सीता ज्ञवालीको मृत्युपछि १७ जना पक्राउ परे, गाउँ भयो सुनसान

रूपन्देहीको सालझण्डी बजारबाट उत्तरतर्फ दुई किलोमिटर पर गएपछि पुगिन्छ सैनामैना नगरपालिका–१० को फूलबारी टोल।

पूर्व–पश्चिम राजमार्ग छोडेपछि पनि फराकिलो र चिल्लो कालोपत्रे सडकले फूलबारी टोल भौतिक विकासमा निकै अगाडि रहेको देखिन्छ।

तीन साताअघि १४ वर्षीया एक बालिकाको झारफुकका नाममा मृत्यु भएपछि भने फूलबारी टोल चेतनाको हिसाबले पछाडि रहेको भन्दै टिप्पणी हुने गरेको छ।

ताराप्रसाद ज्ञवाली र लीला ज्ञवालीका तीन छोरी र एक छोरा थिए। दुई छोरीको बिहे भइसकेकोले घरमा ज्ञवाली दम्पती र दुई छोराछोरी थिए।

सालझण्डी माविमा कक्षा नौ मा पढ्दै गरेकी कान्छी छोरी सीता फागुन दोस्रो सातादेखि बिरामी थिइन्।

कान दुख्ने र ज्वरो आउने समस्या थियो। उनले फागुन १९ गते सालझण्डीमै रहेको ‘मेडिकल हल’ मा गएर जँचाइन्, औषधि लिइन् तर राम्रो हुने लक्षण देखिएन।

आमा लीलाले भोलिपल्ट, २० गते, दिउँसो पनि सीतालाई मेडिकलमा लगिन्। रगत र पिसाब जाँच भयो। सलाइन चढाइयो। बेलुकातिर आमाछोरी घर फर्के।

फेरि पनि सीतालाई आराम हुने छाँट आएन। एक दिनअघि  कानबाट सुरू भएको दुखाइ गर्धन पछाडिसम्म पुगेको थियो। त्यसअघि कानमा पसेको अटेर्ना पनि निकालिएको थियो।

भैरहवामा एउटा सोयाबिन उद्योगमा काम गर्ने ताराप्रसाद छोरी बिरामी भएपछि साँझ घर आएका थिए। दिनभरि मेडिकलमा सलाइन समेत चढाएर उपचार गरे पनि निको नभएपछि ताराप्रसाद र लीलाले सीतालाई बेमटेनी टोलमा रहेकी माता (सोनिया) कहाँ लगे।।

फूलबारी टोल र बेमटेनी टोल करिब डेढ किलोमिटरको दूरीमा छन्। ज्ञवाली दम्पती, छोरी सीता र एक जना छिमेकी अटोमा बसे।

सीताका ११ वर्षीय भाइ बसन्त, सीताका मामा ईश्वरी पोखरेल पनि अटोमा बसे।

सैनामैना–१० बेमटेनीकी २२ वर्षीया सोनिया रेश्मी आफूलाई दैवीशक्ति (माता) चढेको बताउँथिन्। रामपुर क्याम्पसमा स्नातक तह अध्ययरत सोनिया माता चढेको भनेर झारफुक र पूजापाठमा लागेकी थिइन्।

उनले खाना नखाने, ज्वरो आउने इत्यादि समस्या भएका बालबालिकाको उपचार गरेर निको बनाउँछिन् भन्ने हल्ला थियो। झारफुक गराउन जानेहरूको संख्या पनि बढ्दै थियो।

यही विश्वासमा परिवारजनले सीतालाई माता भनिने सोनियाकोमा पुर्‍याएका थिए। सुरूमा सोनियाले शिथिल अवस्थामा रहेकी सीताको शरीरमा पानी छ्यापिन्। यसपछि पहेँलो अक्षेता छर्किन्।

अनि बोक्सी नचाउने भन्दै सीतालाई कुट्न थालिन्। यातना बढ्दै गयो।

सोनियाले सीताको कपाल लुछ्ने, नाक र मुखबाट पानी खन्याउने, थप्पड हान्ने, खरानी खुवाउने र घाँटी बटार्ने गतिविधि गरिन्।
यस्तो दृश्य सामाजिक सञ्जालमार्फत् बाहिरिएको भिडिओमा समेत देखिन्छ।

बिरामी छोरीलाई यसरी यातना दिएपछि आमा लीलाले रोक्न खोजिन्। माता भनिने सोनियाले त्यस्तो यातना बोक्सीलाई हो, बिरामीलाई दुख्दैन भनेर लीलालाई रोकिन्।

प्रहरीले नियन्त्रणमा लिनुअघि लीलाले भनेकी थिइन्, ‘माता र उनका बुवाआमाले अहिले हानेको छोरीलाई दुख्दैन, बोक्सीलाई दुख्छ भनेपछि मैले पनि होला भन्ने ठानेँ।’

यसरी आमाबाबु, भाइ, मामा र छिमेकीका सामुन्ने सीताले चरम यातना पाइन्। बिस्तारै सीता अर्धचेत भइन्।

सोनियाले नै बोक्सी नचाएको भिडिओ खिच्नू भनेपछि सीताका मामा ईश्वरीले खिचेका थिए। झन्डै दुई घण्टा एकनासको यातनाले सीताको मृत्यु भयो।

बालिकाको मृत्यु भएपछि सोनियाले आफूले उपचारकै लागि कुटपिट गर्नु परेको भन्दै घटना गुपचुप राख्न आग्रह गरेकी थिइन्।

झारफुकको लागि लगिएकी छोरीको मृत्यु भएपछि परिवार र आफन्तले राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर अन्त्येष्टि गरेका थिए। अत्येष्टिपछि झारफुकको नाममा दिएको चरम यातनाको भिडिओ सामाजिक सञ्जालमार्फत् बाहिरिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानको क्रममा बालिकाको मृत्युपछि अत्येष्टि समेत गरिसकेको पाएपछि प्रहरीले झारफुक र अन्त्येष्टिमा सहभागीहरूलाई पक्राउ गर्न थाल्यो।

इलाका प्रहरी कार्यालय सालझण्डीले अहिलेसम्म माता भनिने सोनियासहित घटनास्थलमा प्रत्यक्षदर्शी १० जना र अन्येष्टिमा सात जना गरी १७ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जनाएको छ।

मामा ईश्वरी पोखरेलले भान्जीको मृत्यु भएको बताएपछि शान्ति टोल, सालघारीकी ५० वर्षीया कमला पोखरेल फूलबारीस्थित मृतकको घर पुगेकी थिइन्। रातिको समयमा एक्लै भएपछि उनी छिमेकी विष्णु पोखरेललाई आग्रह गरेर उनको मोटरसाइकलमा गएकी थिइन्।

बालिकाको शव घरमा ल्याइपुर्‍याइएको थियो। विष्णु र कमला घटनाबारे जानकारी लिएर राति नै घर फर्के। अहिले उनीहरू दुबै जना प्रहरी हिरासतमा छन्।

‘घटनामा प्रत्यक्ष संलग्न माता भनिने सोनिया, प्रत्यक्षदर्शी बनेका र दाहसंस्कारमा सहभागी भएकाहरूमाथि अलग-अलग तरिकाले अनुसन्धान भइरहेको छ,’ इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक ईश्वर थापाले भने, ‘यस्तो घटनालाई भवितव्य भन्न मिल्दैन।’

प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएपछि गाउँ नै सुनसान बनेको छ।

सीताको मृत्यु भएको २५ दिन बित्यो तर घरमा आफन्त नातागोता कोही पनि आएका छैनन्। दाहसंस्कारमा सहभागी नजिकका आफन्त प्रहरी हिरासतमा छन्। दाहसंस्कारमा सहभागी नभएकाहरू घरबाहिरै छन्।

बुवाआमा दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि विवाहिता छोरी देवी भण्डारी घर रेखदेखको लागि आएकी छन्। उनका साथमा भाइ वसन्त छन्।

सालझण्डी माविमा कक्षा ७ मा पढ्ने वसन्त आफ्नै सामुन्ने भएको घटनाको दिनदेखि उदास छन्।

गत साता बिहीबार घरको आँगनमा टोलाइरहेका वसन्तले भने, ‘फाइनल परीक्षा चलिरहेको छ। दिदीसँगै स्कुल जान्थेँ। दिदीले छोडेर गएपछि एक्लै छु।’

फूलबारी टोलमा फराकिलो कालोपत्रे सडकको किनारमै छ ज्ञवाली दम्पतीको घर। इँटाको गाह्रो र जस्ताको छानो छ। आँगनमा चार वटा खोरमा केही बाख्रा र कुखुरा थिए। गोठमा भैँसीका पाडापाडी बाँधिएका थिए।

वसन्त दिदीसँगै स्कुल जान्थे। घरमा दिदीले सिकाउँथिन्। घटनापछि वसन्तको मन पढाइमा छैन। भन्छन्, ‘पढ्न बस्यो कि दिदीको अनुहार आँखामा आइहाल्छ, एक्लै बस्न पनि डर लाग्छ।’

भैंसीका पाडापाडी, बाख्रा र कुखुराको रेखदेख गर्ने जिम्मेवारी पनि वसन्तलाई नै आइलागेको छ। दिदी त छिन् तर उनका साना दुई छोरी छन्। दिदीले तिनको पनि स्याहारसुसार गर्नुपर्छ।

वसन्तका अनुसार पाडापाडी तीन वटा, बाख्रा सात वटा र २५ वटा कुखुरा छन्।

घरको काम गर्नु परेकाले उनलाई खेल्ने फुर्सद छैन तर गाउँका साथीहरूले पनि खेल्न बोलाउन छोडेका छन्।

भन्छन्, ‘खेल्न जान भ्याउँदिनँ। स्कुलबाट आएपछि पनि कुखुरालाई चारो दिने, बाख्रा चराउने र खोरमा थुन्ने काम गर्दा ठिक्क हुन्छ। अहिले साथीहरूले पनि बोलाउन छाडेका छन्।’

सैनामैना नगरपालिका–१० का वडाध्यक्ष कृष्णप्रसाद घिमिरेले आफ्नो वडामा अकल्पनीय घटना भएको बताए।

‘पत्याउनै नसकिने घटना भयो। यसलाई अशिक्षाको कारण भन्ने हो भने माता भनिएकी बहिनी स्नातक अध्ययन गर्ने हुन्। जे भयो, साह्रै दुःखद् भयो,’ उनले भने।

प्रतिकृय

प्रतिकृय