।

यमुना २०७५ पुस २९ गते कारागार चलान भएकी थिइन्। उनलाई ‘कर्तव्य ज्यान’ मुद्दामा सल्यान जिल्ला अदालतले जन्मकैद सजाय तोकेको थियो।  कारागार चलान भएको ८ महिनापछि २०७६ भदौ ८ गते उनले कारागारमै छोरो जन्माइन्।

उनका श्रीमानले जिसनलाई छोरो स्वीकार गरेका छैनन्। श्रीमानले अस्वीकार गरेपछि परिवारका अन्य सदस्यले पनि मानेनन्।

यमुनाले पढाइका लागि छोरालाई आफूबाट अलग राख्न चाहेकी छन्। कारागार बाहिर राखेर पढाउने धोको उनको छ।

‘सरकार वा कुनै राम्रो संस्था बच्चालाई पाल्छु र पढाउँछु भनेर आए म छोरो पठाइदिन्थेँ। म जेलमा भए पनि छोराले स्कुलमा पढ्न पाउँथ्यो,’ जिल्ला कारागार सल्यानका जेलर राजन कँडेलले यमुनाको भनाइ उद्धृत गरे, ‘म २५ वर्ष जेलमा बस्ने भएपछि मेरो बच्चाको भविष्य बर्बाद हुन्छ। यहाँबाट निस्केपछि म आफैँ जिम्मा लिन्छु।’

यमुना सल्यानको छत्रेश्वरी गाउँपालिका–२ की स्थायी बासिन्दा हुन्। हाल उनी २५ वर्षकी भइन्। छत्रेश्वरीकै वडा नम्बर ४ को केसी परिवारमा उनको बिहे भएको थियो। जिसनभन्दा पहिले पनि यमुना एक छोरा थिए। ती छोराको हत्या गरेको अभियोग प्रमाणित भएपछि उनीमाथि जन्मकैद तोकिएको हो।

यमुनाको नागरिकता प्रमाणपत्र बनेको छैन। बिहे दर्ता पनि भएको छैन। आमाको नागरिकता नहुँदा र बाबुले छोरा स्वीकार नगर्दा पढ्ने उमेर भएका जिसनलाई कारागारमै राख्नुपरेको जेलर कँडेलको भनाइ छ।

‘आमा (यमुना) मेरै श्रीमानबाट जन्मिएको बच्चा हो भन्नुहुन्छ। श्रीमानले मेरो होइन भन्नुहुन्छ,’ कँडेल समस्या सुनाउँछन्, ‘हामीले बालकलाई संरक्षणमा राखेर पढाइदिन केही संस्थालाई आग्रह गर्‍यौं। सबैले बच्चाको जन्मदर्ता चाहियो भने। जन्मदर्ता हुन आमाको नागरिकता हुनपर्‍यो।’

जिल्ला अस्पताल सल्यानले दिएको जिसनको जन्म प्रमाणपत्रमा बाबुको नाम लीलाधर केसी लेखिएको छ।

जिसनको बारेमा जिल्ला प्रशासन कार्यालय, बालअधिकार परिषद, सरोकारवाला मन्त्रालयमा पनि आफूले कुरा गरेको जेलर कँडेलले बताए।

उनी भन्छन्, ‘सबैतिर सरकारी डकुमेन्ट (प्रमाण) हुनुपर्‍यो भन्ने कुरा आउँछ। आमाकै डकुमेन्ट छैन, बच्चाको कसरी बनोस्!’

जिल्ला कारागारले यमुनाको नागरिकता प्रमाणपत्र बनाइदिन पहल पनि गरेको थियो। साक्षी बस्ने व्यक्ति नभेटेपछि वडा कार्यालयले सिफारिस दिन सकेन।

‘माइतीतर्फ उहाँ (यमुना) की आमा वृद्ध हुनुहुन्छ। एक जना दाइ विदेशमा हुनुहुन्छ। उहाँहरुबाहेक जवाफदेही व्यक्ति अरू कोही रहेनछन्,’ कँडेलले भने, ‘नागरिकताका लागि जनप्रतिनिधिलाई भनेर हामीले धेरै पहल गरेका हौँ। घर परिवारबाट नागरिकता बनाइदिन मानेका छैनन्।’

जिसनलाई कारागार बाहिर ल्याएर पढाउन माइती पक्षले यमुनाको नागरिकता प्राप्तिका लागि सहयोग गर्नु उपयुक्त विकल्प हुने उनको भनाइ छ।

नागरिकता बन्न सकेन भने कुनै विकल्प हुन सक्छ कि सक्दैन?

कँडेल भन्छन्, ‘हामीले बच्चा जेलमा जन्मिएको हो, आमा यी हुन् भनेर प्रमाणित गरिदिएका छौँ। त्यसैका आधारमा कुनै संस्थाले बाहिर लगेर पढाइदिन सक्छन्। यसो गर्दा राम्रो हुन्छ।’

कारागार प्रशासनले जिसन कारागारभित्रै यमुनाबाट जन्मिएको भनेर प्रमाणित गर्ने पत्र बनाइदिएको छ।

जिसनलाई पढाउने बन्दी शिक्षकले कक्षा १२ उत्तीर्ण गरेकी छन्। पढाएबापत उनले केही सुविधा पनि पाउने व्यवस्था गरेको कँडेलले बताए।

छत्रेश्वरी–४ का वडाध्यक्ष छविलाल खत्रीले आफू यमुनाका घरपरिवारजनसँग भेटेर छलफल गर्ने योजनामा रहेको बताए। कारागारमा भएका बालकको पढाइका लागि जनप्रतिनिधिका तर्फबाट आफ्नो प्रयास जारी रहने पनि उनले बताए।

जिसनलाई तत्कालका लागि राज्यबाट  विशेष संरक्षणको खाँचो रहेको ‘राष्ट्रिय बालअधिकार परिषद’ का कर्णाली प्रदेश समन्वय अधिकृत डम्बरबहादुर रोकायाको भनाइ छ।

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ४८ मा ‘विशेष संरक्षणको आवश्यकता भएका बालबालिका’ सम्बन्धी व्यवस्था छ।

दफा ४ (ङ) मा थुनामा रहेका वा बन्दी बाबु वा आमासँग आश्रित भई कारागारमा रहेका बालबालिका विशेष संरक्षणको आवश्यकता भएका मानिएका छन्।

ऐनको दफा १८ मा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको पालनपोषण, संरक्षण, स्वास्थ्य र शिक्षा लगायतका आधारभूत आवश्यकताको व्यवस्था गर्न राज्यले उपलब्ध स्रोतसाधनको आधारमा आवश्यक व्यवस्था मिलाउने छ भनिएको छ।

जिसनले राज्यको निकाय जिल्ला कारागरामा अक्षर चिनाउन शिक्षक दिने बाहेक कुनै पनि ‘विशेष संरक्षण’ पाएका छैनन्।

प्रतिकृय

प्रतिकृय