किन भत्काइँदैछ कोटेश्वर-कलंकी खण्डको सर्भिस लेन? (तस्बिरहरू)

यतिबेला चक्रपथको कोटेश्वर-कलंकी खण्डको कलंकीदेखि सानेपासम्मको सडकको बायाँ सर्भिस लेन भत्काइएको छ। केही वर्षअघि मात्रै बनेको यो सडकको सर्भिस लेन फेरि किन भत्काइँदैछ त?

सडक डिभिजन काठमाडौं प्रमुख नारायणप्रसाद निहुरेले सर्भिस लेनमा समस्या देखिन थालेपछि पुनर्निर्माणका लागि भत्काउनु परेको बताए।

‘चक्रपथको सबै खण्डको सर्भिस लेन भत्काउन लागिएको होइन,’ उनले भने, ‘नियमित मर्मत सम्भार कार्यक्रमअन्तर्गत जहाँ-जहाँ समस्या छ हामी त्यहाँ पुनर्निर्माण गरिरहेका छौं।’

उनका अनुसार अहिले सडक डिभिजन काठमाडौंले बल्खुदेखि कलंकी खण्डको बायाँ सर्भिस लेन भत्काइरहेको छ। करिब एक किलोमिटर खण्डमा निकै समस्या देखिएपछि भत्काउन थालिएको उनले बताए।

आयोजनाका इन्जिनियर सुजित धितालले सर्भिस लेन ठाउँ/ठाउँमा चर्किएपछि पुनर्निर्माण गर्नु परेको बताए।

‘हामीले थोरै चर्किएका ठाउँमा माथिबाट टाल्ने काम गर्यौं। भित्रैदेखि चर्किएका ठाउँमा पूरै भत्काएर बनाउन लागिएको हो,’ उनले भने।

सडकको विभिन्न क्षेत्रमा त्यहाँको माटो तथा भौगोलिक अवस्थाका कारण सर्भिस लेनमा ठाउँ-ठाउँमा यस्ता समस्या देखिएको पनि इन्जिनियर धितालले बताए।

भित्रैदेखि चर्किएका ठाउँमा ओभरले ‘टालटुल’ मात्रै गर्दा पुनः सोही समस्या दोहोरिने हुँदा पूरै भत्काएर पुनर्निर्माण गरिएको उनको भनाइ छ।

काठमाडौंको २७ किलोमिटर लम्बाइ रहेको रिङरोडको पहिलो खण्ड चीन सरकारले विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

चक्रपथको यो खण्ड चीन सरकारले निर्माण सकेर २०७५ माघमा सरकारलाई हस्तान्तरण गरेको थियो।

चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलोमिटर ४ सय मिटर सडक विस्तार गरेको थियो। करिब ५ अर्ब अनुदान सहायतामा चीनले सो सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले सडक विस्तार गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेकी थिइन्।

तस्बिरहरू:

प्रतिकृय

प्रतिकृय