क्रिकेटमा डिएलएस मेथड कसले बनायो, कहिलेदेखि सुरू भयो?

आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा बिहीबार युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै नेपाल ब्याटिङ गरिरहेको थियो।

खराब सुरूआत गरे पनि नेपालका मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गर्दा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनायो। नेपाललाई जितका लागि ४२ रन बनाउनुपर्ने स्थिति थियो। नेपालको हातमा ३६ बल र ४ विकेट बाँकी थियो।

साँझ पाँच बजिसकेको र बादल लागेकाले कीर्तिपुरस्थित त्रिवि मैदानमा उज्यालो घट्दै गइरहेको थियो।

४४ ओभरको समाप्तिपछि खेलका अम्पायरद्वय बुद्धि प्रधान र रवीन्द्र विमालासिरी कुराकानी गर्न थाले। लगत्तै दुवै रेफ्री दुई तिरको स्टम्पतिर अघि बढे। अनि स्टम्पमाथिका बेल झार्दै ‘डिएलएस मेथड’ का आधारमा खेलको नतिजा घोषणा हुने बताए।

त्यति बेलासम्मको डिएलएस मेथडमा युएईभन्दा नेपाल ९ रनले अघि थियो। मैदानमा रहेका नेपालका ब्याट्सम्यानद्वय दिपेन्द्रसिंह ऐरी र गुलशन झा एकअर्कालाई अँगालो मार्दै खुसीले उफ्रिए। मैदानबाहिर रहेका नेपाली खेलाडी दौडिँदै भित्र छिरे। अनि कीर्तिपुर मैदानमा उर्लिएको हजारौं दर्शकको भिड खुसीले नाच्न थाल्यो।

यो पनि : नेपालले ४२ औं ओभरमा २० रन जोड्दा उल्टिएको खेल

कम प्रकाशका कारण खेल रोक्दै नेपाललाई विजयी घोषणा गरेपछि युएईका खेलाडी तथा अफिसियलले भने विरोध गर्दै केहीबेरसम्म मैदान छाडेनन्। उनीहरूले प्रकाशका कारण खेल रोक्नुअघि आफूलाई जानकारी नदिएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

खेल रोक्नुपर्ने अवस्था कसरी आयो?

बिहीबारको खेलमा रिजर्भ अम्पायर रहेका विनयकुमार झाका अनुसार क्रिकेट खेल्न निश्चित प्रकाश हुनुपर्छ। कम प्रकाश भयो ब्याटरले बल नै देख्न सक्ने अवस्था हुँदैन।

‘अम्पायरले बल देख्न सकेन भने उसले कसरी निर्णय दिन सक्छ,’ झाले भने, ‘जबसम्म हामीले सहज रूपमा देख्न सक्छौं, तबसम्म हामी खेलाउन सक्छौं। जब हामीलाई हेर्न गाह्रो हुन्छ, खेल रोक्छौं। यही कारण बिहीबारको खेलमा पूरा ओभर सञ्चालन गर्न नसकिएको हो।’

डिएलएस मेथडको कतिपयले आलोचना गर्ने भए पनि ओभर घटाएर नयाँ लक्ष्य दिनु पर्दा वा विजेता घोषणा गर्न वैज्ञानिक भएको दाबी उनी गर्छन्।

‘५० ओभरको खेल घटाएर ४० ओभरमा झार्नु पर्दा नयाँ लक्ष्य दिन डिएलएस मेथड एकदमै उपयोगी हुन्छ। त्यस्तै ५० ओभरको खेल ४४ ओभरमा आएर वर्षा वा अन्य कारण हुन सकेन अनि त्यति बेलासम्मको स्थिति के थियो भन्ने हेरेर लक्ष्य निर्धारण गरी नतिजा निकाल्न सकिन्छ,’ उनले भने।

डिएलएसमा कसरी हुन्छ हिसाब?

सीमित ओभरको क्रिकेटका (एकदिवसीय, टी-२०, टी-१०) खेल वर्षा, प्रकाश वा अन्य करणले दोस्रो इनिङ्समा रोकियो भने डिएलएस मेथड लागू हुन्छ।

फेरि सुरू गर्न सकिने अवस्थामा ओभर घटाएर नयाँ लक्ष्य दिइन्छ। फेरि सुरू गर्न नसकेको अवस्थामा नयाँ लक्ष्य निर्धारण गर्दै नतिजा तय गरिन्छ। नयाँ लक्ष्यमा अघि रहने टिम विजेता हुन्छ।

ओभर घटाएको वा खेल सुरू हुन नसकेको अवस्थामा डिएलएस क्याल्कुलेटरबाट लक्ष्य निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पछिल्लो समय डिएलएसका लागि सफ्टवेयर बनाएको छ।

‘सफ्टवेयरमा पहिलो इनिङ्सको स्कोर राख्ने र दोस्रो इनिङ्सको पछिल्लो स्कोर राख्दा नयाँ लक्ष्य देखाउछ,’ अम्पायर झाले भने, ‘बाँकी रहेको ओभर र बचेको विकेटलाई मुख्य आधार मानेर नयाँ लक्ष्य तय गरिन्छ। विकेट गयो भने तत्काल लक्ष्य परिवर्तन भइहाल्छ। हरेक ओभरमा फरक फरक लक्ष्य हुन्छ।’

बिहीबारको खेललाई डिएलएस क्याल्कुलेटरबाट हिसाब गरेर हेरौं।

युइईले पहिले ब्याटिङ गर्दै पूरा ५० ओभर खेलेर ३१० रन बनायो।

नेपालले लक्ष्य पछ्याएर ब्याटिङ गरिरहँदा ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो।

अब नेपालले खेल कसरी जित्यो त?

पहिले यो हिसाब हेरौं।

युएई: ३१० रन/५० ओभर = ६.२ रन प्रति ओभर

नेपाल: २६९/६, ४४ ओभर = ६.१ प्रति ओभर

सिधा हिसाबमा युएईले खेल जित्छ भन्ने लाग्न सक्छ। तर त्यसो हुँदैन। डिएलएस मेथडले हिसाब गरेर नयाँ लक्ष्य निर्धारण गर्छ र खेलको नतिजाको टुंगो लगाउँछ।

यस्तो अवस्थामा डिएलएस मेथडले के हेर्छ?

१.    कति विकेट बाँकी छ?

२.    कति ओभर बाँकी छ?

नेपालले ६ ओभर ब्याटिङ गर्न बाँकी छ र उसको ४ विकेट पनि बचेको छ। डिएलएस मेथडले बाँकी रहेको विकेट र ओभरको आधारमा नेपालको रन बनाउन सक्ने बाँकी क्षमताको हिसाब गर्छ।

यो हिसाबअनुसार नेपालको रन बनाउने क्षमता अझै १६.४ प्रतिशत बाँकी छ।

अब यहाँ सय प्रतिशतमा नेपालको रन बनाउन बाँकी क्षमता घटाइन्छ। अनि नेपालले बनाएको रनको आधारमा नयाँ लक्ष्य निर्धारण गरिन्छ: १००%-१६.४ % ‌= ८३.६%

अब युएईको ३१० रनको ८३.६% को हिसाब गरेर नयाँ लक्ष्य दिइन्छ। जसअनुसार नेपाललाई नयाँ लक्ष्य २६० रन हुन आउँछ।

नेपालको बाँकी रहेको ओभर र विकेटको हिसाब गर्दा डिएलएस मेथडका आधारमा नेपाललाई ४४ ओभरमा लक्ष्य २६० रनको भयो। त्यसैले त्यति बेलासम्म २६९ रन बनाइसकेको नेपाल डिएलएस मेथडमा अघि रहँदै ९ रनले विजयी भयो।

टी-२० र एकदिवसीय खेलमा यो नियम लागू गरेर खेलको नतिजा दिइन्छ। तर दोस्रो टिमले ब्याटिङ गर्दा न्यूनतम ओभर ब्याटिङ गरेको हुनुपर्छ। एकदिवसीय खेलमा २० ओभर र टी-२० मा ५ ओभर ब्याटिङ गरेपछि मात्र डिएलएस लागू हुन्छ।

कहिलेदेखि सुरू भयो डिएलएस?

डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) मौसम वा अन्य परिस्थितिले रोकिएको सीमित ओभरको क्रिकेट (एकदिवसीय, टी-२० वा टी-१०) खेलमा दोस्रो ब्याटिङ गर्ने टोलीका लागि लक्ष्य स्कोर गणना गर्न डिजाइन गरिएको गणितीय सूत्र हो।

यो सूत्र दुई बेलायती तथ्यांकविद फ्रान्क डकवर्थ र टोनी लुइसले बनाएका थिए। डिएल विधि सन् १९९० को मध्यमा विकास भएको थियो।

सुरूमा यसलाई डिएल मेथड मात्र भनिन्थ्यो। सन् १९९७ मा लागू गर्न सुरू गरिएको डिएल मेथडलाई सन् १९९९ मा आइसिसीले आधिकारिक रूपमा मान्यता दिएको थियो।

डकवर्थ र लुइस सेवानिवृत्ति भएपछि प्रोफेसर स्टिभन स्टर्नले यो विधिलाई थप परिष्कृत गरेका थिए। नोभेम्बर २०१४ मा यो परिमार्जन गरिएको थियो। त्यति बेलादेखि यसलाई डिएलएस मेथड भन्न थालियो।

वर्षा तथा अन्य कारण गर्दा खेल केही समय रोकिँदा ओभर घटाउनुपर्ने तथा खेल नभएको अवस्थामा नतिजा दिन आइसिसीले डिएलएस मेथड लागू गर्न थालेको हो। यो मेथड लागू भएपछि ओभर घटाएर खेल सञ्चालन गर्दा नयाँ लक्ष्य दिन र खेल नै नहुने अवस्थामा विजेता घोषणा गर्न सकिने भएकाले आइसिसीले २४ वर्षदेखि यो मेथड लागू गर्दै आएको छ।

एकदिवसीय क्रिकेटको सुरूमा लक्ष्य निर्धारण गर्न औसत रन रेट विधि प्रयोग गरिन्थ्यो। यो विधिमा रन मात्र हेरिन्थ्यो, विकेटको भने हिसाब हुँदैन थियो। पानी परेका बेला टस जित्ने कप्तानले यो अवस्थाको फाइदा उठाउन सामान्यतया दोस्रो ब्याटिङ रोज्न थाले। धेरै वर्षसम्म यो विधि अवैज्ञानिक भनेर चिनिन्थ्यो। सन् १९९० सम्म धेरै एकदिवसीय खेलमा यो विधि प्रयोग गरिन्थ्यो। पछि भने यो हटाइयो।

प्रतिकृय

प्रतिकृय