उपराष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ।

पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपति चुनावमा मतदान नगर्ने, तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

यही चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ। सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका लागि उम्मेदवार छन्।

राप्रपाले गत फागुन २५ मा पनि राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको थियो।

साथै राप्रपाले मलमा सरकारले अनुदान रकम घटाएकोमा विरोध गरेको छ।

‘रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक साताभित्र प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरूले उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वभाविक रूपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न राप्रपाले सरकारसँग माग गरेको छ।

प्रतिकृय

प्रतिकृय